+
+

यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते २१:२४

२८ फागुन, काठमाडौं । यूएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै बाँकी २ खेल जितेर सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना पनि कायम राखेको छ ।

हारसँगै यूएईको भने ओडीआई स्टाटस संकटमा परेको छ । यसको फाइदा अमेरिकालाई हुनेछ ।

नेपालको घातक बलिङ

आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे ।

करण केसीलाई बेञ्चमा राखेर टिममा परेका ललित राजवंशीले पहिलो ओभरमै विकेट लिएपछि दबावमा आएको यूएईले ८ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । उसका भरपर्दा ब्याट्सम्यान रोहन मुस्तफाले आयान खानसँग मिलेर खेल्न खोजेका थिए ।

तर सन्दीप लामिछानेले मुस्तफालाई एलबीडब्लू धरापमा पार्दै २६ रनको साझेदारी तोडेपछि यूएईको विकेट गुम्ने क्रम रोकिएन र, २२.५ ओभरमा ७१ रनमा अलआउट भयो । यो एकदिवसीय क्रिकेटमा यूएईको सबभन्दा कम स्कोर हो ।

नेपालका लागि भने १७७ रनको जित ओडीआईमा यो अहिलेसम्मकै फराकिलो जित हो । २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।

यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए भने अश्वन्थ भल्थापाले १४ रन जोडे । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि ललितले सर्वाधिक ५ विकेट लिए । ७.५ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै जम्मा २० रन दिएका थिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । यसैगरी दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १/१ विकेट लिए ।

रोहितको कप्तानी पारी, गुल्सन र दीपेन्द्रको साथ

नेपालको पनि सुरुवात राम्रो थिएन । घरेलु टोलीले २२ रन जोड्दा सुरुवाती तीन विकेट (कुशल भुर्तेल, आशिफ शेख र कुशल मल्ल) गुमाइसकेको थियो । कप्तान रोहितकुमार पौडेलका अनुसार त्यो बेलामा फ्याट विकेट भएकाले बोर्डमा २२० रन राख्ने हो भने खेल जित्न सकिन्छ भन्ने लागेको थियो ।

उनी आफैंले कप्तानी पारी खेले । चौथो विकेटका लागि भीम सार्कीसँग ५४ रनको साझेदारी गरेका उनले अर्को विकेटका लागि आरिफ शेखसँग ८६ रनको अर्को महत्वपूर्ण पार्टनरसीप गरे ।

पाँचौं विकेटका रुपमा रोहित व्यक्तिगत ७७ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६२ रन थियो । त्यसपछि आएका गुल्सन झाले आक्रामक ब्याटिङ गरे । छैटौं विकेटका लागि आरिफ शेखसँग ३० रनको साझेदारी गरेका उनले सातौं विकेटका लागि दीपेन्द्र सिंह ऐरीसँग ४८ रनको साझेदारी गरे । गुल्सन ३७ रनमा आउट भए ।

त्यसपछि खातामा ८ रन थपिँदा नेपाल अन्तिम चार बल खेल्नुअघि २४८ रनमा अलआउट भयो ।

नेपालका लागि आरिफले ४३ रन जोड्दा दिपेन्द्रले १९ बलमा ३४ रन बनाएका थिए । भीम सार्कीले २९, कुशल मल्लले ९, कुशल भुर्तेलले ८ रन जोड्दा सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ रन जोडे । आशिफ शेख शून्यमै आउट भएका थिए भने नटआउट ललित राजवंशीले खाता खोल्न सकेनन् ।

चौथो स्थानमा नेपाल

लिग टूमा १२ खेल बाँकी हुँदा नेपाललाई एकदिवसीय मान्यता जोगाउन ९ खेल जित्नुपर्ने थियो । १० मध्ये ९ खेल जितेर नेपाल ३६ अंकसहित चौथो स्थानमा उक्लिएको छ र, कम्तिमा एकदिवसीय मान्यता जोगिने पक्का भएको छ ।

अब बाँकी दुई खेल (भोलि पपुवा न्यूगिनी र बिहीबार यूएईविरुद्ध)मा जित निकाले नेपाल ३९ अंक बनाएको नामिबियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिने छ र, जिम्बाब्बेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । यदि शीर्ष तीनमा पर्न सकेन भने नेपालले विश्वकप छनोटमा पुग्नै प्ले अफ खेल्नुपर्नेछ ।

हारसँगै यूएईले भने छैटौं स्थानमा रहेर लिग टू प्रतियोगिता सक्ने पक्का भएको छ । ३४ खेलबाट ३१ अंक जोडेको यूएई छैटौं स्थानमै छ । उसले अब बाँकी दुई खेल जित्यो भने ३५ अंक बनाएको अमेरिकालाई भेट्टाउने छ । तर हेड टू हेडमा अमेरिकामाथि रहेकाले यूएईको एकदिवसीय मान्यता संकटमा छ । नामिबियामा हुने विश्वकप छनोटको प्ले अफमा च्यालेन्ज लिगबाट आएका जर्सी र क्यानडाभन्दा माथि रहेमा एकदिवसीय मान्यता जोगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?