
आमाले दुलही हुँदा आफ्नो प्यारो माइतीबाट एउटा बडेमानको बलियो बाकस पनि बोकाई ल्याउनुभो। हाम्रा घरकाहरूले त्यत्रो ठूलो काठको बाकस पहिले देखेकै थिएनन्। आमा प्राय:जसो त्यही बाकसमाथि सुत्ने पनि गर्नुहुन्थ्यो। सामान तथा लत्ताकपडाहरू बाकसभित्रै राखेर त्यहीमाथि सुत्न सकिने भएकोले त्यसले नाम पायो- खटिया बाकस अर्थात् खाटबाकस।
खाटबाकस भित्र मेरा प्रिय चिजहरू सप्पै हुन्थे जस्तो कि बेलाबेला चोरी खानलाई गुलियो चिनी, मलाई ज्यादै मनपर्ने आमाको नीलो स्वेटर, मेरी बहिनी करुणाको नयाँ किताब मेरो सेरोफेरो आदित्यादि।
मैले जिन्दगीभर त्यो खाटबाकसलाई आमालाई जतिकै माया गरें। मेरो बालापनको प्रिय सम्झना हो खाटबाकस। यो कुरा राम्ररी थाहा पाएकी मेरी जीवन सँगिनीले वर्षौंपछि अचानक सोधिन्, ‘हरि ! डु यू स्टिल मिस द्याट् खाटबाकस?’
मैले भनेँ, ‘अँ..आई मिस् नि ! … तर मलाई आजकल खाट हुन नसक्ने र त्यसमाथि सुत्न नपाइने बाकसहरूदेखि एकदमै घृणा छ। जस्तो कि त्रिभुवन विमानस्थलमा दिनहुँ आउने चिसा बाकसहरू, जसभित्रका मान्छेहरू फेरि ब्युँतिएर बाकसमाथि चढ्न सक्तैनन्। मलाई मान्छेलाई सामान वा सोसरह आफूमा राख्ने बाकसहरूदेखि लास्टै घृणा छ।’
श्रीमतीले मेरो आशय बुझिन्। नमिठो मन लिएर भान्साबाट आएको सिट्ठीको सिं…सिं… आवाज पछ्याउँदै उतै बिलाइन्।
प्रतिक्रिया 4