+
+

एकीकृत समाजवादी : अलमलमा नेतृत्व, प्रष्ट कार्यकर्ता

राष्ट्रिय राजनीति र पार्टी कार्यदिशाबारे एकीकृत समाजवादीको नेतृत्व अलमलमा देखिदा त्यही पार्टीका जनसंगठनहरु भने वाम एकतामा जोड दिनुपर्ने निष्कर्ष सहित अरु कम्युनिष्ट पार्टीका नेताहरुलाई समेत पहल लिइदिन आग्रह गरिरहेका छन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष २९ गते १०:४८
युवा संघ नेपालका पदाधिकारीहरु घनश्याम भूसाललाई भेट्दै ।

२८ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेका घनश्याम भूसालले उक्त पार्टीका धेरै कार्यकर्ताप्रति आफ्नो दायित्व समेत रहेको तर्क गरेका छन् । त्यही दायित्व पूरा गर्न भन्दै एकीकृत समाजवादी प्रवेशको घोषणा भूसालले आजै दिउँसो बानेश्वरस्थित अर्याल होटलबाट गर्दैछन् ।

‘त्यो पार्टीमा तुलनात्मक बढी क्रान्तिकारी सोच भएका पंक्ति छ, र उनीहरुप्रति मेरो दायित्व छ’ एकीकृत समाजवादी रोज्नेबारे आफू निकटकाहरुसँग भूसालले भनेका छन् । गएको २३ असोजमा एमाले परित्याग गरेका भूसालका सामुन्ने भने एकीकृत समाजवादी भन्दा ठूलो अर्को कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र प्रवेशको अवसर थियो ।

गत आमनिर्वाचनमा आफ्नो पार्टीको कोटामा परेको रुपन्देही–१ भूसालका निम्ति माओवादी केन्द्रले छोडेकाले पनि त्यही पार्टी प्रवेश गर्ने अनुमान स्वभाविक हो । तर भूसालले भने एकीकृत समाजवादी रोजे ।

भूसालले पार्टी प्रवेशको तयारीले एकीकृत समाजवादीका कार्यकर्ता पंक्ति भने उत्साहित देखिन्छ । एकीकृत समाजवादीका जनसंगठनका नेताहरुले त चुनाव लगत्तैबाट पार्टी प्रवेशका निम्ति भूसाललाई लगातार आग्रह गरिरहेका थिए ।

२ भदौ २०७८ मा मात्रै एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीका कार्यकर्ताहरुको भूसालसँग पुरानै सम्बन्ध भएकाले पनि भूसाललाई पार्टी प्रवेशको आग्रह गर्न सजिलो भएको थियो ।

विशेषगरी एकीकृत समाजवादीका युवा र विद्यार्थी नेताहरुले निरन्तर भूसाललाई भेटिरहे । २१ पुसमा युवा संघ नेपालका पदाधिकारीको टोलीले नै भूसाललाई भेटेर पार्टी प्रवेश गर्दै वाम एकताको पहल लिइदिन आग्रह गरेका थिए । विद्यार्थीहरु नेताहरुले पनि भूसाललाई भेटेका थिए ।

भूसालले पनि तिनै कार्यकर्ता पंक्तिप्रति दायित्व रहेको तर्क गर्दै एकीकृत समाजवादी रोजे । भूसालले एकीकृत समाजवादी प्रवेश गर्नुमा अध्यक्ष माधवकुमार नेपालको निर्णय स्वभाविक रुपमा निर्णायक र अर्थपूर्ण छ । तर त्यसको वातावरण बनाउन भने युवा, विद्यार्थी लगायत जनसंगठनका कार्यकर्ता हुटहुटीले समेत बल पुग्यो ।

‘नेपाल कम्युनिष्ट आन्दोलनमा जुन समस्या देखियो, त्यसमा सुधार ल्याउनुपर्छ’ युवा संघ नेपालका अध्यक्ष नरेश शाही भन्छन्, ‘वृहत् कम्युनिष्ट आन्दोलन बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।’ युवा संघको यो टोलीले अरु कम्युनिष्टहरुलाई पनि भेटेर पार्टी प्रवेश र एकताको पहल गरिदिन आग्रह गरेका थिए ।

एकीकृत समाजवादीको शीर्ष नेतृत्व भने अझै पनि अलमलमै देखिन्छ । चुनावमा थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय दलको मान्यता पाउन नसकेको, नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट चुनाव लड्दा पनि प्रत्यक्षतर्फ १० जना मात्रै जितेको पीडा भए पनि ठोस् निर्णय लिन सकेको छैन । सरकार निर्माणकै प्रक्रियामा पनि प्रष्ट निर्णय लिन सकेन ।

भूसाललाई भेटे लगत्तै शाही नेतृत्वमा युवा संघ नेपालका पदाधिकारीले वामदेव गौतमलाई भेटेर पार्टीमा सक्रिय हुन आग्रह गरे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनपछि लगभग निष्कृय रहेका गौतमलाई अब धेरै अलमल नगर्न उनीहरुको आग्रह गरेका थिए ।

२२ असोजमा युवा संघको यो टोलीले एमालेकै नेता भीम रावलले भेटेर पार्टी एकताको पहल अगाडि बढाउन आग्रह गरे । जबकी त्यसैदिन अध्यक्ष माधव नेपालले एमालेसँग एकताको प्रश्न समेत नगर्न पत्रकारहरुलाई भनिरहेका थिए । ‘जुन गाउँमा जानु छैन, त्यसको बाटो नै नसोध्नू’ नेपालको जवाफ थियो ।

युवा जस्तै विद्यार्थी नेताहरुले पनि कम्युनिष्ट एकताको पहल लिइदिन इतर पार्टीका नेतृत्वसँग आग्रह गरिसकेका छन् । गत हप्ता माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीले पार्टी एकताकै पहल लिइदिन आग्रह गरे ।

‘हामीले एकताको पहल लिइदिनुप¥यो भनेर उहाँसँग भन्यौं’ अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली भन्छन्, ‘उहाँले माधव नेपाल र आफू एक ठाउँ हुँदा कम्युनिस्ट आन्दोलन सरल ढंगले अगाडि बढ्ने बताउनुभयो ।’

मंसिरको आमचुनावबाट अपेक्षित मत नपाएपछि एकीकृतका जनसंगठन मात्रै नभएर भूगोल कमिटीका कार्यकर्ताले पनि पार्टी एकताबारे सुझाव दिइरहेका छन् । १२ पुसमा एकीकृत समाजवादीले भर्चुअल माध्यमबाट भूगोल कमिटीको नेताहरुको सुझाव लिएको थियो । त्यसबेला धेरैजसोले एकताको सुझाव दिएका थिए ।

तर एकीकृत समाजवादीको शीर्ष नेतृत्व भने अझै पनि अलमलमै देखिन्छ । चुनावमा थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय दलको मान्यता पाउन नसकेको, नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट चुनाव लड्दा पनि प्रत्यक्षतर्फ १० जना मात्रै जितेको पीडा भए पनि ठोस् निर्णय लिन सकेको छैन । सरकार निर्माणकै प्रक्रियामा पनि प्रष्ट निर्णय लिन सकेन ।

पार्टी जन्मनु अघिबाटै नजिकको सहकार्यमा रहेको माओवादी केन्द्रले एमालेकै समर्थनमा सरकार बनाउँदा एकीकृत समाजवादी, सत्ता न प्रतिपक्षको अवस्थामा छ । २६ पुसमा विश्वासको मत दिएर वैधानिक रुपमा सत्तारुढ बनेको एकीकृत समाजवादी नेतृत्वले आफूहरु प्रतिपक्षमा रहेको स्वघोषणा गरेको छ ।

बरु, गैरकम्युनिष्ट शक्ति जनता समाजवादी पार्टी जसपासँग एकताको पहल भने अगाडि बढाएको छ । जसपासँग एकता गर्न भनेर महासचिव डा.वेदुराम भुसाल नेतृत्वमा तीन उपमहासचिवहरु गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको वार्ता टोलीलाई सक्रिय बनाएको छ ।

प्रवक्ता जगन्नाथ खतिवडा भने एकीकृत समाजवादी वृहत कम्युनिष्ट एकताकै पक्षमा रहेको तर्क गर्छन् । त्यसका निम्ति युवा र विद्यार्थीले लिएको पहलकदमीलाई सकरात्मक मान्नुपर्ने उनी बताउँछन् । ‘आफ्नो पार्टी संगठनलाई बलियो बनाउनका लागि उहाँहरुले पहल लिनु भएको होला, त्यो राम्रो नै हो,’ खतिवडा भन्छन्, ‘यद्यपि यसबारे पार्टीमा धेरै छलफल हुन पाएको छैन ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?