
२५ फागुन, बुटवल। रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको खुला चौथो सैनामैना मेयरकप नकाउट फुटबल प्रतियोगिता हुने भएको छ ।
नगर खेलकुद विकास समितिको सहकार्यमा स्थानीय कन्दरा युवा क्लबले सैनामैना-१० पानबारी खेल मैदानमा फागुन २८ गतेदेखि प्रतियोगिता गर्न लागेको हो ।
चैत १० गते सम्म चल्ने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । प्रतियोगितामा सहभागी हुने टिमले विदेशी खेलाडी बढीमा तीनजना मात्र राख्न पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले १ लाख २५ हजार ५ सय ५५ तथा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई जनही २१ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष तुल्सी पौडेले बताए ।
सैनामैनामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकको दावी छ । यसैगरी प्लेयर अफ टुर्नामेन्टले माउण्टेन साइकल र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने अध्यक्ष पौडेलले बताए ।
प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिकाले ७ लाख रुपैयां वजेट दिएको नगर उपप्रमुख बीना राना मगरले बताइन् ।
प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयां बढी खर्च लाग्ने सैनामैना खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष अमर लम्सालले बताए ।
प्रतिक्रिया 4