+
+

रेसुङ्गा विमानस्थलमा वैशाखदेखि नियमित उडान गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १४:५३

२० माघ, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी काम थालिएको छ ।

अहिले विमानस्थलमा टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुने चरणमा छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्ग कालोपत्रे गर्ने काम अबको एक सातामा सकिने आयोजना प्रमुख सञ्जीव खड्काले बताए ।

विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम सकिएपछि कार्यालय व्यवस्थापनको काम बाँकी रहने आयोजना प्रमुख खड्काको भनाइ छ ।

विमानस्थलबाट टुइनेटर विमान उडान हुने भएकाले नियमित उडान हुने रेसुङ्गा नगरपालिका वडानम्बर-१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । नियमित उडानका लागि विभिन्न एअरलाइन्स कम्पनीसँग छलफल भइरहेको उनले बताए ।

उनले गत वर्षको मंसिरदेखि नै एअरलाइन्स कम्पनीले उडान गर्नका लागि इच्छुक देखिएको बताए । अब यहाँको सम्पूर्ण काम पूरा भएपछि नियमित उडान गर्नका लागि छलफल अगाडि बढाइने उनको भनाइ छ ।

विमानस्थलसम्म आउने मोटरबाटो स्तरोन्नती, कालोपत्रेलगायतका कामहरूमा पनि ध्यान दिइएको अर्यालले बताए ।

अब प्राबिधिक समस्या नआए वैशाखबाट विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ । रेसुङ्गा विमानस्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो ।

कालोपत्रे गर्ने काम बि एण्ड डी निर्माण काम्पनीले काम गरिरहेको छ । टर्मिनल भवनको चार करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ ।

विमानस्थलको हालसम्म २४ करोड बढी रकम खर्च भएको रेसुङ्गा निमानस्थलका आयोजना प्रमुख खड्काले बताए ।

विमानस्थलमा ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलको क्षेत्रफल जम्मा १७८ रोपनी रहेको छ ।

जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

– अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?