+
+

जीवनको उतारचढावले सडकमा आइपुगेकाहरु

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ फागुन २५ गते १३:०२
फाइल तस्वीर

२५ फागुन, काठमाडौं । दाङका रामकुमार (नाम परिवर्तन)ले जीवनमा कहिल्यै अभाव भोग्नु परेन । दुःखको छायाँसम्म देखिएन । तर जीवन सधैं एकनास कहाँ हुँदो रहेछ र ? एकदिन उनको सुन्दर जीवनमा अनौठो मोड आयो । मुनाजस्ता छोराछोरीलाई छाडेर उनकी श्रीमती अर्कैसँग हिंडिन् ।

श्रीमतीले छाडेर हिंडेपछि रामकुमार आफ्नै जीवनसँग विरक्तिए । जीवनभर साथ दिने वाचा गरेकी जीवनसाथीले बीचबाटोमै अचानक छाडेपछि उनी मानसिक रुपमा विक्षिप्त हुन पुगे र भौतारिंदै सडकमा आइपुगे ।

उनी तुलसीपुरको हुनेखाने परिवारकै हुन् । घरमा आमा थिइन्, भाइबुहारी थिए । साथीभाइ, आफन्त र हुर्कंदै गरेका सन्तान थिए । तर मानिस जब समस्यामा पर्छ, आफ्ना र आफन्त पनि पराइ हुँदारहेछन् भनिन्छ । मानसिक रुपमा विक्षिप्त बनेर सडकमा आइपुगेपछि घरपरिवार र आफन्त पनि टाढिए । उनी हेला र हाँसोको पात्र बने ।

त्यसपछि बजारका सडकपेटी नै उनको घर बन्यो । सडकमा पुगेपछि कैयौं वर्ष उनी सडकमा सुत्थिन् । कसैले दयामाया गरे खान पाउँथिन्, नभए भोकभोकै सुत्नुपथ्र्यो । सडकपेटीमै उनले थुप्रै झरी र हिउँद बिताइन् । त्यतिञ्जेल उनलाई खोज्दै पनि कोही आएन । ‘सडकमा पुगेपछि घरपरिवार, आफन्त कोही हुँदा रहेनछन्,’ उनले भनिन्, ‘बरु छिछि र दूरदूर भइने रहेछ ।’

भौतारिंदै उनी घोराही बजारका सडकमा केही वर्ष हिंडे । सडकको नाला छेउमा सुत्थे । जे देख्यो, त्यही खान्थे । शरीरमा पूरा कपडा थिएन । कसैले दया मानेर खान दिए खान्थे, नत्र  कैयौं दिन भोकै सुत्थे ।

गत भदौको एक साँझ उनलाई घोराहीस्थित मानव कल्याण समाज (सेवा घर)ले घोराही बजारको सडकबाट उद्धार गर्‍यो । उद्धार गर्दा उनको अवस्था एकदमै दयनीय थियो । शरीरमा पूरा कपडा थिएन, कैयौं दिनका भोका थिए उनी ।

आश्रममा ल्याएपछि उनले राम्रै उपचार र माया पाए । केही महिनापछि उनको मानसिक स्वास्थ्यमा सुधार आयो । उनी सामान्य अवस्थामा फर्किन सके । ‘केही घटनाले म सडकमा आइपुगें, जीवन के भयो सोच्नै सकिनँ,’ उनी सुनाउँछन् ।

आश्रममा उपचार पाएपछि उनी पूर्णरुपमा डिप्रेसनबाट मुक्त भए र परिवारको सम्पर्कमा आए । केही महिना आश्रममै सेवा गरेर उनी घर फर्किए । अहिले उनी तुलसीपुरमा आमा र आफ्ना सन्तानसँग बाँकी जीवन बिताइरहेका छन् । उनी भन्छन्, ‘मानिस त्यसै आउँदैन, त्यसका अनेक कारण हुन सक्छन् । तर समयमै उपचार र माया पाए निको भएर नयाँ जीवन सुरु गर्न सक्छन् ।’

प्युठानकी दिलमायालाई (नाम परिवर्तन) श्रीमानले झुक्याएर विवाह गरे । आफू अविवाहित भएको बताउँदै केही वर्ष उनलाई भारतमा राखे । उनीबाट एउटा छोरा पनि जन्मिए । त्यसपछि उनका श्रीमानले उनलाई घर ल्याए ।

श्रीमानको घर पुग्दा उनका पहिले नै दुईवटी श्रीमती रहेछन् । त्यो कुरा थाहा पाएपछि उनी छागाँबाट खसेझैं भइन् । आफूलाई झुक्याएर विवाह गरेको भन्ने कुरा बुझिन् । घरमा भएका दुई श्रीमतीको पनि विचल्ली रहेछ । अञ्जानमा आफू सौता पर्न गएकीले आफ्नै कर्मलाई धिक्कारिन् । र, श्रीमान्सँग छुट्टिएर अलग्गै बस्न थालिन् । हुर्कंदै गरेको छोरा माइतमै छाडेर उनी घोराहीमा काम गर्न आइपुगिन् ।

घोराहीको एउटा होटलमा उनी भाँडा माझ्ने काम गर्थिन् । काम गरेपछि खान लगाउन समस्या भएन । तर मनभित्रको घाउ भने बिर्सन सकिनन् । उनी डिप्रेसनको शिकार भइन् । मदिराको अम्मली हुन पुगिन् । रातभर सडकमै भौतारिएर हिंड्न थालिन् । कहिले कहाँ पल्टिन्थिन्, कहिले कहाँ ।

एकरात सडकमा विक्षिप्त अवस्थामा उनलाई भेटेपछि मानव कल्याण समाजले उद्धार गरेर आश्रममा ल्यायो । त्यहाँ उनलाई परामर्श, औषधि उपचार दिए । महिना दिनपछि उनको स्वास्थ्यमा क्रमशः सुधार आउँदै गयो र उनी पनि पहिलेकै सामान्य अवस्थामा फर्किइन् ।

तीन महिनायता उनी मावन सेवा आश्रममा आफूजस्तै विभिन्न कारणले सडकमा आइपुगेका मानिसको सेवा गर्दै बसेकी छन् । उनी भन्छिन्, ‘जीवनमा नसोचेको घटनाले सडकमा आइपुगे । कसलाई कतिबेला हुनसक्छ भन्न सकिंदैन । तर माया र उपचार पाएमा आफ्नो पुरानै जीवनमा फर्कन सक्छन् ।’

रामकुमार र दिलमाया उदाहरण हुन् । पारिवारिक बिखण्डन, मानसिक समस्याजस्ता अनेक कारणले सडकमा आइपुगेका धेरैले उपचारपछि नयाँ जीवन पाएका छन् । यसमा सामाजिक संघसंस्थाले खेलेको भूमिका महत्वपूर्ण छ ।

दाङकै ४२ वर्षीया दिलमाया चौधरी (नाम परिवर्तन) केही वर्षअघिसम्म सडकमा निवस्त्र भएर चिच्याउँदै हिंड्थिन् । उनी मानसिक रुपमा पूर्ण विक्षिप्त बनेकी थिइन् । गत वर्ष सडकबाट उद्धार गर्दा उनको शरीर आधा ढाक्ने मात्रै कपडा थिए ।

आश्रममा ल्याउँदा उनको स्वभाव अरु भन्दा फरक थियो । रातभर रुने र चिच्याउने गर्थिन् । तीन महिना लगातार उपचार गरेपछि उनको व्यवहारमा क्रमशः सुधार हुँदै गयो । त्यतिञ्जेल उनको परिचय खुलेको थिएन । न त उनी आफ्नो अवस्था बताउन सक्ने अवस्थामै थिइन् ।

आश्रममा पाएको माया र उपचारपछि उनको स्मरणशक्ति फर्कंदै गयो । आफ्नो जीवनमा घटेका घटनाबारे बताउन सक्ने भइन् । आश्रममा एकदिन उनले रुँदै आफ्नो कथाव्यथा पोखिन् ।

उनको प्युठानमा अन्तरजातीय विवाह भयो । विवाह भएको धेरै वर्षसम्म घरगृहस्थी राम्रै चल्यो । छोराछोरी हुर्किए, बढे । तर श्रीमान रक्सीको अम्मली हुन थालेपछि व्यवहारमा एकाएक परिवर्तन आउन थाल्यो । हरेकदिन उनका श्रीमान् उनलाई गालीगलौज र कुटपिट गर्न थाले ।

श्रीमानको यातना त सहेकै थिइन् । हुर्कंदै गरेका छोराले समेत उनीमाथि कुटपिट गर्न थाले । श्रीमानको यातना भन्दा गहिरो थियो, सन्तानको तिरस्कार । त्यही कारण उनी डिप्रेसनको शिकार भइन् र भौतारिंदै सडकमा आइपुगिन् ।

त्यसपछि बजारका सडकपेटी नै उनको घर बन्यो । सडकमा पुगेपछि कैयौं वर्ष उनी सडकमा सुत्थिन् । कसैले दयामाया गरे खान पाउँथिन्, नभए भोकभोकै सुत्नुपथ्र्यो । सडकपेटीमै उनले थुप्रै झरी र हिउँद बिताइन् ।

त्यतिञ्जेल उनलाई खोज्दै पनि कोही आएन । ‘सडकमा पुगेपछि घरपरिवार, आफन्त कोही हुँदा रहेनछन्,’ उनले भनिन्, ‘बरु छिछि र दूरदूर भइने रहेछ ।’

अहिले उनी छोरासँग बस्दै आएकी छन् ।

****

२०७५ सालअघि दाङको घोराही उपमहानगरपालिका बजार क्षेत्रमा बेवारिसे जीवन बाँचिरहेका सडक मानवको संख्या धेरै थियो, जो बजारका ठाउँठाउँमा भौतारिंदै हिंडिरहेका भेटिन्थे । २०७६ फागुन २६ गते घोराही उपमहानगरपालिका सडक मानवमुक्त भइसकेपछि भने अहिले सडकमा मानव देखिंदैनन् ।

दाङको घोराहीबाट मात्रै अहिलेसम्म १५० भन्दा बढी सडक मानव उद्धार भएका छन् । तीमध्ये उपचार र परामर्शपछि ११० जना पारिवारिक पुनर्मिलन गरी घर फर्किएका छन् । नीलसागरले घोराही क्षेत्रबाट उद्धार गरेका १२ जनामध्ये २ जनाको पुनर्मिलन र बाँकी १० जना भने आश्रममै रहेको जनाएको छ ।

त्यसैगरी मानव कल्याण समाज (सेवाघर)ले १५० जनालाई उद्धार गरेको छ भने ९० जनालाई पारिवारिक पुनर्मिलन गराइएको संस्थाकी अध्यक्ष सुमी मावनले जानकारी दिइन् । उनका अनुसार अधिकांश उपचारपछि घरपरिवारमै फर्किएका छन् । पारिवारिक पुनर्मिलन हुन नसकेका भने आश्रममै रहेको उनले बताइन् । आश्रममा अहिले ३५ जना छन् ।

घोराहीलाई सडक मानवमुक्त घोषणा गरिएसँगै सडकमा बेवारिसे अवस्थाका मानिसहरु देखिन छाडेका छन् । कोही सडकमा आइहाले तत्कालै संघसंस्थाहरुले उद्धार गर्ने गरेका छन् । नीलसागर सेवा आश्रम, मानव कल्याण समाज र प्रेरणाका लागि अभियान नेपाल संस्था अब विगतमा जस्तै सडकमा बेवारिसे कोही पनि बाँच्नुपर्ने अवस्था नरहेको बताउँछन् । मानव समाज सेवा आश्रमकी अध्यक्ष सुमी भन्छिन्, ‘सडकमा कोही आइहाले उद्धारमा खटिहाल्छौं, उद्धार गर्दा दिनरात भन्दैनौं ।’

उनीहरुका अनुसार कसैगरी सडकमा त्यस्ता व्यक्ति आइहाले तत्काल उद्धार भइहाल्छन् । यसका लागि संघसंस्थाले आवासहितको पुनर्स्थापना केन्द्र समेत स्थापना समेत गरेका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?