
९ माघ, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेको मलयालम चलचित्र ‘थिरिमाली’मा दुई नेपाली अभिनेत्रीको तस्वीर दुरुपयोग गरिएको पाइएको छ । शनिबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा नेपाल घुम्न आएका तीन पात्रहरु डान्स क्लबमा रमाइरहेको देख्न सकिन्छ । जहाँ उनीहरु डान्स क्लबमा रहेका युवतीहरुसँग समय बिताइरहेका छन् ।
भिडियोको अन्त्यमा चलचित्रका मुख्य दुई पात्रले क्लबका एक व्यक्तिसँग केही युवतीहरुको तस्वीर हेरेको देख्न सकिन्छ । त्यसमा नेपाली चलचित्रका अभिनेत्रीहरु अदिती बुढाथोकी र जसिता गुरुङको समेत तस्वीर छ । तस्वीरमा अन्य केही नेपाली मोडलहरु समेत देख्न सकिन्छ । मलयालम चलचित्रको निर्माणपक्षले नेपाली अभिनेत्रीका तस्वीर दुरुपयोग गर्दा यसले नकारात्मक सन्देश दिएको छ ।
यो विषयमा चलचित्रको टिम विरुद्ध कानूनी उपचार खोज्ने तयारीमा अदिती लागेकी छन् । किनकि, उनीहरुको तस्वीर प्रयोग गर्नका लागि यो चलचित्रको टिमले अनुमति लिएको छैन ।
‘थिरिमाली’ चलचित्रमा नेपाली निर्माता सरोज न्यौपानेकोे पनि लगानी छ । सरोजले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘उनीहरुले थाहा नपाएर गुगलबाट तस्वीर प्रयोग गरेको रहेछ । अहिले मेरो यो विषयमा कुरा भइसकेको छ । उनीहरुले युट्युबको भिडियोमा तस्वीर ब्लर गर्दैछन् । चलचित्रबाट पनि सो दृश्य नै हटाइएको छ ।’
प्रतिक्रिया 4