+
+

जब अञ्जनीले विश्व च्याम्पियनसिपमा नेपाली भएको प्रमाणित गर्नुपर्‍यो

‘बक्सिङ रणनीतिक खेल हो, यसमा प्राविधिक ज्ञान उत्तिकै हुन जरुरी छ । अब जे गर्छु बक्सिङमा नै गर्छु’ अञ्जनी प्रतिबद्ध छिन्, ‘अहिलेसम्म आफ्नै पहिचानको लागि लडें अब देशको पहिचानका लागि लड्नेछु ।’

नमिता दाहाल नमिता दाहाल
२०७९ चैत २८ गते १९:०८

२८ चैत, काठमाडौं । देशको प्रतिनिधित्व गरी विश्व च्याम्पियनसिप खेल्दै गर्दा कसैले राष्ट्रियतामै प्रश्न गर्‍यो भने कस्तो होला ? खेलमा आफूलाई केन्द्रित गर्ने बेला नागरिकता र पासपोर्टको विवरण पेश गर्नुपर्ने लज्जास्पद घटनाले बक्सिङ खेलाडी अञ्जनी तेलीलाई अहिलेसम्म पनि निराश बनाउँछ ।

नेपाली बक्सिङमा उदीयमान स्टारका रुपमा अगाडि बढेकी अञ्जनीले हालै भारतको नयाँदिल्लीमा भएको आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सुरुवाती दुई बाउट (खेल) जितेर इतिहास बनाइन् । यसअघि नेपाली बक्सरले विश्व च्याम्पियनसिपमा एक खेल पनि जित्न सकेका थिएनन् ।

५२ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी २३ वर्षीया अञ्जनीले पहिलो खेलमै डोमिनिक रिपब्लिककी हर्नान्डेज गार्सिया मिगुलिनालाई ४–२ अंकका आधारमा हराइन् । उनको खेल शैली र प्रदर्शनले नयाँदिल्लीमा अन्य विपक्षीमाझ हलचल सुरु भयो ।

भारतीय टिम र मिडियाले उनको राष्ट्रियतामा प्रश्न उठाउन थाले । उनको राष्ट्रियतामा प्रश्न गरी आयोजकसँग उजुरी परेपछि सुरु भयो अञ्जनीको दुःख । नेपालबाट छनोट प्रक्रिया पार गरी विश्व च्याम्पियनसिप खेल्ने सपना पूरा गरेकी अञ्जनी क्वाटरफाइनल प्रवेशका लागि हुने दोस्रो खेलको तयारीमा थिइन् । खेलमा ध्यान केन्द्रित गर्नुपर्ने समयमा सञ्चारमाध्यमबाटै राष्ट्रियतामा प्रश्न उठ्न थालेपछि ठूलो मानसिक पीडाबाट गुज्रिनुपर्‍यो  ।

२ चैतमा पहिलो खेल जितेकी अञ्जनीविरुद्ध सञ्चारमाध्यममा भ्रामक प्रचार त्यही दिन बेलुकीदेखि सुरु भएको हो । भोलिपल्टै अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए)मा उजुरी पर्‍यो । उजुरी भारतले गरेको थियो । ४ चैतमा आईबीएका प्रतिनिधिले नेपालको टिम बसेको होटलमै आएर अञ्जनीसँग सोधपुछ गरे । सबै विवरण र कागजपत्र हेरेपछि उनीलाई क्लिन चिट (सफाइ पत्र) दिए ।

‘आईबाको मान्छेहरुले होटलमै भेटेर सबै हेरेपछि मैले क्लिन चिट पाएँ । खेलको तयारी गर्नुपर्ने बेलामा भएको अनावश्यक मानसिक दबावले मलाई अहिलेसम्म पनि नराम्रो महसुस भएको छ’, अनलाइनखबरसँगको कुराकानीमा अञ्जनीले भनिन् ।

कपिलवस्तु, शुद्धोधन गाउँपालिकाकी बासिन्दा अञ्जनीको हुर्काइ भारतको नयाँदिल्लीमै भएको हो । त्यहीं बक्सिङ सिकेकी उनले दिल्लीमा राज्यस्तरीय एक प्रतियोगितासमेत खेलेकी थिइन् । भारतमा बसेर प्रशिक्षण गरिरहेको र प्रतियोगितासमेत खेलेको भन्दै भारतीय टिमले उनको पहिचानमा प्रश्न गरेका थिए ।

आफ्नो राष्ट्रियतामै प्रश्न उठेपछिको इखले उनलाई दोस्रो खेल जित्न सहायक भूमिका खेल्यो । ६ चैतमा हाइटीकी कार्थेनी मारियालाई ५–० ले पराजित गरी उनले विश्व च्याम्पियनसिपमा आफ्नो यात्रालाई कायम राख्न सकिन् । ऐतिहासिक रुपमा क्वाटरफाइनलसम्म पुगिन् उनी ।

क्वाटरफाइनलमा अनुभवी बेलारुसी बक्सर अपनासोभिच यलियासँग पराजित भएपछि पदकको सम्भावना भने यसपल्टका लागि गुम्यो । ‘उनी धेरै अनुभवी खेलाडी थिइन् । मैले पहिलो पटक त्यति ठूलो प्लेटफर्ममा खेलेको थिएँ । मलाई अनुभवको कमी भयो,’ अञ्जनी भन्छिन् ।

पदक जित्न नसके पनि इतिहास कायम गर्न सकेकोमा अञ्जनीलाई आफ्नो प्रदर्शनप्रति गर्व छ । पहिलो सहभागिताले उनलाई ठूलो अनुभव मिलेको छ । आगामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने प्रेरणा उनले विश्व च्याम्पियनसिपबाट पाएकी छन् । उनले भनिन्, ‘ठूलो प्रतियोगिताको केही अनुभव बटुलें । आउने दिन आफूलाई प्रमाणित गर्दै जानेछु ।’

तीव्ररुपमा उकालो लागेको करिअरमा अञ्जनीले पहिचानको प्रमाण पेश गर्नुपरेको यो पहिलोपल्ट होइन । गत असोज–कात्तिकमा गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुदमा पनि उनलाई यसरी नै प्रतियोगिताको बीचमा पहिचानको प्रश्न गरिएको थियो । त्यतिबेला क्लिन चिट पाएर उनलाई विश्व च्याम्पियनसिपसम्मको यात्रामा सहज भयो ।

अञ्जनीको बक्सिङ यात्रा : नयाँदिल्लीबाट हरियाणा

विद्यालयस्तरको पढाइपछि संगीत सिकिरहेकी अञ्जनीलाई बक्सिङले आकर्षित गर्‍यो । यसको कारण सामान्य छ । घर नजिकै पार्कमा डुलिरहँदा अञ्जान व्यक्तिको प्रशिक्षण देखेपछि संगीत छाडेर बक्सिङ एकेडेमीतर्फ उनको यात्रा मोडियो ।

सन् २०१८ मा १८ वर्षको उमेरमा अञ्जनीले पहिलोपल्ट बक्सिङ ग्लोभ्स र हेलमेट लगाएकी हुन् । पाँच दाइपछि कान्छी छोरीले मारपिटको खेल रोज्दा आमाबाबु खुसी थिएनन् । कान्छा दाइकै जोडबलमा उनको प्रशिक्षण यात्रा अगाडि बढेको हो ।

‘राजेश दाइले गर्दा नै म अहिले यहाँसम्म आइपुगेकी हुँ । मेरो इच्छा पूरा गर्न उहाँले सहयोग गर्नुभयो’, अञ्जनी आफ्नो सुरुवाती समय सम्झन्छिन् ।

नयाँदिल्लीमा बक्सिङ सिकाउने राम्रो एकेडेमी नहुँदा उनलाई हरियाणा जानुपर्ने भयो । यतिबेला पनि दाइबाटै खर्च सहयोग र हौसला मिल्यो । सन् २०१९ देखि हरियाणाका राज्यस्तरीय प्रशिक्षक नवीन खोकरबाट प्रशिक्षण लिन थालिन् ।

कोरोना महामारीको समयमा हरियाणाको कुरुक्षेत्र विश्वविद्यालयमा स्नातक अध्ययनसँगै बक्सिङको प्रशिक्षण जारी राखिन् उनले । ‘मेरो वास्तविक बक्सिङ सिकाइ हरियाणामा नै भएको हो । नविन सरले नै मलाई यत्तिको सक्षम बनाउनु भएको हो’, अञ्जनीले भनिन् ।

करिब तीन वर्षको सिकाइबाट उनले व्यावसायिक बक्सरमा हुनुपर्ने गुण हासिल गरिसकेकी थिइन् । स्नातकको पढाइ पनि सकिएको थियो । नेपाली नागरिक भएकाले नेपालमै गएर राष्ट्रिय प्रतियोगिता खेल्दा भविष्य राम्रो हुने सुझाव अञ्जनीले नवीन गुरुबाटै पाएकी हुन् । नेपालमा बक्सिङ एकेडेमी खोज्दै जाँदा बक्समाण्डुका प्रशिक्षक सन्दीप श्रेष्ठसँग सम्पर्क भयो । उनले गत असोज–कात्तिकमा पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुदमा वागमती प्रदेशबाट सहभागी भइन् ।

नवौं राष्ट्रिय खेलकुदमा पहिलो परीक्षा

भारतमै हुर्केबढेकी अञ्जनी नेपालको परिवेश र भाषामा पोख्त छैनन् । नेपाली भाषा बुझ्ने भए पनि बोल्न अप्ठेरो हुन्थ्यो । पहिलोपल्ट राष्ट्रिय खेलकुद खेल्न लाग्दा उनलाई भारतीयकै आरोप लागेको थियो । उनीमाथि अनुसन्धान पनि भयो । सबै कागजात सही देखिएपछि खेल्न पाएकी थिइन् ।

बेन्टमवेट ५२ केजीमुनिकाे तौलसमूहमा एपीएफकी सन्जु थिङलाई पराजित गरी फाइनलमा पुगेकी उनी स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीकी मिनु गुरुङसँग ५–० ले पराजित रहिन् । स्वर्ण जित्न सकिनन् तर, नेपाली प्रशिक्षक र बक्सिङ परिवारमाझ एक सम्भावनायुक्त बक्सरका रुपमा आफूलाई चिनाउन सफल रहिन् ।

‘त्यसबेला म नेपाली हुँ भन्ने पहिचानको लागि नै लड्दै थिएँ । नेपाली बक्सिङबारे मलाई धेरै कम जानकारी थियो । आत्मविश्वास कम थियो, त्यसैले हारें,’ उनले भनिन् ।

महिला विश्व च्याम्पियनसिपका लागि २५ माघमा छनोट प्रतियोगिता भयो । यसपल्ट त्रिभुवन आर्मी क्लबकी वर्षा श्रेष्ठलाई ५–० अंकका आधारमा पराजित गरी उनी भारतमा हुने प्रतियोगिताका लागि छानिएकी हुन् ।

विश्व च्याम्पियनसिपमा दुई खेल जितेर आएपछि अञ्जनीले शानदार पहिचान पाएकी छन् । काठमाडौंमा अघिल्लो साता सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा ५४ केजी तौलसमूहमा स्वर्ण र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेपछि उनको राष्ट्रिय अनुभव र आत्मविश्वास माथि उक्लिँदैछ ।

विश्व च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन र घरेलु प्रतियोगिताको स्वर्णपछि उनलाई विभागीय टिमबाट अनुबन्धको अफर आउन थालेको छ । मध्यम वर्गीय परिवारमा हुर्किएकी अञ्जनीले अबको करिअर अगाडि बढाउन विभागको जागीर आवश्यक ठानेकी छन् । ‘दाइको काँधबाट खर्चको बोझ कम गर्दैछु । उहाँ मलाई नेपाल आर्मीमा भर्ना भएको देख्न चाहनुहुन्छ । नेपालमै बसेर करिअर अगाडि बढाउन चाहन्छु ।’

उनी अब एसियाड छनोट र ओलम्पिक छनोटको तयारी जुट्नेछिन् । करिअरलाई अगाडी बढाउन प्राविधिक प्रशिक्षकको जरुरी रहेको उनले महशुस गरेकी छन् ।

‘बक्सिङ रणनीतिक खेल हो, यसमा प्राविधिक ज्ञान उत्तिकै हुन जरुरी छ । अब जे गर्छु बक्सिङमा नै गर्छु,’ अञ्जनी प्रतिबद्ध छिन्, ‘अहिलेसम्म आफ्नै पहिचानको लागि लडें अब देशको पहिचानका लागि लड्नेछु ।’

तस्वीर : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?