+
+

प्रचण्ड–जनार्दन नोकझोंक: ‘नबजाउ ताली, मलाई तालीदेखि डर लाग्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १७:३९

२२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै नोकझोंक भएको छ ।

अर्थमन्त्री शर्मा, माओवादीमा महासचिवका दावेदार थिए । अर्का नेता वर्षमान पुनको पनि दाबी रह्यो । दुवै नेताले दाबी नछोडेपछि प्रचण्डले देव गुरुङलाई महासचिवमा रुपमा अघि सारे र ४ भदौको स्थायी समिति बैठकले ७ जनालाई उपमहासचिव चयन गर्‍यो । जसमा पुन तेस्रो र शर्मा चौथो नम्बरमा उपमहासचिव भए ।

प्रचण्डको प्रस्तावमा शर्माले असन्तुष्टि जनाए । उनले आफ्नो फरक मत रहेको बताएका थिए । बुधबार अखिल क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले सार्वजनिक रुपमै प्रचण्डले दिएको पद अस्वीकार गरिदिए ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रचण्ड अर्को कार्यक्रम जानुपर्ने भन्दै सुरुमै बोल्न खोजेका थिए । तर आफ्नो कुरा सुनाउनैपर्नेछ भनेपछि शर्माले समय पाए ।

कार्यक्रम सञ्चालकले उनलाई अर्थमन्त्री एवं उपमहासचिवमा बोलाएका थिए । तर ‘नबजाउ ताली, मलाई तालीदेखि डर लाग्छ, नगर गाली, गालीदेखि मलाई दुःख लाग्छ । सक्छौ भने आलोचना गर, त्यसले मलाई रक्षा गर्छ’ भन्दै कवितात्मक शैलीमा आफ्नो सम्बोधन सुरु गरेका जनार्दनले आफूलाई उपमहासचिवका रुपमा चिनाउन अस्वीकार गरे । पार्टीमा ६ जना मात्र उपमहासचिव रहेको भन्दै शर्माले भनेका छन्, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’

उनी यत्तिमा मात्र रोकिएनन्, आफू अध्यक्ष प्रचण्डको कडा आलोचक पनि भएको बताए । आफूले सही नीति र नेतृत्वको रक्षा गर्दै आएको भन्दै उनले ‘म त प्रचण्ड कमरेडको आलोचक हुँ, आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन । सबैभन्दा बढी संरक्षक, रक्षा गर्ने पनि मै हुँ ।’

उनले विद्यार्थीलाई गलत कुराको आलोचना र सही कुराको समर्थन गर्ने हिम्मत राख्न पनि सुझाए । हालै सम्पन्न भएको माओवादी केन्द्रको आठौं महाधिवेशनका निर्णय आफूले बिर्सिसकेको भन्दै शर्माले भनेका छन्, ‘हुन त हामीले आठौं महाधिवेशनमा धेरै कुरा गरेका थियौं । के के गर्‍यो अहिले मलाई बिर्सिसकेको छु ।’

अलिख क्रान्तिकारीमा देखिएको विवादमा पनि प्रचण्डले लचकता देखाएको प्रति समेत जनार्दनले असन्तुष्टि जनाए । उनले भने, ‘यहाँ तपाईंहरु आज घोषणा गर्दै हुनुहुन्छ, हिजो अर्को एकजनाले गर्दै थिए । अब अराजकता गर्ने अनि नेतृृत्वले त्यसैलाई पुलपुल्याउने कुरा खराब कुरा हो, त्यसको आलोचना गर्नुपर्छ ।’

माओवादी केन्द्रको विद्यार्थी संगठन अलिख क्रान्तिकारीमा पदाधिकारी चयन लगायतका विषयमा असन्तुष्ट रहेर पवन कार्कीले समानान्तर गतिविधि गर्दै आएका छन् । त्यसलाई समाधान गर्न भन्दै प्रचण्डका स्वकीय सचिव समेत रहेका केन्द्रीय सदस्य रमेश मल्लको नेतृत्वमा तीन सदस्यीय सुझाव कार्यदल गठन भएको थियो ।

कार्यदलले प्रचण्डलाई प्रतिवेदन समेत बुझाएको थियो । पदाधिकारी चयन गर्न आयोजित स्थायी समिति बैठकमा प्रचण्डले विद्यार्थी संगठनभित्रको समस्या समाधान गर्ने जिम्मा आफैंले लिएका थिए । यसबीचमा प्रचण्डले विवाद गरिरहेका दुवै पक्षलाई बोलाएर छलफल गरे पनि समस्या समाधान हुनसकेको छैन । कार्की समूहले समानान्तर गतिविधिलाई निरन्तरता दिएको छ ।

त्यसप्रति असन्तुष्टि जनाउँदै शर्माले भनेका छन्, ‘संगठन विधिमा बस्नुपर्‍यो, विधि र पद्धतिमा बस्नुपर्‍यो । विधि र पद्धतिमा नबसेर संगठन गर्ने कुरा हुन सक्दैन ।’

प्रचण्डले पनि उनलाई कार्यक्रममा जवाफ फर्काए । जनार्दनको रक्षा र विकासमा आफ्नो मुख्य भूमिका रहेको उनले बताए । साथै महासचिव चयनप्रति संकेत गर्दै आफूले खुला छाती भएको राम्रो उत्तराधिकारी तयार बनोस् भन्ने चाहेको बताए । उनले भनेका छन्, ‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होउन् । तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाउन्, तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् । र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाउन्, ठूलो छाती लिएर सबै अगाडि बढुन् भन्ने छ ।’

भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?