+
+
Shares
मन्तव्य :

‘स्वार्थ समूह बनाउने भए किन चाहियो माओवादी पार्टी ?’ 

नराम्रो पार्टी, जनतालाई ठग्ने, व्यक्तिगत स्वार्थ मात्रै पूर्ति गर्न खोज्ने, गुटबन्दीमा मात्रैमा रमाउने, पार्टी होइन गुट बनाउने, स्वार्थ समूह बनाउने, गिरोह बनाउनेतिर नै लाग्ने हो हामी पनि भने किन चाहियो यो माओवादी पार्टी ? किन चाहियो ? मार्क्सले भन्नुहुन्थ्यो- यो अवसरवादीहरूको खेलौना हुने पार्टी चल्नुभन्दा यसलाई फालिदिएपछि बरु जनतालाई अलि सुख हुन्छ । 

प्रचण्ड प्रचण्ड
२०७९ भदौ १७ गते १५:३८

स्थानीय तहमा झण्डै ५० भन्दा बढी (पालिकामा) हामीले जितेका पनि हार्‍यौं । हामीले के कारणले हार्‍यौं ? अन्य तमाम कारणका अतिरिक्त मुख्य कारण हाम्रो पार्टी भित्रकै पार्टीभित्र विकास भएको गैरसर्वहारावादी, गैरक्रान्तिकारी, व्यक्तिवादी, गुटवादी, स्वार्थवादी, आन्तरिक अन्तरविरोधको व्यवस्थापन गर्न नसक्दा ।

अहिले हाम्रो माओवादी केन्द्रमा विचार समूह त एउटै मात्रै छ । हामीले राष्ट्रिय महाधिवेशनबाट ८ दिन छलफल गरेर सर्वसम्मत रूपले दस्तावेज पारित गरेका छौं । हाम्रो पार्टीमा कुनै विचार समूह छैन । एउटै मात्रै विचार समूह छ, माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज नै हाम्रो विचार हो । र, त्यो हाम्रो सर्वसम्मत विचार हो ।

पार्टीभित्र विचार समूह त एउटै छ, महाधिवेशनले, केन्द्रीय समितिले एउटै नेतृत्वलाई सर्वसम्मतरूपले चयन पनि गरेको छ । प्रचण्डको नेतृत्वमा कहिँकतै विमति छैन भनिएको छ । औपचारिक रूपमा छैन पनि । विचार पनि एउटै छ, नेतृत्व पनि एउटै छ । तर हामीसँग गुटहरू चाहिँ थुप्रै छ ।

अझ यसलाई गुट पनि भन्नु पनि ठूलो शब्द जस्तो लाग्छ । गुट होइन, स्वार्थ समूह । स्वार्थको निम्ति भएको गठजोड गर्ने र त्यो स्वार्थपूर्ति गर्नका लागि बढीभन्दा मान्छेलाई आफ्नो स्वार्थ समूहमा आवद्ध गर्न खोज्ने । आफ्नो पद, प्रतिष्ठा, आर्थिक लाभ र स्वार्थको निम्ति भन्ने समूह धेरै भएका छन् ।

म तपाईंहरूलाई विशेषरूपले अपिल गर्न चाहन्छु । म तपाईंहरूको यहाँ (कर्णालीमा) पनि गुटैगुट देख्छु । मलाई के भन्नुपर्ने भएको छ भने त्यो गुट तपाईं कार्यकर्ता तहमा छैन । त्यो गुट नेताहरूमा छ । तपाईंहरूले गहिरोगरी नेताहरूको बोली, प्रस्तुति, गतिविधि, हाउभाउ र बडी ल्वाङ्ग्वेज हेर्नुभयो भने बुझिहाल्नुहुन्छ कतिवटा गुट रहेछन् ! यही कारणले हामी निर्वाचनमा हार्‍यौं । स्वार्थ समूह बनाउनतिर लागेपछि हार्नै नहुने ठाउँमा नि हारिएको छ ।

भन्दाखेरि सबैले प्रचण्ड नै हाम्रो नेता हो भन्ने तर व्यवहार गर्दा अब मै हो प्रचण्ड भन्दा ठूलो भन्ने गरिएको छ । भित्रभित्रै प्रचण्डले यो पनि गल्ती गर्‍यो त्यो पनि गल्ती गर्‍यो भन्ने, बाहिर फेरि प्रचण्ड नै हाम्रो नेता हो भनेपछि इमान्दारिता भयो त ? त्यसले तपाईंहरूको दिमाग पनि पक्कै खराब भएको होला । दिमाग खराब हुनेगरी नेताहरूले भन्छन् होला । कोहीले यता तान्ने, कोहीले उता तान्ने । फेरि भन्ने सबैले माओवादी केन्द्र नै ।

यो स्थितिका कारण हामीले निर्वाचनमा धेरै हारियो । अझ धेरै त पहाडमा भन्दा हामीले मधेस र तराईमा हारियो । पहाडमा पनि यही कारणले हारियो । माओवादी कमजोर हुनुको कारण गुटबन्दी नै हो । यही स्वार्थ समूह नै हो । तपाईं कर्णालीका कार्यकर्तालाई गुट रोक्नका लागि पहल गर्न सक्नुहुन्छ ? स्वार्थ समूहका स्वार्थ पूर्ति हुन नदिनको निम्ति तपाईंहरूले झण्डा उठाउन सक्नुहुन्छ ?

मैले सुरुमा तपाईंहरूलाई धन्यवाद दिनुको कारण छ । नेताहरूले भन्दा तपाईंहरूले बोलाएर म यहाँ आएको हुँ । यसको अर्थ, संवेदनशीलता र गहिराईलाई विचार गर्नुहोला । यो स्थिति छ । यसले के देखाउँछ भने हाम्रो पार्टी बिग्रेको त छ । वैचारिक विचलन आएको छ । भन्ने एउटा, गर्ने चाहिँ अर्को । जे भनिन्छ त्यो गरिँदैन, जे गरिन्छ त्यो भनिँदैन जस्तो भएको छ । यो त मार्क्सवाद र विज्ञान विरोधी गुटगत चरित्र हो । हामी त्यो छिरेको छ । कुनै न कुनै रूपले त्यसले घर गरेको छ ।

बिस्तारै बिस्तारै हामी कमबेसी सबै विचलनको शिकार हुने खतरा छ । अहिले हाम्रो चुनौती यही गुटबन्दी, स्वार्थ समूह,  व्यक्तिवाद र अराजकतालाई रोक्ने हो । कर्णालीमा यो प्रवृत्ति कम भए पनि अरु ठाउँमा त नेताहरूबीच मुख बोलचाल पनि छैन । कार्यकर्ता समेत विभाजित छन् । अनि साथीहरू आफ्नो पक्ष र गुटमा नलागेको उम्मेदवार छ भने त्यसलाई हराउनुमा बहादुरी ठान्ने भएका छन् । ‘मेरो गुटमा नलाग्ने तँ ? तँलाई हराएर देखाउँछु’ भन्ने एउटाले । अर्कोले पनि त्यही भन्ने । यसरी हामीले सजिलै जित्ने दर्जनौं पालिका गुमाएको छ्याङ्गै देख्यौं हामीले । गर्ने के ?

कहिलेकाँही त म हैरानपरेसान भएको तपाईंले देख्नुभएकै छ । यस्तो स्वार्थ समूह भएको पार्टी चलाउनुभन्दा त बरु मार्क्सले जस्तो गर्ने हो कि भने जस्तो लाग्छ मलाई कहिलेकाँही । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले आफैंले बनाएको कम्युनिष्ट इन्टरनेशनल भन्ने संगठन अवसरवादीको घेरामा पर्‍यो । छन त मार्क्स र एंगेल्स नै हुनुहुन्थ्यो । तर अवसरवादीको हातमा गएको देखेपछि त्यो इन्टरनेशनल विघटन गर्ने प्रस्ताव लगेर विघटन नै गर्नुभयो । नराम्रो पार्टी, जनतालाई ठग्ने, व्यक्तिगत स्वार्थ मात्रै पूर्ति गर्न खोज्ने, गुटबन्दीमा मात्रैमा रमाउने, पार्टी होइन गुट बनाउने, स्वार्थ समूह बनाउने, गिरोह बनाउनेतिर नै लाग्ने हो हामी पनि भने किन चाहियो यो माओवादी पार्टी ? किन चाहियो ?

मार्क्सले भन्नुहुन्थ्यो- यो अवसरवादीहरूको खेलौना हुने पार्टी चल्नुभन्दा यसलाई फालिदिएपछि बरु जनतालाई अलि सुख हुन्छ । जनतालाई अलिकति भए पनि धेरै ठग्न पाउँदैनन् । संस्थागत ठगी, संस्थागत रूपले ठग्ने भन्दा त … ।

त्यस्तो मार्क्सले किन भन्नुभयो होला ? हामी सबैले निधार खुम्च्याएर सोच्नुपर्ने बेला छ । तर मैले यसो भन्नुको अर्थ अहिले नै विघटन गरौं भन्न खोजेको होइन । पार्टी बदल्ने कि नबदल्ने भन्न खोजेको ।

मलाई त अब सबैतिरबाट अलिकति रेस्ट लिन मन त लाग्छ । उमेर पनि ढल्केको छ । अरु परिस्थिति पनि यस्तै छन् तर जब यो पार्टीलाई क्रान्तिकारी पार्टी बनाउने आवश्यकता, हाम्रा ती हजारौं सहिदहरूको बलिदान, हजारौं बेपत्ता योद्धा, हजारौं घाइते अपाङ्ग, ती सहिद र बेपत्ता योद्धाका परिवार, त्यो सबैको जिम्मेवारी सम्झिँदा फेरि आफूलाई बुढो भएजस्तो पनि लाग्दैन । म फेरि अहिले पनि २५-३० वर्षको तपाईंहरू नै म देशभरि घुमिराखेको छु । तपाईंहरूले देख्नु भएकै छ- संविधान बचाउने, पार्टीहरूलाई मिलाउने, देश बचाउने, प्रतिक्रियावादी षड्यन्त्रबाट बच्नुपर्ने र समाजवादको यात्रा पनि सुरु गर्नुपर्नेछ ।

त्यसैले गुट अन्त्यको अभियान कर्णालीबाटै सुरु होस् । कसैसँग नडराउनुहोस् । डराउनुपर्ने केही आवश्यकता छैन । गुट र स्वार्थ समूह बनाएर चल्ने प्रवृत्ति, मैले कुनै व्यक्तिलाई भनेको होइन यो प्रवृत्ति क्रान्तिकारी पार्टीको लागि सबैभन्दा घातक प्रवृत्ति हो । यस्तो प्रवृत्तिलाई मौलन नदिने भूमिका तपाईंहरूले खेल्नुहोस् ।

(शुक्रबार सुर्खेतमा आयोजित नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले व्यक्त गरेको विचारको सम्पादित अंश)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?