+
+

सामाखुसीका घरहरूमा बाढी पसेपछि…(तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १५:१३

२१ साउन, काठमाडौं । शनिबार राति परेको अविरल वर्षाका कारण सामाखुशी खोलामा आएको बाढी काठमाडौंको सामाखुशी मार्ग क्षेत्रमा पसेको छ । जसका कारण सो क्षेत्र अहिले अस्तव्यस्त बनेको छ । सामाखुशीको बाढी पसेका कारण रानीबारी, रेर्डन कलेज, म्हैपी लगायत क्षेत्रका बस्ती अस्तव्यस्त बनेको स्थानीयहरु बताउँछन् ।

बाढीका कारण सामाखुशी खोलामा पानीको सहत बढ्दा वरिपरिका ढल ओभरफ्लो भई फोहोरसहितको लेदो बस्तीमा पस्दा जनजीवन प्रभावित बनेको महानगरको भनाइ छ ।

‘ठूलो पानी पर्दा नदीको सतह बढेर सामाखुशी क्षेत्रमा बाढी पसेको हो । अहिले रेर्डन कलेज छेउछाउको क्षेत्र हिलो र फोहोर सहित भरिएको छ । हामी सफा गर्दै छौं,’ महानगर नगर प्रहरी नायव उपरीक्षक पूर्ण भट्टले भने ।

महानगरले थप जनशक्ति ल्याएर सामाखुशीको बाढी पसेको क्षेत्र सफा गरिरहेको र खोलालाई गहिरो बनाइरहेको उनले बताए ।

‘यो अहिले हामीले खोलेर ढल पसेको होइन, सधैंको समस्या हो, नदीमा बहाव बढ्दा अहिलेको अवस्था आएको हो,’ भट्ट भन्छन् ।

नगर प्रहरीले नदी सतह भन्दा माथि छोपिएको कन्क्रिट ढलान र रडहरु हटाउँदै खोला पनि सफा गरिरहेको भट्टले बताए ।

‘अघिल्ला वर्षहरुमा पनि यो समस्या आउँथ्यो तर यो पटक पानी ठूला परेको र सामाखुशीमा लेदो, बालुवा जमेकोले ओभरफ्लोको कारण बस्तीमा ढल छिरेको हो,’ उनी भन्छन् ।

काठमाडौं महानगरपालिकाले सामाखुशी भित्रै डोजर प्रयोग गरेर अहिले लेदो तथा बालुवा हटाइरहेको छ ।

मेयर बालेन्द्र शाहका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्सालले नदी र ढल एकै ठाउँमा बग्दा समस्या आएको बताए ।

‘ढल र नदी एकै ठाउँमा बग्दा यस्तो समस्या देखिएको हो । नदीमा पानी मात्रै बगेको भए समस्या हुँदैन थियो । ढलमा आएको फोहोर र लेदो पनि नदीमा मिसेपछि अस्तव्यस्त हुने नै भयो,’ उनी भन्छन् । लम्सालले खोला र ढल अलग-अलग बनाउनेगरी अहिले सामाखुशी नदी माथिको संरचना हटाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?