+
+
सुरक्षा पन्तसँग संवाद :

‘आफूलाई सुन्दर मान्ने हक समाजलाई होइन, स्वयं व्यक्तिलाई हुन्छ’

विष्णु शर्मा विष्णु शर्मा
२०७९ चैत २२ गते १७:५३

काठमाडौं । सुरक्षा पन्तको मूड प्रायः शान्त लाग्छ । तर पछिल्लो सप्ताहान्त यी अभिनेत्री केही ‘लाउड’ सुनिइन् । शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘बहाव’को धपेडीबीच उनी आफूलाई शान्त राख्ने प्रयास गरिरहेकी थिइन् । तर चित्त नबुझेको कुरा बोलिहाल्ने सुरक्षाको निजत्व हो ।

यो निजत्वले उनलाई समकालीन अभिनेत्रीमाझ वाचाल तुल्याएको छ । अनलाइनखबरसँगको गफमा सुरक्षाले घरेलु फिल्मको सोचबाट आफ्नो सौन्दर्य र आत्मविश्वास सुरक्षित छ कि छैन भन्ने कुरामा चर्चा गरिन् । उनले केही यस्ता प्रश्न नेपाली फिल्म र मनोरञ्जनवृत्तसामु तेर्साएकी छन् जसले ठूलै बहसको माग गर्छन् ।

समाजले मान्छेको शारीरिक बनोट र सौन्दर्यलाई लिएर गर्ने परिभाषाप्रति उनको असन्तुष्टि छ । समाजले घुमाइफिराइ आफू नराम्री भएको पुष्टि गर्न चाहेको भन्दै उनी आक्रोशित सुनिइन् । उनी आफूलाई सुन्दर र कन्फिडेन्ट मान्छिन् । ‘म आफूलाई कहिल्यै पनि नराम्री छु भन्ने लाग्दैन । आफ्नो स्वरुपलाई चियर्स गर्दै आइरहेको हो’ सुरक्षा भन्छिन्, ‘इमानदारीपूर्वक भन्दा मलाई आफू सुन्दर लाग्छ । म सुन्दर मान्छे हुँ जस्तो लाग्छ । तर समाजले घुमाइफिराइ तपाईं सुन्दर मान्छे होइन भनेर बारम्बार किन भनिरहेको छ भन्ने चाहिं मेरो प्रश्न छ ।’

सुरक्षा समाजको ‘आइडिया अफ ब्युटी’सँग सहमत छैनन् । आफूलाई सुन्दर मान्ने हक समाजलाई नभएर व्यक्तिलाई हुने उनको धारणा छ । भन्छिन्, ‘कुनै पनि व्यक्ति आफूमा आत्मविश्वास महसुस गरेर हिंडिरहेको छ भने बारम्बार तिमीले कन्फिडेन्ट फिल नगर, तिमीले यहाँ कन्फिडेन्ट फिल गर्ने कुनै पनि ठाउँ छैन भनेर भन्दिनु भनेको यो कुन खालको सोच हो ? मलाई कताकता यो पितृसत्तात्मक सोच पनि लाग्छ । हामी कसैलाई कोही एक हिसाबले सुन्दर लाग्छ, कोही अर्को हिसाबले सुन्दर लाग्छ । कोही व्यक्तिले आफूलाई सुन्दर मानिरहेको छ भने तिमी सुन्दर छैनौं भन्ने हक सोसाइटीलाई छैन । त्यो चिर्नको लागि म आफ्नो गतिमा बढिरहन्छु र काम गर्न चाहन्छु ।’

सुरक्षाले फिल्म उद्योगमा ‘ग्रुपिज्म’को महसुस गरेकी छन् । ‘मलाई लाग्छ, फिल्मले मलाई बिस्तारै स्वीकार गर्दैछ । विस्तारै हुँदो रहेछ यी कुराहरु । सुरुसुरुमा त अड जस्तो लाग्छ, धेरैले चासो नदिएजस्तो लाग्ने । यस्तो लुक्स भएकोलाई हिरोइन मान्ने र नभएकोलाई नमान्ने विचार पनि छ,’ उनको अनुभूति छ, ‘चरित्रमा काम गर्ने, नायक–नायिका भन्ने चलन जुन छ नि त्यसको सिकार म पनि भएको हो । के हो हिरोइन भन्या ? के हो ब्युटी भन्या ? यस्तो कुरालाई इन्डस्ट्रीले साइड लगाइरहेको हो कि भन्ने लाग्ने रहेछ ।’

गम्भीर फिल्मबाट विश्राम लिने तयारी

‘आमा’पछि सुरक्षाले गरेका प्रत्येक फिल्म गम्भीर कथावस्तु र अभिनयमा आधारित छन् । तर मूलधारका व्यावसायिक फिल्ममा सुरक्षाको उपस्थिति एकदम फितलो छ । यस्तो लाग्छ, लगातारका गम्भीर फिल्म गर्दागर्दै सुरक्षालाई ‘टाइपकास्ट’को जोखिम पनि छ । यो कुरा उनी स्वयंलाई थाहा छ र यो सबथोकलाई उनी बदल्न चाहन्छिन् । यसका लागि केही समय गम्भीर फिल्मबाट विश्राम लिने उनको तयारी छ ।

किन मेनस्ट्रिममा कम ? अप्रोच नै नभएको हो ? सुरक्षा स्पष्ट पार्छिन्, ‘मेरो रुचि नभएको पक्कै होइन । म पनि अहिलेका मूलधारे भनिने फिल्मको रुचिपूर्ण दर्शक हुँ । हेर्न जाने दर्शकमध्ये पर्छु । यस्ता फिल्मको अप्रोच आइरहेको छैन । किन आइराखेको छैन, मलाई थाहा छैन । मलाई यस्ता फिल्म गर्न मन छ ।’

उनी अगाडि भन्छिन्, ‘म आफैं कसरी प्रस्तुत भएकी छु भन्ने कुराले मसँग कस्ता प्रोजेक्ट ठोक्किन्छन् भन्ने निधो गर्दो रहेछ । आफू जस्तो भइन्छ त्यस्तै त्यस्तै प्रोजेक्ट ठोक्किंदो रहेछ । मेरो इनर्जीले तानेको हो कि सुरक्षाले यस्तै काम गर्न रुचाउँछ भनेर फिल्म अफर गर्नुभएको हो भन्ने कुराको सिकार भइरहेको छ । यसलाई ब्रेक गर्न कहिलेकाहीं भिन्न खालका फिल्ममा काम चाहिं गर्छु । ढिलोचाँडो, गम्भीरताको जुन छाप छ, त्यसलाई मेट्न चाहन्छु । यो भन्दै गर्दा मलाई कुनै पनि ग्लानि छैन ।’

यसका लागि ‘सफ्ट’ खालका फिल्ममा काम गर्ने उनको तयारी छ । ‘त्यो तयारी भनेको यस्ता खालका फिल्मबाट केही समयका लागि टाढा बस्ने हो । अफर आएपनि मैले त्यसलाई नकार्न सक्नुपर्‍यो । गम्भीर भनिने फिल्मबाट ब्रेक लिने सोच गर्दैछु,’ सुरक्षा भन्छिन्, ‘अझै पनि दुई–तीनवटा प्रोजेक्ट मेरो अगाडि आइपुगेका छन् । कुनै कुनै फिल्महरु आफूले भन्नैपर्छ भन्ने बोध चाहिं मलाई गराउँछ । मन थाम्न सक्दिनँ र गरिहाल्छु । यसलाई म यसरी पनि बुझ्छु, एउटा नायिका थियो जसले गम्भीर खालका फिल्ममा काम गरेर केही चीज भनिरहेकी थिइन् जस पाउँछु होला । त्यो हिसाबले पोजेटिभ नै छु ।’

एक्टरको व्यक्तित्वलाई चिर्न र पर्सनालिटीभन्दा विपरीत गराउन निर्माताको ठूलो हात हुने उनको अनुभव छ । तर विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलबाट फर्किएपछि इन्डस्ट्रीका मान्छेले हेर्ने दृष्टिकोण चेन्ज भएको र आफ्नो मौलिकतालाई स्वीकार गरिदिएको सुरक्षाको बुझाइ छ ।

पोलिटिकल सटायर’ फिल्म ‘बहाव’

सुरक्षा आफू अभिनित पछिल्लो फिल्म ‘बहाव’लाई राजनीतिक व्यंग्यमा आधारित फिल्म भन्न रुचाउँछिन् । ‘म यसलाई वैचारिक इन्टरटेनमेन्ट भन्न चाहन्छु । फेमिली साइकोलजिकल ड्रामा भनौं । परिवारका सबै सदस्यको विचार आ–आफ्नो हुन्छ । ती विचार एकापसमा ठोक्किंदा के हुन्छ भन्ने आइडियामा बनेको फिल्म हो’ फिल्मबारे सुरक्षा भन्छिन्, ‘हामी आफूले मनोरञ्जन दिने तरिका फरक–फरक हुन्छन् । कोही किताब पढेर पनि मनोरञ्जन लिइरहेका हुन्छन् भने कोही हाँसखेल ठट्टा गरेर पनि लिइरहेका हुन्छन् ।’

सुरक्षा समाज र राजनीतिलाई बहावमै देख्छिन् । ‘यी कुराहरु कहिलेकाहीं एकापसमा ठोक्किएका हुन्छन् । ठोक्किएर परिवर्तन उत्पन्न हुन्छन् र कहिलेकाहीं समानान्तर रुपमा हिंडिरहेका हुन्छन् । मेरो पात्रको आफ्नै गतिमा चलेको जीवनमा एउटा वेग आएको छ । उसले गर्न लागेको एउटा ठूलो कुरालाई परिवारले विचारका हिसाबले रोक्न खोजेको छ’ उनी भन्छिन्, ‘मुख्य पात्रमा म सन्ध्या रेग्मी छु । बाउ र छोरीबीचको विचार ठोक्किएको छ ।’

फिल्ममा राजनीतिलाई व्यंग्य गर्न परिवारलाई प्रयोग गरिएको उनको धारणा छ । ‘एउटै फिल्ममा बुवा, आमा, छोराछोरीले भिन्न ढंगले सोच्छन् । राजनीतिमा हुने यस्तै हो । यसले वैचारिक मतभेद ल्याउँछ । परिवारलाई उदाहरण गराएर भन्न खोजिएको कुरा हो । राजनीतिक चेत भएका व्यक्तिले पनि यसलाई हेर्नुपर्छ’ फिल्मको राजनीतिक महत्वबारे उनको तर्क छ ।

अन्तर्राष्ट्रिय फिल्म अबको योजना

गत वर्ष इटालीको फिल्म ‘एट माउन्टेन्स’को कलाकारको हैसियतमा उनले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा हिंडिन् । योसँगै कान्समा हिंड्ने र औपचारिक रुपमा सहभागी हुने पहिलो नेपाली अभिनेत्री समेत उनी बनिन् । कान्सबाट नेपाल फर्किएपछि उनलाई हेर्ने दृष्टिकोण बदलियो । सुरक्षाबारेको नयाँ खबर भनेको उनी चाँडै केही अन्तर्राष्ट्रिय प्रोजेक्ट पनि गर्ने तयारीमा छिन् ।

‘अन्तर्राष्ट्रिय भेन्चरमा ग्लोबल लेभलमा काम गर्न मन छ । केही अन्तर्राष्ट्रिय निर्मातासँग सम्पर्कमा छु । केही प्रोजेक्टमा कुरा चाहिं भइराखेको छ । चाँडै यसबारे भन्छु’, आगामी वर्ष विदेशी फिल्म गर्ने तयारीबारे उनले खुलाइन् ।

उनी अगाडि भन्छिन्, ‘आउने वर्ष केही हदसम्म ग्लोबल लेभललाई पनि टच गरौं कि भन्ने लागेको छ । नेपालमा पनि केही कलाकार हुनुहुन्छ जसलाई विश्वले छुन सकेको छैन । त्यसमा मैले केही प्रतिनिधित्व गर्न सक्छु कि भन्ने लागेको छ ।’

पेशाले इन्जिनियरिङकी विद्यार्थी हुन् सुरक्षा । ‘म विज्ञान र कलालाई समानान्तर रुपमा लिन्छु । कतिपय कुराहरु कलाबाट महसुस भइरहेको हुन्छ, जुन विज्ञानका सिद्धान्तमा भनिसकिएका हुन्छन् । मलाई कलाबाट सापेक्षताको सिद्धान्त महसुस भइरहेको हुन्थ्यो कतिपय कुरामा,’ उनको बुझाइ छ, ‘कहिलेकाहीं यता सिकेका कुराहरु इन्जिनियरिङको पढाइमा पनि अप्लाइ गर्छु । घर बनाउँदा कहाँबाट प्रक्रिया सुरु गर्ने भन्ने हुन्छ, फिल्म पनि त्यही नै हो । फिल्म बनाउनु पनि इन्जिनियरिङमा जग तयार गर्‍या जस्तै हो ।’

आउने दशकलाई लिएर केही संकल्प छन् उनका । धैर्यपूर्वक फरक खालका फिल्म गर्ने, पारिवारिक र वैवाहिक जीवनलाई अघि बढाउने सुरक्षाको योजना छ । तर उनी बितेको दशकलाई कसरी हेर्छिन् त ? ‘बितेको दशकमा राम्रो मान्छेको रुपमा ग्रो हुन पाएँ । मेरो आफ्नै पनि १० वर्ष हुन लाग्यो कलाकारको रुपमा,’ उनको स्वमूल्यांकन छ, ‘व्यक्तिगत रुपमा आफूलाई मान्छेको रुपमा ग्रो गराउन १० वर्षले भूमिका खेल्छ । त्यसपछि मान्छे हुने प्रोसेस अघि बढेको छ । कतिपय कुरामा जिज्ञासु थिएँ र छु । सोसाइटीमा केही कुरा काममार्फत गर्नुपर्छ भन्ने छ । यो कुरा १० वर्षले दिएको छ ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?