+
+

पति कारागारमा, पत्नी सरकारमा

शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा अरु मन्त्रीहरुसँगै रञ्जिताले पनि शपथ लिइन् । लगत्तै उनी डिल्लीबजार कारागार पुगिन्, जहाँ पार्टीका संरक्षक समेत रहेका श्रीमान् रेशम चौधरी छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा छन्।

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते २१:१३
शुक्रबार मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ। तस्वीर : रत्न श्रेष्ठ/रासस

१७ चैत, काठमाडौं । राज्यको उच्च पदमा पुग्नेहरु शपथग्रहणपछि कोही शहीदका मूर्तिमा माला लगाउन पुग्छन्, कोही मन्दिर, मस्जिद इत्यादिमा आस्था जताउन पुग्छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ भने मन्त्री बन्नेबित्तिकै कैदी पति रेशम चौधरी भेट्न जेलमा पुगिन् ।

रञ्जिता आज शुक्रबार विस्तारित मन्त्रिपरिषदमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त भएकी छन् । चार सांसद भएको नाउपाले सत्ता गठबन्धनको भागबण्डामा एक मन्त्रालय पाएको थियो, जसमा रञ्जिता आफैं गइन् ।

शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा अरु मन्त्रीहरुसँगै रञ्जिताले पनि शपथ लिइन् । लगत्तै उनी डिल्लीबजार कारागार पुगिन, जहाँ पार्टीका संरक्षक समेत रहेका श्रीमान् रेशम चौधरी छन्। टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरी लामो समयदेखि डिल्लीबजार कारागारमा छन्।

फरार भएको अवस्थामा २०७४ मा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका चौधरीले पुर्पक्षका लागि थुनामै रहेको अवस्थामा शपथ लिएका थिए । तर जिल्ला अदालत, कैलालीले सुनाएको जन्मकैदको सजायलाई उच्च अदालतले सदर गरेपछि उनी संसदमा जानै पाएनन् । पुस २०७८ मा श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा नयाँ पार्टी खोले, नागरिक उन्मुक्ति पार्टी ।

रेशम चौधरी लगायतका कैदीबन्दीको रिहाइ लगायतको एजेण्डा लिएर खुलेको नाउपाले वैशाखको स्थानीय चुनावमा कैलालीका केही पालिका जित्यो भने ४ मंसिरको प्रतिनिधिसभा चुनावमा चार सिट (कैलालीका १, २ र ३ तथा बर्दिया २ मा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका लालवीर चौधरी) जित्यो ।

कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन र एमाले नेतृत्वको अर्को दुवै गठबन्धनको प्रष्ट बहुमत नभएको संसदमा चार सांसद भएको नाउपाले पनि राम्रै स्पेश पायो ।

१० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा समर्थन गर्‍यो, सरकारमा गएन । राष्ट्रपति चुनावसँगै एमालेसहितको गठबन्धन भत्कियो र कांग्रेससहितको नयाँ गठबन्धन बनेपछि भने नाउपा सरकारमै गयो ।

नाउपा सांसद गंगाराम चौधरी भन्छन्, सदनमा बोलेर मात्र हाम्रो माग मुद्दा सम्बोधन हुने देखिएन । कतिपय निर्णयहरु क्याबिनेटबाट हुने भएकाले त्यहाँ हाम्रो पहुँच होस् भनेर सरकारमा जाने निर्णय गरेका हौं ।’

१० दलको गठबन्धनमा भएको भागबण्डामा एक मन्त्रालय पाएको नाउपाले भौतिक पूर्वाधार, शहरी विकास वा भूमि व्यवस्थामध्ये एकमा दाबी गरेको थियो । दाबी गरेकै मन्त्रालय भूमि व्यवस्था पाएपछि सक्रिय राजनीतिमा आएको छोटो समयमै रञ्जिता मन्त्री भइन् । ‘सिनियर र महिला पनि भएकाले हामीले उहाँलाई नै मन्त्री बनाउने निर्णय गरेका हौं’, सांसद चौधरी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?