+
+
सागर पुनको आक्रामक पुनरागमन :

‘चोटकै कारण खेलाडी पलायन हुन नपरोस्’

नमिता दाहाल नमिता दाहाल
२०७९ भदौ २३ गते १९:१२

२३ भदौ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग–२०७५ का क्रममा घुँडामा चोट लागेपछि ‘गुमनाम’ बनेका सागर पुन आक्रामक इनिङसहित बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा देखापरे । उनको अविजित ४६ रनको मद्दतमा एनआरएन टिमले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

जितले टिमको आत्मविश्वास मात्र बढाएको छैन, सागरलाई फेरि राष्ट्रिय टिममा फर्किने आश जगाएको छ ।

किनकी उत्कृष्ट अलराउण्डरको भूमिकामा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट ग्राफको उकालो चढिरहेका बेला एउटै चोटले उनको करिअर विथोलेको थियो ।

घुँडामा लागेको चोट त एक वर्षमै निको भयो । तर चोट लागेको बेला व्यहोरेको झमेला र ‘अपमान’को चोट गहिरो छ । राष्ट्रिय टिममा पुनरागमन गर्ने प्रयास असफल भएपछि सागर अमेरिकातिर लागे । ‘फर्कने तयारी गरिरहेकै थिएँ । फिटनेस र खेललाई जारी राखेको थिएँ,’ सागरले सुनाए ।

नेपाली खेलकुदमा चोटकै कारण पलायन हुनुपर्ने खेलाडी सागर पहिलो होइनन् । आफ्नो भोगाइबाट उनले सिकेको कुरा के हो भने राष्ट्रिय टिमका खेलाडी घाइते भएमा उसलाई पुनः टिममा फर्कने माध्यम हुनुपर्छ । खेलाडीको अनुभवलाई प्रयोग गर्न पनि यो प्रणालीको विकास हुनु जरुरी छ ।

‘राष्ट्रिय टिमका खेलाडी चोटका कारण बाहिर हुन्छ भने त्यो ब्रेकमा उसलाई प्रोत्साहन दिने मान्छे चाहिन्छ, मलाई त कसैले सोध्दा पनि सोधेन,’ सागर भन्छन्, ‘मलाई आर्थिक सहयोग होइन, प्रोत्साहन र हौसला चाहिएको थियो ।’

अमेरिका पुगेपछि पनि उनले क्रिकेटसँग नाता तोडेनन् । तर नेपाल फर्किने अवसर भने जुरेको थिएन । नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिमले पनि भाग लिने भएपछि उनले यो अवसर छुटाउन चाहेनन् । भन्छन्, ‘कसरी खेलमा फर्किने भन्ने मौकाको खोजीमा थिएँ । नवौं राष्ट्रिय खेलकुदबाट मौका जुर्‍यो ।’

आक्रामक कमब्याक

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । क्यानले आयोजना गर्न लागेको नेपाल टी–२० लिगसँग मिति जुधेपछि पुरुष क्रिकेटको स्पर्धा एक महिना अगाडि नै आयोजना भएको हो ।

वर्षाका कारण मैदानमा पानी जमेपछि एनआरएनए र सुदूरपश्चिमबीचको उद्घाटन खेल ढिला सुरु हुँदा ६ ओभरमा झारिएको थियो । सागरले ओपनिङ गर्दै १९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा अविजित ४६ रन जोडे ।

कप्तान सुनाम गौतमले पनि २४ रनको योगदान गरेपछि टस जितेर ब्याटिङ गरेको एनआरएनएले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो । एनआरएनए टिमले १२ रनको जितसँगै २ अंक जोड्यो ।

पहिलो खेलमा प्लेयर अफ दी म्याच बनेका सागर नेपाली क्रिकेटमा फर्किन पाउँदा निकै खुसी छन् ‘म यहीँ खेलेर हुर्किएको हुँ । नेपाली मैदानमा खेल्न पाउनु भावनात्मक रुपमा पनि खुसीको कुरा हो’ अमेरिकामा रहँदा त्रिवि मैदानलाई धेरै ‘मिस’ गरेको उनी भन्छन्, विगतका सबैकुरा बिर्सिएर नेपाली क्रिकेटमा फर्किन पाउँदा र पहिलो खेलमा नै टोलीका लागि राम्रो गर्न पाउँदा खुसी लागेको छ ।’

नेपाली क्रिकेटका विगत बनेका सागरले करिअरको उच्च समयमै बे्रेक लिनुपरेको थियो । अब नेपाली क्रिकेटले भविष्यमा पुन सागर पुनबाट के पाउन सक्छ, भन्ने प्रश्नमा उनी भन्छन्, ‘कुनै पनि खेलाडीले चाहने भनेको खेल हो । जसरी हुन्छ खेल्छु भन्ने हो । चाहे त्यो जस्तोसुकै प्रतियोगिता होस् ।’

सागरको तत्कालको योजना भनेको एनआरएनए टिमलाई उपाधि जिताउने हो । चार वर्षपछि नेपाली घरेलु मैदानमा फर्किँदा भावुक भएका सागरले राष्ट्रिय टिमबाट खेल्ने आश मारेका छैनन् । ‘मौका पाएँ र प्रदर्शनले प्रमाणित गर्दै गएँ भने त देशको लागि खेल्ने सपना जसको पनि हुन्छ,’ सागरले भने, ‘मेरो प्रदर्शनले राष्ट्रिय टिमलाई मद्दत गर्छ भने म जहिले पनि तयार हुनेछु ।’

पहिलो खेलबाट आशा जगाएका उनले आसन्न नेपाल टी–२० लिगदेखि राष्ट्रिय टोलीसम्म यात्रा गर्लान् नगर्लान, उनको मिहिनेत र मैदानमा गर्ने प्रदर्शनमा भर पर्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?