बेलारुसकी निर्वासित नेतृ स्वेतलाना तिखानोभ्स्कायाले बेलारुसलाई परमाणु हतियार प्रदान गर्ने रुसी कदम खतरनाक रहेको चेतावनी दिएकी छिन् ।
हालै बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले परमाणु हतियार बोक्ने मिसाइल तथा परमाणु बमको पहिलो खेप रुसबाट आफ्नो मुलुक बेलारुस आइपुगेको पुष्टि गरेका छन् ।
राष्ट्रपतिको उक्त भनाइ लगत्तै स्वेत्लानाले रुसी परमाणु हतियार बेलारुसमा एक पागल तानाशाहको हातमा दिनु खतरनाक रहेको टिप्पणी गरेकी छिन् ।
पोल्याण्डको वार्सामा बीबीसीसँग कुरा गर्दै उनले सोभियत संघको सन् १९९१ मा विघठन पश्चात् पहिलोपटक रुसबाहिर परमाणु हतियारको तैनाथीका विषयमा पश्चिमी मुलुकका नेताहरुले समेत बोल्न नसकेको आरोप लगाएकी छिन् ।
बेलारुसका निरंकुश राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले देशको एक अज्ञात स्थानमा रुसी सरकारी टेलिभिजन प्रस्तोतासँग कुराकानी गर्दै परमाणु हतियार आपूर्तिको पुष्टि गरेका हुन् ।
उक्त कुराकानीका क्रममा भिडियोको पृष्ठभूमिमा सैन्य ट्रक तथा सैन्य उपकरणहरु देखिएका छन् ।
लुकासेन्कोलाई रुसका मुख्य सहयोगीको रुपमा लिइन्छ र बेलारुसले सन् २०२२ को फेब्रुअरीबाट सुरु भएको युक्रेनविरुद्धको रुसी आक्रमणमा लन्चप्याडको भूमिका निर्वाह गरेको छ ।
किन उत्साहित छन् लुकासेन्को ?
लुकासेन्कोले युक्रेनलाई सहयोग गरिरहेका पश्चिमा मुलुकहरुलाई तर्साउने मनसायका साथ रुसी बमहरुको बखान गरेका छन् । उनका अनुसार रुसी परमाणु बम विश्वयुद्धका क्रममा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेका बमभन्दा तीन गुणा शक्तिशाली छन् ।
आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग केवल परमाणु हतियारका लागि आग्रह मात्र गरेको नभइ परमाणु हतियार फिर्ता गर्न माग नै गरेको दाबी उनको छ । बाह्य आक्रमणबाट जोगिनका लागि परमाणु हतियार आवश्यक रहेको पनि उनले बताए ।
यद्यपि उनको यस्तो दाबी मुलुकमा आफ्ना राजनीतिक विरोधीहरुलाई दबाउनका लागि अस्त्रको रुपमा प्रयोग गरिरहेको आशंका गरिएको छ ।
लुकासेन्को सन् १९९४ देखि बेलारुसको सत्तामा छन् । सन् २०२० मा भएको विवादित राष्ट्रपति चुनावमा उनले आफ्नो जित भएको दाबी गरेका थिए, जसको विरुद्धमा त्यहाँ व्यापक प्रदर्शन भएको थियो ।
प्रदर्शन दबाउनका लागि बेलारुसको केबिजी सेक्योरिटी सर्भिस तथा दंगा पुलिसले प्रदर्शनकारीमाथि बर्बर दमन गरेको थियो ।
युक्रेन तथा कजाकिस्तान जस्तै बेलारुसले पनि सन् १९९० को दशकमा सोभियत संघको विघठन पश्चात् रुस तथा पश्चिमी मुलुकहरुले सुरक्षाको ग्यारेन्टी प्रदान गरेसँगै आफ्ना परमाणु हतियारहरु रुसलाई दिएका थिए ।
त्यसैले बेलारुसमा पुनः परमाणु हतियार तैनाथ गर्ने रुसी कदम उक्त नीतिको विपरीत हुनका साथै निकै संवेदनशील घटनाक्रमको रुपमा लिइएको छ ।
बेलारुसका राष्ट्रपतिको दाबीका बाबजुत रुसी परमाणु हतियार बेलारुसमा पुर्याएको कुराको अन्य सबूत प्रमाण भने देखिएको छैन र रुसले पनि यसबारेमा बताएको छैन ।
बेलारुसलाई दिइएका हतियार कस्ता हुन् ?
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले गत मार्च महिनामा पहिलोपटक परमाणु हतियारको तैनाथीको घोषणा गरेका थिए र अमेरिकाले युरोपमा यस्ता हतियार तैनाथ गरेर राखेको जिकिर गरेका थिए ।
साथै उनले परमाणु हतियार राख्ने ठाउँ तयार भएसँगै आफ्नो मुलुकका परमाणु हतियार पनि स्थानान्तरण गरिने बताएका थिए ।
बेलारुसका राष्ट्रपति लुकासेन्कोका अनुसार बेलारुसमा परमाणु हतियार राख्ने धेरै ठाउँहहरु छन् र कतिपय पुराना ठाउँहरुको नवीकरण गरिएको छ ।
मस्कोका अनुसार मिसाइलको नियन्त्रण ऊसँगै रहनेछ । यी रणनीतिक मिसाइल भएको र लामो दूरीका रणनीतिक हतियार नभएको रुसी दाबी छ ।
लुकासेन्कोले पनि आफ्नो योजना अमेरिकासँग लड्ने नरहेको भन्दै आफ्नो मुलुकका लागि रणनीतिक हतियार नै उपयुक्त रहेको बताएका छन् । उनका अनुसार इस्कान्डर रकेटको मारक क्षमता ५ सय किलोमिटर भन्दा धेरै छ ।
निर्वासित नेतृ स्वेतनालाका अनुसार बेलारुसमा रुसी हतियार तैनाथीबाट नाटो सम्बन्ध देशहरुलाई कुनै खतरा नरहेकाले पनि उनीहरुले यसलाई गम्भीरताका साथ नलिएका हुन् ।
मिसाइलहरु रुसबाट हानियोस् वा बेलारुसबाट भन्ने कुराले पश्चिमा मुलुकहरुलाई कुनै फरक नपर्ने उनको भनाइ छ ।
रुसले आफ्नो सुदूरपश्चिम इलाकास्थित कालिनिनग्राद क्षेत्रमा परमाणु हतियारहरु तैनाथ गरेको छ जसको रेन्जमा पोल्याण्ड तथा बाल्टिक देशहरु रहेका छन् ।
स्वेत्लाना भन्छिन्-तर बेलारुस हाम्रो देश हो र हामी परमाणु हतियार चाहँदैनौं । आफ्नो स्वतन्त्रता बचाइराख्ने यो अन्तिम मौका हो । तर, पश्चिमा देशहरुले यसबारेमा मौनता साँधिरहेका छन् ।
पुटिनको योजना के छ ?
सन् २०१४ मा क्राइमिया प्रायद्वीप:लाई रुसमा बिलय गराएको र पूर्वी युक्रेनमा पृथकतावादीहरुलाई समर्थन गरेका कारण बेलारुसमा पनि पुटिनप्रति आशंका बढेको छ । पुटिन पछिल्ला २ दशकदेखि रुसको सत्तामा छन् र उनको हालको कार्यकाल सन् २०२४ सम्म रहनेछ । त्यसपछि पनि उनी सत्ताबाट हट्नेछैनन् । किनकि त्यसका लागि उनले संविधान नै परिवर्तन गर्नका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यलाई राजीनामा दिन लगाए । यद्यपि बेलारुसमा भने पुटिनप्रति आशंका बढिरहेको अवस्था छ ।
प्रतिक्रिया 4