+
+

लेखा समितिमा एमालेबाट १० सांसद आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १९:४७

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सदस्यमा एमालेका १० जना सांसदले आकांक्षा राखेका छन् ।

लेखा समिति सदस्य बन्न चाहना राख्ने एमाले सांसदहरु हुन्–अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल र गोकुलप्रसाद बास्कोटा, रघुवीर महसेठ, ठाकुर गैरे, बसन्तकुमार नेम्वाङ, वासुदेव घिमिरे, राजेन्द्रकुमार राई, कृष्णगोपाल श्रेष्ठ र तारा लामा तामाङ ।

एमालेले आफ्ना सांसदहरुलाई कुन समितिको सदस्य रहने हो त्यसबारे जानकारी दिन भनेको थियो । एमाले संसदीय दलको कार्यालयका अनुसार आइतबारसम्म आफ्नो चाहनाबारे जानकारी गराइसक्न भनिएको थियो । आइतबारसम्म एमालेका १० जना सांसदले लेखा समिति सदस्य हुने आकांक्षा राखेका हुन् । तर, केही सांसदहरुले कुन समितिमा रहने चाहना हो त्यसबारे जानकारी गराइसकेका छैनन् ।

नेताहरुका अनुुसार लेखा समितिको सभापति पाउनेमा एमाले विश्वस्त छ । त्यस आधारमा सभापतिका लागि एमालेका आकांक्षीहरुबारे पनि छलफल सुरु भएको छ ।
स्रोतका अनुसार लेखा समितिको सभापतिमा मुख्यतः अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल र गोकुलप्रसाद बास्कोटाले चाहना राखेका छन् ।

मैनाली बारा १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पोखरेल मोरङ– २ र बास्कोटा काभ्रेपलाञ्चोक– २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

मैनाली आफूले लेखासहित कानुन न्याय तथा मानव अधिकार समिति र विकास तथा पूर्वाधार समिति सदस्यमा समेत चाहना राखेको बताउँछन् । उनी भन्छन्, ‘सदस्य रोज्ने हदसम्म चाहना राखेको छु । पार्टीले सभापतिकै रुपमा जिम्मेवारी दियो भने नाईं भनिँदैन । तर, त्यस हिसाबले कुनै निर्णय भइसकेको भने होइन ।’

तर, यी तीनबाहेकले पनि सभापतिको जिम्मेवारी पाउन सक्ने नेताहरु बताउँछन् । एक नेता भन्छन्, ‘अध्यक्षज्यूले केही संकेत गर्नुभएको छैन । त्यसकारण आकांक्षा राख्नेले नै सभापति पाउँछन् भनेर भन्न सकिने अवस्था रहेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?