+
+

अबोध प्राणीको तड्पाई-तड्पाई हत्या, के हुन्छ सजाय ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते १६:१९

एउटा कुकुरको बच्चालाई तीन-चार जना केटाले घेरा हालेका छन् । उनीहरूमध्ये एउटाले भन्छ- ‘नाकमा हान्नुपर्छ ।’

अर्कोले चिर्पट उठाएर कुकुरको नाकैमा हिर्काउँछ । असह्य पीडाले कुकुर छट्पटाउँछ । उनीहरूले कुकुरलाई मायाले सुमसुम्याए जस्तो गर्छन् । फेरि चिर्पटले पटक–पटक हिर्काउँछन् । त्यसपछि भर्खरै खनेको खाल्डोमा लडाइदिन्छन् । कुकुर छट्पटाउँछ । उनीहरूले कुकुरलार्ई जिउँदै पुरिदिन्छन् ।

मन विथोलिने यो भिडियो शुक्रवार साँझ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो । सुगम मोराहाङ लिम्बू नामक फेसबुक एकाउन्टमा सो भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । भिडियो पोस्ट गर्ने फेसबुक प्रयोगकर्ता इलाम, देउमाई नगरपालिकाको उल्लेख छ ।

उनीहरूले कुकुरलाई त्यति क्रूरतापूर्वक किन हत्या गरे ? कारण खुलाएका छैनन् । उनीहरूले हँसिमजाक गर्दै कुकुरलाई तड्पाउँदै जिउँदै खाल्डोमा पुरेका छन् । भिडियो बनाउनकै लागि यस्तो कृत्य गरेको हुनसक्ने पशु हितका लागि आवाज उठाइरहेका प्रभात रिमाल बताउँछन् । उनी भन्छन्, ‘त्यो कुकुर आक्रामक जस्तो देखिंदैन । टाउकोमा सुमसुम्याउँदा केही गरेको छैन । सामान्य कुकुरलाई उनीहरूले भिडियो बनाउनकै लागि त्यतिका पीडा दिएर मारेको जस्तो देखिन्छ ।’

एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह भन्छिन्, ‘त्यो भिडियो मैले हेर्नै सकिनँ, बीभत्स र विचलित बनाउने खालको छ । भयानक आपराधिक मानसिकता भएकाले मात्र यसरी कसैको हत्या गर्न सक्छ ।’

हत्यारालाई जसरी पनि पत्ता लगाएर कानुनी कारबाही गर्नुपर्ने उनी बताउँछिन् । ‘हामीले उजुरीको तयारी गरिरहेका छौं’ उनी भन्छिन्, ‘कानुन बमोजिम तुरुन्तै कारबाही गराउनेछौैं ।’

के हुन्छ सजाय ?

नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । कानुन विज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिलको कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ ।

कुकुरको हत्या मात्र होइन, उनीहरूलाई कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । ‘उल्लिखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ’, अधिवक्ता श्रेष्ठ भन्छन् ।

‘अपराधको कुनै वर्ग हुँदैन, हत्यारा भनेको हत्यारा नै हो’

प्रमदा शाह भन्छिन्, ‘कुकुर मारेको होस् वा मान्छे, दुवै हत्या नै हो । दुवैमा उस्तै नियत र मनोविज्ञानले काम गरेको हुन्छ ।’

अपराधको कुनै वर्ग एवं तह नहुने उनको तर्क छ । उनी भन्छिन्, ‘पशु मार्नु सामान्य र मान्छे मार्नु जघन्य भन्ने हुँदैन । यदि त्यसो हो भने हुनेखाने र निमुखा बीच पनि यस्तै भेद हुनसक्छ । बोल्न नसक्ने भन्दैमा मार्न, हिंसा गर्न पाइने हो भने यहाँ त बोल्न सक्नेको लागि मात्र कानुन हुनेभयो ।’

प्रचलित कानुनले पशु हत्यारालाई तुलनात्मक कम दण्ड सजाय तोक्नु सही नभएको उनको बुझाइ छ । ‘धर्ती सबैको हो, बाँच्न सबैले पाउनुपर्छ’ उनी भन्छिन्, ‘तर, हामीकहाँ पशुप्राणीमाथिको कानुनी व्यवस्था पनि पक्षपाती छ ।’

पशुको क्रूरतार्पूक हत्या सामान्य हो ?

कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु दण्डनीय अपराध मानिन्छ । ‘पशु बोल्न सक्दैन वा उसको लागि बोलिदिने कोही छैन भनी जथाभावी हत्याहिंसा गर्ने छुट कसैलाई छैन’ पशु अधिकारका लागि आवाज उठाइरहेकी स्नेहा श्रेष्ठ भन्छिन्, ‘उनीहरूले पनि सहजतापूर्वक बाँच्न पाउने हक छ ।’

पशुप्राणीमाथि हत्या–हिंसा गर्नेलाई कानुन भए पनि कडाइका साथ कारबाही नगरिंदा यस्तो कृत्य बढिरहेको उनको भनाइ छ । ‘कानुन भए पनि कतिपय अवस्थामा प्रहरीले उजुरी नलिएको, उजुरी लिए पनि कारबाही नगरेको, नेता वा अरूको पहुँचमा अपराधीलाई छुट दिएको घटना प्रशस्तै छन्’ उनी भन्छिन्, ‘त्यही कारण पशुलाई हत्या गर्नु सामान्य हो भन्ने मनोविज्ञानले समाजलाई गाँजेको देखिन्छ ।’

त्यसैगरी पशु हत्या अपराध हो भन्ने कुराको सचेतना पनि सबैतिर नभएको उनको बुझाइ छ । ‘प्रहरीलाई समेत यो अपराध हो भन्ने सचेतना नहँुँदा हत्या हिंसाको शृंखला नरोकिएको हो’, उनी भन्छिन् ।

‘पशुप्रति सम्मान र माया गर्न सिकाएनौं’

–प्रभात रिमाल

अबोध पशुप्राणीको हिंसा गर्नु, यातना दिनु, क्रूरतापूर्वक व्यवहार गर्नु गैरकानुनी काम हो भन्ने कुरा त थाहा छैन । यसबारे व्यापक सचेतना पनि फैलाइएको छैन । यद्यपि कानुनभन्दा ठूलो कुरा भावनात्मक समझदारी र संस्कार नै हो । यस्तो कुरा घरपरिवार वा समाजबाट सिक्नु, बुझ्नुपर्ने हो ।

घरमा नै हामीले बच्चालाई पशुप्राणीप्रति कस्तो व्यवहार गर्ने भन्ने ज्ञान दिन जरूरी छ । उनीहरूलाई मार्नु दण्डनीय अपराध मात्र होइन अमानवीय हर्कत पनि हो भनेर बुझाउन सक्नुपर्छ । धर्तीमा बाँचेको एउटा प्राणीलाई अर्को प्राणीले थिचोमिचो गर्नुहुँदैन भन्ने बोध गराउनुपर्छ । कानुनसँग डराएर होइन, आफ्नै विवेकले पशुप्राणीलाई सम्मान र माया गर्न सिकाउनुपर्छ । तर, हाम्रो पारिवारिक संस्कार यस्तो भइदिएन ।

हामी हरेक कुरालाई वर्गीय धरातल अनुसार फरक सोच्न र व्यवहार गर्न उद्यत भयौं । पशुलाई जथाभावी हत्या गर्दा हुन्छ, हिंसा गर्दा हुन्छ भन्ने कुरुप मनोविज्ञानले हामीलाई गाँज्यो । आफूभन्दा कमजोर, जो बोल्न सक्दैन, विद्रोह गर्न सक्दैन, उनीहरूमाथि जतिसुकै भेदभाव गर्दा पनि हुन्छ भन्ने संस्कारबाट हामी हुर्कियौं । यही मनोसामाजिक प्रवृत्तिका कारण धनीमानी, हुनेखाने, पहुँचवालाहरूका लागि छुट्टै कानुन र निमुखाका लागि छुट्टै कानुन भए जस्तो अवस्था छ यहाँ ।

निमुखा, गरिबहरूमाथि किन भेदभाव छ ? किनभने बोल्न सक्नेहरूले जे गर्दा प

िन हुन्छ भन्ने एक किसिमको मनोविज्ञान हामीकहाँ व्याप्त छ । यही मनोविज्ञानको कारण हामी आफूभन्दा कमजोर, बोल्न नसक्नेमाथि हिंसा गरिरहेका हुन्छौं ।

जब हामी सबैलाई सराबरी ठान्दैनौं, सबैलाई उत्तिकै श्रद्धा र सम्मान गर्नुपर्छ भन्ने बुझ्दैनौं हामी पनि ठूलाठालुहरूबाट हेपिएर बसिरहनुपर्ने हुन्छ ।

अहिले जसरी मान्छेहरूले पशुप्राणीमाथि निर्दयी व्यवहार गरिरहेका छन्, आफूभन्दा कमजोरलाई हेप्नुपर्छ भन्ने मनोविज्ञान नै त्यसको कारक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?