+
+

ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १८:५८

१२ कात्तिक, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।

आयोगको शनिबार बसेको बैठकले डा. कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।

दाबी विरोध गर्ने समय सकिएपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो । कार्यालयले सोधेको स्पष्टीकरणमा कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको जिकिर गरेकी थिइन् ।

कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्‍यो । आयोगले मेडिकल काउन्सिललाई कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।

काउन्सिलले सदस्यको मासिक पारिश्रमिक नहुने तर, बैठक भ्रमण भत्ता हुने जानकारी गरायो । यसअनुसार कार्कीले २०७९ वैशाखदेखि भदौसम्म १ लाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएकी छिन् । साथै अख्तियार ऐनअनुसार सम्पत्ति विवरण पनि बुझाउने भएकाले सार्वजनिक पद भएको काउन्सिलको जवाफमा उल्लेख छ ।

आयोगको शनिबार बसेको बैठकले सार्वजनिक पद धारण नगरेको भनेर कार्कीले गरेको स्वघोषणा उल्लंघन भएको र पारिश्रमिक वा आर्थिक सुविधालाई लाभको पद भनिने संविधानमा प्रष्ट व्यवस्था रहेकाले कार्कीको उम्मेदवारी खारेज हुने निर्णय गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, कार्की नेपाल मेडिकल काउन्सिलकी कार्यकारी सदस्य पदमा निर्वाचित भएकी थिइन् । उनी पदमै कायम रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो ।

चार वर्षे कार्यकालका लागि उनी मेडिकल काउन्सिलमा गत भदौमा निर्वाचित भएकी थिइन् ।

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?