+
+

प्रारम्भिक मत परिणाम : कति सफल भयो गठबन्धन ?

कम्युनिस्ट–कम्युनिस्ट नमिल्दा अगाडि बढ्यो कांग्रेस

‘कतिपय अवस्थामा आफ्नै पार्टीभित्र त क्रस भइहाल्छ, अरु पार्टीको मत नसर्न पनि सक्ने भयो । विगतको हाम्रो भोट हेर्दा पनि कांग्रेसको त्यति धेरै भोट माओवादीतिर सरेको थिएन’, वर्षमान पुन, माओवादी नेता ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ जेठ १ गते २०:११

१ जेठ, काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचन हुँदा नेपाली कांग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा भने वाम गठबन्धन गर्ने निर्णय गर्‍यो ।

स्थानीय तहदेखि तालमेल सुरु गरेर प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै सँगै जाने निधो सहित अघि बढेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमति भत्किने बेलासम्म माओवादीले किन कांग्रेस छाड्यो र किन एमालेसँग मिल्ने निर्णयमा पुग्यो भन्ने भेउ ती दुवै पार्टीका दोस्रो तहका नेताहरु समेतले पाउन सकेनन् ।

त्यसको भेद झण्डै पाँच वर्षपछि यसपालि गठबन्धन गर्ने विषयमा छलफल हुँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा खुल्यो– प्रतिनिधिसभामा उम्मेदवार उठाउँदा ६०–४० को अनुपातमा भागबण्डा गर्नुपर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरे । २०७४ को असोज ७ गतेसम्म कांग्रेससँगै मिलेर अघि बढ्ने बताइरहेको माओवादी केन्द्र ८ गतेदेखि नै बाम तालमेलको पक्षमा पुग्यो ।

यसपालिको दृश्य फरक थियो । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनका विरुद्ध बनेको गठबन्धनले गठबन्धनको सुरुवात प्रतिनिधिसभाबाट गर्‍यो ।

प्रतिनिधिसभामा गठबन्धन गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनायो, गठबन्धन गरेरै प्रदेश सरकार बनायो र त्यही गठबन्धनलाई स्थानीय तह निर्वाचनको बाटो हुँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म लैजाने सत्ताधारी गठबन्धनमा आबद्ध दलको निधो थियो । तर चुनावको मिति नजिकिंदै गर्दा सत्ता गठबन्धनका दलहरुलाई चुनावमा पनि त्यसैगरी मिलेर जान साह्रै सकस पर्‍यो । फलस्वरुप ७५३ स्थानीय तहमा मुश्किलले आधामा पनि गठबन्धन भएन ।

‘गठबन्धनलाई कतै कांग्रेसका साथीहरुले आत्मसात् गरेको देखिएन, कतै अरु पार्टीका साथीहरुले । तर एक खालको घटनालाई हेरेर मात्रै समग्रमा बुझ्न मिल्दैन । अंशमा हेरेर समग्रको मूल्यांकन हैन, समग्रलाई हेरेर अंशको मूल्यांकन गर्नुपर्छ’,  विश्वप्रकाश शर्मा, महामन्त्री नेपाली कांग्रेस ।

आइतबार अबेरसम्म आएको मतपरिणामका आधारमा विश्लेषण गर्दा तालमेल भएका ठाउँमा पनि कांग्रेसको भोट अरु दलमा सहज स्थानान्तरण भएको देखिएन ।

जस्तो, आइतबार साँझको परिणाम अनुसार काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १८०२ मत पाएकी छन् तर उपमेयरका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मात्र मत पाएका छन् ।

मेयरमा कांग्रेसले अग्रता लिएको ललितपुर र विराटनगर महानगरमा पनि गठबन्धनबाट उपमेयरका उम्मेदवारको मत भने नेकपा एमालेका उम्मेदवारको भन्दा पछि रह्यो । यसलाई अरु दलहरुले कांग्रेस गठबन्धनमा त्यति इमानदार नबनेको आरोप लगाएका छन् भने कांग्रेसले केही अंशमा हेरेर समग्र मूल्यांकन गर्न नहुने प्रतिक्रिया दिएको छ ।

‘जहाँ आवश्यकतालाई ध्यानमा राखेर तालमेल गरियो, त्यहाँको मत परिणाम स्वाभाविक रुपमा आएको छ, जहाँ जबर्जस्ती भयो भन्ने छ त्यहाँ प्रतिक्रियात्मक ढंगले मत आएको छ । शीर्ष नेताहरुबाट बडप्पन प्रस्तुत भएको ठाउँमा गठबन्धन जोगाउन चुनौती देखियो’, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘गठबन्धनलाई कतै कांग्रेसका साथीहरुले आत्मसात् गरेको देखिएन, कतै अरु पार्टीका साथीहरुले । तर एक खालको घटनालाई हेरेर मात्रै समग्रमा बुझ्न मिल्दैन । अंशमा हेरेर समग्रको मूल्यांकन हैन, समग्रलाई हेरेर अंशको मूल्यांकन गर्नुपर्छ ।’

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस उम्मेदवार २६४ स्थानीय तहको नेतृत्वमा निर्वाचित भएका थिए । एमालेले २९४ स्थानीय तहको नेतृत्व जित्दै पहिलो पार्टी बनेको थियो भने माओवादी केन्द्रले १०६ वटा स्थानीय तहमा जित हासिल गरेको थियो । मत गणना सुरु भएको दुई दिनसम्मको मत परिणाम मूल्यांकन गर्दा यो पटक कांग्रेस पहिलो दल बन्ने देखिन्छ ।

अहिलेसम्म प्राप्त मत परिणामअनुसार ११ स्थानमा जित हासिल गरिसकेको कांग्रेसले २७७ स्थानमा अग्रता लिएको छ । यो परिणाम कांग्रेसका लागि उत्साहजनक नै हो । गठबन्धनकै बलमा कांग्रेसले यसरी अग्रता लिइरहँदा माओवादी केन्द्रले भने खासै लाभ लिएको देखिंदैन । ९ वटा स्थानीय तहमा जितेको माओवादी केन्द्र ११० पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुन गठबन्धन अपेक्षाकृत अघि बढ्न नसक्दा यस्तो परिणाम आएको बताउँछन् । ‘पहिलो कुरा त हामीले जति अपेक्षा गरेका थियौं, त्यति गठबन्धन हुन सकेन । महानगर, उपमहानगरमा पनि गठबन्धनबाट कांग्रेसका उम्मेदवार अगाडि हुँदा अरु पार्टीबाट उठेका उपमहानगरका उम्मेदवारलाई मत आइरहेको छैन’ पुनले अनलाइनखबरसित भने, ‘कतिपय अवस्थामा आफ्नै पार्टीभित्र त क्रस हुल्छ, अरु पार्टीको मत नसर्न पनि सक्ने भयो । विगत हेर्दा पनि कांग्रेसको त्यति धेरै भोट माओवादीतिर सरेको थिएन । अरु त अब पूरै रिजल्ट आएपछि मात्रै भन्न सकिन्छ होला ।’

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले करिब दुई तिहाइ मत प्राप्त गरेका थिए । त्यही आधारमा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो ।

मत परिणामबाट उत्साहित भएर एकताबद्ध भई बनेको नेकपाको आयु करिब साढे तीन वर्षको मात्रै भयो । त्यसपछि छिन्नभिन्न भएका कम्युनिस्टहरु कोही राजावादीसँग मिल्न गए, कसैले वाम–लोकतान्त्रिक गठबन्धन बनाए । मुलुकभरको प्रारम्भिक मत परिणामको आधारमा कम्युनिस्टहरुको संख्या धेरै भएतापनि उनीहरु एक्लाएक्लै लड्दा त्यसको फाइदा कांग्रेसलाई भयो ।

गठबन्धनको प्रयास इमानदार भए पनि परिणाम इमानदार हुन नसकेको जसपा अध्यक्ष उपेन्द्र यादवको भनाइ छ । ‘गठबन्धनभित्र इमानदारी देखिएन, जहाँ भयो त्यहाँ एक अर्काप्रतिको विश्वास नै रहेन । धेरै ठाउँमा ठग्ने काम बढी भयो । निश्चित रुपमा यो चुनावले गठबन्धनको भविष्य निर्धारण गर्छ, यसको मूल्यांकन हुन्छ र पुनर्विचार हुन्छ नै’ यादवले भने, ‘गठबन्धन त लोकतन्त्रको रक्षाका लागि भएको थियो, चुनावका लागि गठबन्धन भएपछि घटकले इमानदारी देखाएनन्, धोका दिने काम गरे भने त्यो गठबन्धनको के औचित्य हुन्छ र ?’

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?