+
+
उम्मेदवार प्रोफाइल :

तपेन्द्र रावल : मेयरपछिको सांसद सपनामा गठबन्धन र थारू मतको चुनौती

रावलको लागि नेपाली कांग्रेसका रामजनम चौधरी पनि चुनौती हुन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नागरिक उन्मुक्ति पार्टी अगाडि छ ।

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक २९ गते १२:५४

नेकपा एमालेले टीकापुर नगरपालिकाको मेयर भइसकेका तपेन्द्र रावललाई कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा उठाएको छ । पार्टीभित्र दुई आकांक्षीलाई पछि पार्दै टिकट हात पारेका रावल पाँच वर्ष मेयर हुँदा गरेको कामको फेहरिस्तसहित चुनावी प्रचारमा छन् ।

अछाममा जन्मिएका ४९ वर्षीय रावल अनेरास्ववियुबाट राजनीतिमा आएका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर उनी त्रिभुवन विश्वविद्यालय, अछाम–काठमाडौं सम्पर्क मञ्चलगायत अनेरास्ववियुका विभिन्न कमिटीमा काम गरेर २०५६ सालपछि पार्टी राजनीतिमा सक्रिय भएका हुन् ।

टीकापुर नगर कमिटी सदस्यबाट पार्टी राजनीति गरेका रावल जिल्ला कमिटी हुँदै अहिले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य छन् ।कैलाली एमालेभित्र रावल सशस्त्रद्वन्द्वको कठिन परिस्थितिमा पनि अनवरत रूपले पार्टी गतिविधिमा संलग्न हुनेमध्येका एक नेताका रूपमा चिनिन्छन् ।

कैलाली–१ मा नेपाली कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई चुनौती दिएका छन् । २०७२ सालको टीकापुर घटनापछिको समयमा कतिपयले एमाले र रावललाई थारू र मधेश विरोधी भन्ने गरेका छन् ।

थारू आन्दोलनको क्रममा एक नबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पनि कैलाली–१ मा उम्मेदवार छिन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट रेशम चौधरी विजयी भएका थिए । उनलाई जेलमै सांसदको शपथ खुवाइएको थियो । चौधरी जेलमै रहेकाले पत्नी रञ्जिताले नागरिक उन्मुक्ति पार्टी खोलेर उम्मेदवारी दिएकी हुन् ।

रावलको लागि नेपाली कांग्रेसका रामजनम चौधरी पनि चुनौती हुन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नागरिक उन्मुक्ति पार्टी अगाडि छ ।

नागरिक उन्मुक्ति पार्टीले १७ हजार १९३, नेपाली कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ९३० र नेकपा (एकीकृत समाजवादी)ले २ हजार २३२ मत पाएका छन् ।

यो चुनावी नतिजाले एमालेका रावलको लागि कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ क्रमशः पहिलो र दोस्रो चुनौती बनेको देखाउँछ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?