+
+

क्रिकेटका ८ पूर्वाधारलाई साढे ४७ करोड बजेट

चितवनको गौतमबुद्ध रंगशालालाई २२ करोड ५० लाख

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १३:४९

२५ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षमा क्रिकेट खेलका ८ वटा पूर्वाधारका लागि ४७ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

१५ जेठमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि ३ अर्ब २५ करोड २५ लाख बजेट विनियोजन गरिएको थियो ।

त्यसमध्ये पूर्वाधार निर्माणतर्फ ८७ करोड ६६ लाख रुपैयाँ छुट्याइएको छ । जसमा क्रिकेट खेलका पूर्वाधारले साढे ४७ करोड पाएका हुन् ।

सबैभन्दा धेरै रकम चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले पाएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले काम सुरु गरेर बीचमै छाडेको यो रंगशाला निर्माण जारी राख्न २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । ३ अर्ब अनुमानित बजेट रहेको यो रंगशालामा १४ प्रतिशत काम सम्पन्न भएपछि फाउण्डेसनले हात उठाएको थियो । बाँकी काम प्रदेश र स्थानीय तहको लगानीमा संघीय सरकारले समन्वय गर्ने गरी सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रातीको समयमा पनि क्रिकेट खेल्न योग्य बनाउनका लागि फ्लडलाइट जडान गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुन लागेको धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी विकास समिति मोडलमा सुरु गर्न लागिएको यो रंगशाला निर्माणका लागि अभियान्ता सुवास शाहीलाई सरकारले मंगलबार समितिको नेतृत्व सुम्पिएको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर ।

यस्तै सरकारले यो आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको मूलपानी (तल्लो) क्रिकेट मैदानका लागि ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । १९ वर्षअघि निर्माण सुरु भएको यो मैदानका लागि अहिलेसम्म ३४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

बाँकेको कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीसहित रंगशाला निर्माण गर्ने सरकारी योजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

भैरहवा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि डेढ करोड र पोखरा क्रिकेट रंगशाला निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महेन्द्रनगर क्रिकेट रंगशालाको मैदान र पीच तथा चेञ्जिङ रुमलगायत निर्माणाधीन मैदान आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?