+
+

पोखरामा कृष्ण थापालाई हराउन एमालेहरु नै लागेका थिए !

अमृत सुवेदी       अमृत सुवेदी      
२०७९ जेठ ३ गते ११:१०
पोखरा महानगरपालिकामा एमालेका मेयर उम्मेदवार कृष्ण थापा

३ जेठ, पोखरा । नेकपा एमालेको सचिवालयले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपनि अन्तिममा उनको टिकट खोसियो । कारण थियो, टिकट पाएसँगै सुन पसलबाट सिक्री चोरेको आरोप लगाउँदै भिडियो सार्वजनिक हुनु । त्यही भिडियोलाई देखाएर पौडेलको सट्टा कृष्ण थापा उम्मेदवार चयन भए ।

भिडियोमा दाबी गरे जस्तो सिक्री चोरे/नचोरेको प्रहरीले अनुसन्धानबाट खुल्ने विषय होला, तर एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहको गुटगत प्रतिस्पर्धा एकअर्कालाई निषेध गर्ने राजनीतिसम्म पुगेकाले त्यो भिडियो बाहिर आएको एमाले नेताहरु पनि स्वीकार गर्छन् । भिडियो सार्वजनिक गर्ने र भाइरल बनाएर टिकट खोस्न खगराज समूहकै नेता कार्यकर्ता पनि लागेको पौडेलको आरोप छ ।

त्यसअघि कृष्ण थापालाई मेयर हुन रोक्नैका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार जुनसुकै बेला एमालेको नेतृत्वमा बन्न सक्ने भएकाले प्रदेशसभा सदस्यलाई टिकट नदिने निर्णय गराएको सदस्य खगराज समूहको आरोप थियो ।

भिडियो प्रकरणपछि पौडेलको टिकट खोसिएपछि थापाले प्रदेश सांसदबाट राजीनामा दिएर चुनावी मैदानमा आए । तर एमाले एकढिक्का भएर चुनावमा होमिन सकेन । थापालाई मेयरको उम्मेदवार बनाउन पृथ्वीसुब्बा समूह असन्तुष्ट थियो भने पौडेलको राजनीतिक जीवन नै समाप्त पारेको भन्दै अरु पनि खुसी थिएनन् । एमाले वरिष्ठ नेता ईश्वर पोखरेल १८ वैशाखमा पुरुन्चौर पुगेर पौडेललाई भेटेपछि चैत २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी पोखराको चुनावी सभामा देखिए र फेरि चुप बसे ।

तर एमालेभित्रको असन्तुष्टि भने भुसको आगो झैं फैलियो । अहिले एमाले, कास्कीको राजनीति तरंगित हुने गरी सार्वजनिक भइरहेका अडियो सम्वादहरुले त्यही भन्छ ।

पोखरामा करिव २१ हजार मत गणना हुँदा मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले सुरुवाती अग्रता लिएका छन् । एमाले बलियो भनिएकै वडामा पनि कृष्ण थापाले भन्दा धनराजले धेरै मत पाएका छन् ।

धनराजले अग्रता कायमै राखिरहेका बेला आइतबार एमालेवृत्तमा दुईटा अडियो फैलिरह्यो ।

एउटा, पृथ्वीसुब्बा पक्षका सांसद राजीव पहारीका स्वकीय सचिव र धनराज आचार्यका भतिजा पर्ने प्रशान्त आचार्यबीचको टेलिफोन वार्ता भनिएको छ ।

अर्को, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमाले वडा नम्बर ३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याल र दीपक मल्ल नाम गरेका कांग्रेस नेतासँग भएको टेलिफोन कुराकानी ।

राजीव पहारीका स्वकीय सचिव मनोज पहारी र धनराजका भतिजा भनिएका प्रशान्तबीचको कुराकानीमा एमालेबाट कति भोट धनराजलाई दिन सकिन्छ भन्ने बार्गेनिङ समेत छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी

कृष्ण थापाले चुनाव हारे प्रदेशसभा सदस्य राजीव पहारी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, युवा संघका माधव बास्तोला, कास्की जिल्ला इन्चार्ज भीम कार्की, मनबहादुर गुरुङलाई दोष लाउने भन्दै उनलाई हराउनुपर्ने कुराकानीमा भनिएको छ । धनराजका भतिजा भनिएका प्रशान्तले एमालेको २०० मत यताउता गर्न सक्ने भन्दै धनराजसँग पैसाको कुरा गर्न मनोजलाई भनेका छन् । एमालेका सदस्य रहेका उनको आफ्नो क्लबको मत धनराजलाई सहयोग गर्न सक्ने भनाइ थियो । पैसाको कुराकानी र आफ्नो नाम थाहा हुन नहुने प्रशान्तले कुरा गरेपछि पहारीका स्वकीय सचिव भनिएका मनोजले भन्छन्ः

मलाई त डर छैन । कारबाही गरेपनि केही फरक छैन । पिएसले गर्नुहुन्न, पद्माले गर्नुहुन्न, कास्की जिल्लाको अध्यक्ष र इन्चार्जले गर्नुहुन्न । त्यो भएपछि मलाई केही फरकै पर्दैन । अरु मान्छे भए त हामीले विषय पनि उठाउँँथेनौं । अपराधीलाई पार्टीले प्रोत्साहन गरिदियो, हामी कार्यकर्ताले आची खान भएन । धेरै पहिलेदेखि चिनेको मान्छे, ३२ सालदेखि । कृष्ण थापा सत्तामा गएर पनि काम नगर्ने हो । यसलाई सजायँ दिने बेला यही हो भनेर लागेको छु । २१ मा डेढ÷दुई सय भोट काट्छु । २४ मा २ सय काट्छ । १९ ले खुलेर हिंडे पनि सहयोग गर्दैनन् ।

ईश्वर पोखरेललाई त मैले लिएर गएको हुँ, दीपकलाई भेट्न । त्यहाँबाट कत्ति भोट आउँदैन । उसको (थापा) आफ्नै वडाबाट आउँदैन । अरुमा त कांग्रेस पनि बलियो छ । सबैतिरबाट धनराज सरलाई जसरी चुनाव जिताउने भनेर लागेका छौं । कृष्ण थापालाई हराउन बेस्सरी लागेको छु । कसैले रोकेर पनि रोकिन्नँ ।

उनीहरुको कुराकानी यसरी अगाडि बढ्छ-

प्रशान्तः तिमीले यसरी काम गर्दा राजीव पहारीलाई अप्ठेरो पर्न भएन ।

मनोजः अप्ठेरो पर्दैन । हामी वडा कमजोर छैन, जित्छौं । मेयर मात्रै हार्ने हो । यसरी मेयर मात्रै हार्दा क्याण्डिडेट राम्रो नभएर हारेको भन्ने बुझ्छन् । यसले नचिढाएको कसलाई छ र ? दलितले भोट हाल्दैनन् । उसले हार्दा पार्टीलाई पनि अप्ठेरो पर्दैन, हामीलाई पनि अप्ठेरो पर्दैन ।

अवैध जन्मिएको पार्टीबाट उम्मेदवार हुनुभो । धनराज सरलाई सपोर्ट गर्ने एमालेलाई नै हो । व्यवसायिक मान्छे पनि मेयरमा आउँदा राम्रो हुन्छ । भूगोलको मान्छे, राजनीतिक मान्छे भनेर हो । म आफैंलाई माग्ने होइन । मैले पनि कुरा मिलाएरै गर्नुपर्छ ।

प्रशान्तः कसले कुरा गर्छ त ?

मनोजः म मेरा मान्छे छन् भनेर कुरा गर्छु नि दाइ । जे गरेपनि कृष्ण थापालाई त हराउनुपर्यो  नि ।

प्रशान्तः यसले राजीवलाई असर नगरोस् मेरो कुरा त्यत्ति हो । हामी व्यवसाय गर्ने हो, राजीव दाइ त राजनीति गर्ने मान्छे हो ।

मनोजः कृष्ण थापाको त अन्तिम हो नि, ६४ वर्ष भइसक्यो । राजीव दाइलाई अप्ठेरो नपर्ने गरी काम गर्ने हो । थाहा त खगे चोरलाई नि थाहा छ, थापा काजीलाई नि थाहा छ, मनोजले असहयोग गर्छ भनेर ।

प्रशान्तः मनोजले बोल्यो भन्दा नि राजीव बोल्यो भन्ने पर्छ है । ख्याल गर्नु ।

मनोजः राजीव दाइको निकट भन्दा नि व्यवसायिक हिसाबले सम्बन्ध छ नि । पहिले नै चिनजान मान्छे हो नि । बरु राजीव दाइ पछि चिनेको हो । कृष्ण थापाले चुनाव हारे त जसरी नि दोष लाउने त राजीव दाइलाई हो, पृथ्वीसुब्बालाई हो, माधव बास्तोलालाई हो, भीम कार्कीलाई हो, मनबहादुर गुरुङलाई हो । कुरा त क्लियर नै छ ।

प्रशान्तः कृष्ण थापाले चुनाव जित्छन् कि जित्दैनन् ?

मनोजः कृष्ण थापाले चुनाव कुनै हालतमा जित्दैनन् । नचिढ्याएको मान्छे कोही छैन । आफ्नो क्षेत्र छोड्यो भन्ने छ, २ (ख) मा । २ (क) मा यसले धोका दियो भन्ने छ । भाषण पनि ढाँटेको रहेछ, सांसद हुँदा काम गरेन । ०३२ सालदेखि कोही मान्छे रहेनछन् कि पार्टीमा भन्ने छ । दलितका भोट सबै काटिन्छ । क्रिमिनल बाटोबाट दीपकको टिकट खोस्यो । लेखनाथमा हाम्रो पार्टीबाट उपमेयर छैनन्, गठबन्धनले उपमेयर त दिएको छ नि । कृष्ण थापा हार्ने आधार धेरै छन् ।

प्रशान्तः राजीव दाइको कत्तिको साथ र सहयोग छ ?

मनोजः यो कुरा म भेटेर गर्छु । यो कुरामा सिरियस लाग्नु है, अपराधीलाई असहयोग गर्नुपर्छ । अनि सुन्नु त, धनराज सर मेयर हुनका लागि उता जानुभएको हो । उहाँको मेयर बन्ने एम नै हो । कृष्ण थापा पूर्व मेयर हुम भनेर अहिले पनि पोखरा काठमाडौं प्लेन खर्च उले (महानगर) गर्छ के । धनराज सर त पोखरा बनाउन भनेर आउनुभएको हो । यिनीहरूको उद्देश्य ७ अर्ब देखेको छ, झिलिमिली । स्रोत दुरुपयोग गरौंला, विदेश घुमौंला र रमाउँला भनेको छ ।

गोप्य कुरा भन्दिन्छु, अख्तियारले छापा हान्यो भने सबैभन्दा धेरै भ्रष्टाचार रुपामा छ । नवराजलाई थाहा छैन, खगेले त्यस्तो गरेको छ । खगेले मेयर पोखरामा कृष्ण थापालाई बनाम्ला, भोलि मुख्यमन्त्री आफू हुम्ला । सत्तामा भएपछि ११ जिल्लाका मान्छे पछि लाग्छन् । पीएसलाई सिध्याम्ला भन्ने उद्देश्य छ । धनराज सरको त एम हो नि । त्यो भएर सबैलाई यसरी बुझाएर हिँडेको छु, कृष्ण थापालाई जसरी नि हराउने हो ।

****

प्रशान्त र मनोजबीचको यो टेलिफोन संवादमा जस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा वडा कमिटी उपाध्यक्ष भनिएका अर्यालले वडामा शिवलाई हराउन लाग्ने र एमालेको एउटा ठूलो पंक्ति पनि कृष्ण थापालाई हराउन हिँडेको बताएका छन् ।

‘त्यही विषयमा राजीवको टोली र पृथ्वीसुब्बाको टोली काठमाडौं गएर आएको हो के, खगराजको टोलीले पाएको हो नि त टिकट,’ दीपकसँगको टेलिफोन संवादमा महेश भन्छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण थापा र एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य

टेलिफोन संवादमा भनिएझैं पृथ्वीसुब्बा समूहका केही नेता कृष्ण थापालाई हराउन हिँडेको निष्कर्षमा पुगेका छन्, खगराज समूहका नेताहरु पनि ।

एमालेले जितेको वडा नम्बर १ मा उपप्रमुख मञ्जुदेवी गुरुङले ११४५ ल्याउँदा कृष्ण थापाले १०१८ ल्याएका छन् । एकीकृत समाजवादीका धनराजले १०९३ ल्याएका छन् ।

पोखरा २४ को प्रारम्भिक मत गणनामा पनि मेयरमा धनराज, उपमेयरमा एमालेकी मञ्जुदेवी, वडाध्यक्षमा गठबन्धन र फेरि सदस्यहरुमा सूर्यमा मत खासिलिएको ठूलो संख्या छ । एमालेको बलियो भनिएकै वडामा पनि मेयरमा कलम, उपमेयरदेखि सूर्य हाल्ने संख्या पनि बढिरहेको छ, जसका कारणले धनराजले मतान्तर बढाउँदै लगेका छन् । एमालेको बलियो भनिएका वडा नम्बर ५, ८, १६, १७, १४, १८, १८, २०, २१, ३१ लगायतका वडाको मत गणना हुँदा कृष्ण थापाले अग्रता दिनसक्ने अनुमान एमालेको छ । ‘भोटिङ ट्रेन्ड’ हेर्दा त्यो सम्भावना पनि कम रहेको गठबन्धनका नेताहरुको विश्लेषण छ ।

उसो त एकीकृत समाजवादीका उम्मेदवार धनराज आफैंले कम्तिमा १० हजार मत एमालेबाट तान्ने हिसाब गरेका थिए । त्यसैमाथि पृथ्वीसुब्बा र खगराज समूहको कलह बढ्दा उनले थप लाभ पाउने देखिएको एमाले नेताहरु बताउँछन् । पृथ्वीसुब्बा र खगराजको लडाइँभन्दा पनि दुबै समूहका दोस्रो पुस्ताका नेताहरुबीच कसले अवसर पाउने भन्ने लडाइँ चर्को देखिएको छ ।

उसो त २०५४ सालमै मेयर बनेका कृष्ण थापा आफैं पनि निर्विवादित भने होइनन् । उनले २०५४ सालमा नगरको नेतृत्व गर्दा र त्यसपछि पनि लामो समय राजनीतिक संयन्त्रमा बसेर शक्तिको आडमा राज्यको स्रोत, साधनको दोहन गरेको उनीमाथि आरोप छ । थापामाथि जातीय विभेदलाई संरक्षण गरेको आरोप पनि छ ।

तर अब चुनावी नतिजा जे भएपनि एमाले, कास्कीको कलह थप चर्किने देखिएको छ । कास्कीमा २०७४ सालको चुनावअघि नै पृथ्वीसुब्बा र खगराजको सम्बन्ध चिसिएको हो । २०७४ को स्थानीय निर्वाचनमै खगराजले कृष्ण थापालाई पोखरा महानगरपालिकाको मेयरमा चुनाव लडाउन चाहेका थिए । तर पृथ्वीसुब्बाले मानबहादुर जिसीलाई टिकट दिलाउन सहयोग गरे ।

प्रदेशसभा चुनाव भयो, मुख्यमन्त्री बन्ने सोचका साथ प्रदेशसभामा गएका पृथ्वीसुब्बा र किरण गुरुङ दुबै चुनिए । पृथ्वीसुब्बा मुख्यमन्त्री बन्न खोज्दा खगराजले किरण गुरुङको पक्षमा लबिइङ गरे । तथापि रोक्न सकेनन् ।

पृथ्वीसुब्बा मुख्यमन्त्री बनेपछि कास्कीमा एकछत्र राज गरिरहेका खगराजको निर्णय पनि उल्टिन थाल्यो । एमालेको पोखरा नगर तथा जिल्ला कमिटीको निर्वाचनमा दुई नेताको टकराब देखियो । एकले अर्कोलाई निषेध गर्न खोज्दा सबभन्दा सुरक्षित भनिएको पोखरामै एमालेलाई धक्का नलाग्ला भन्न सकिन्न ।

यस्तै गतिविधिले बालेनहरु जन्माउँछ : थापा

एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले यस विषयमा धेरै कुरा गर्न चाहेनन् । थापाले नेताहरुको इन्टेन्सन र मतको प्याट्रन हेरे सबैले विश्लेषण गर्न सक्ने बताए । ‘नेताहरुको इन्टेन्सन र भोटको प्याट्रन सबै देखिरहनुभएकै छ, हामीले के बोल्नुपर्छ र ?’ थापाले भने, ‘यस्तै गतिविधिले पार्टीमाथि धेरै कार्यकर्ता र जनताको आस्था कमजोर बन्दै गएको छ । पार्टीका यस्तै गतिविधिले बालेनहरु जन्माउँछ । पार्टी अनुशासनमा नबस्दा धेरै क्षति बेहोर्नुपर्छ ।’

पृथ्वीसुब्बा समूहका नेता तथा कास्की जिल्ला इञ्चार्ज भीम कार्कीले ‘अल्लारे केटाहरु’को अडियोको पछाडि लाग्न नहुने बताए । ‘त्यस्तो हल्ला र अल्लारे केटाहरुको पछाडि लागेर पार्टीभित्र दरार ल्याउने कुरा हुँदैन,’ कार्कीले भने, ‘हामी हाम्रा उम्मेदवारलाई जिताउन कटिबद्ध छौं ।’ उनीहरुले गल्ती गरेको र पार्टीको नीतिविपरीत कुराकानी गरेर सार्वजनिक गरेकोमा पार्टीले कारबाही गर्ने तर त्यसले चुनाव र एमालेलाई कुनै असर नपुर्याउने दाबी कार्कीले गरे ।

अहिले सार्वजनिक भएको अडियो सम्वादमा सुनिएका मनोज पहारीले आफूलाई सुनियोजित हिसाबले फसाइएको प्रतिक्रिया दिएका छन् । आफूलाई फोन र दबाब पनि आएकाले यसबारे धेरै कुरा गर्न नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?