+
+

रेशम चौधरी भन्छन्- टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ, म सघाउन तयार छु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते ८:४३

१५ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।

आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिकापुर घटनामा सहादतप्राप्त व्यक्तिका परिवारले पनि न्याय पाउनुपर्ने बताए ।

डिल्लीबजार कारागारबाट रिहा भए पछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले भने, ‘त्यो अढाइ वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ । उहाँहरुको लागि लडिदिनु हाम्रो पनि नैतिक दायित्व हो । उहाँहरुले सोचेको जस्तो यो घटना हो कि होइन, अन्तिम सत्य थाहा पाउनुपर्छ ।’

आफ्नो श्रीमान, छोरा र दाजुभाइको देहान्त कसरी भयो भन्ने थाहा पाउने चेष्टा गर्नैपर्ने बताउँदै उनले भने, ‘म पनि उहाँहरुलाई सघाउन चाहान्छु र सिंगो नागरिक उन्मुक्ति पार्टी पनि उहाँहरुलाई सघाउन चाहान्छ ।’

आफूहरु आन्दोलनकर्मी र टिकापुर घटनामा सहादतप्राप्त परिवारको वेदना एउटै भएको भन्दै उनले एकअर्काबीच अन्तरक्रिया गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘हामी आन्दोलनकर्मी र सहादतप्राप्त परिवारबीचमा पनि अन्तरक्रिया गरिनुपर्छ । उहाँहरुको आरोप हामीले सुन्नुपर्छ । हामीहरुको वेदना उहाँहरुले सुन्नुपर्छ । वेदना दुइटैको एउटै हो । कसैले कसैलाई आरोप लगाएर पन्छिन मिल्दैन । हामी सबैले वेदना साटासाट गरेर असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ ।’

पुनः उच्चस्तरीय आयोग गठनको माग

चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

टिकापुर घटनाको निरुपण सरकारले छिटो गर्नुपर्ने बताउँदै उनले भने, ‘टिकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्छ । त्यो धरातलमा रहेका नागरिकसँग सोधिनुपर्छ । टिकापुर घटनालाई आफ्नो नांगो आँखाले देखेका व्यक्तिहरुको वयान लिइनुपर्छ, जेजस्तो भए पनि यसलाई निराकरण गर्ने दायित्व राज्यकै हो । राज्यले धेरै छिटो यसको निराकरण गर्नुपर्छ ।’

चौधरीले आज माइतीघरमा कोणसभा गरेर आजै कैलाली जाने जानकारी दिए । टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका अरु पनि छिटै रिहा हुने उनले बताए । आगामी असोज ३ गते वा त्यसभन्दा अगाडि नै उनीहरुको रिहाइको पहल भइरहेको जानकारी उनले दिए ।

थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भइ आजीवन काराबासको सजाय पाएका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर सजाय माफी दिएपछि चौधरी सोमबार बिहान रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?