+
+

पर्यटन बोर्डको खर्चमा भूगोलसम्बन्धी सम्मेलन, आम्दानी जापानमा जम्मा हुने

जनार्दन बराल जनार्दन बराल
२०८० भदौ ४ गते २०:२१

४ भदौ, काठमाडौं । नेपालको सांस्कृतिक र प्राकृतिक पर्यटनको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डको स्थापना भएको हो । तर, बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बोर्डको बजेट खर्च गरेर आफ्नो निजी स्वार्थको भूगोलसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको खुलेको छ ।

सीईओ रेग्मीले बोर्डको खर्चमा दोस्रो दिगो हिमाल विकास सम्मेलन (सेकेन्ड इन्टरनेशनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट कन्फरेन्स) आयोजना गर्न लागेका हुन् । यो सम्मेलन पर्यटनसँग सम्बन्धित होइन, भूगोलसम्बन्धी हो । सम्मेलनमा सहभागीहरु सबैजसो भूगोलसँग सम्बन्धित प्राध्यापक तथा अनुसन्धानकर्ताहरु छन् । सम्मेलनमा पर्यटनसँग सम्बन्धित १/२ बाहेक कुनै पनि गतिविधि हुँदैनन् । तर, आफ्नो निजी कम्पनीले अनुसन्धान गरिरहेको क्षेत्र भूगोलसम्बन्धी सम्मेलन बोर्डको खर्चमा गराउन सीईओ रेग्मी लागेका छन् ।

सम्मेलनमा जिओडाइभर्सिटी एन्ड कनेक्टिभिटी इन माउन्टेन रिभर्स, वाटर रिसोर्सेस एन्ड माउन्टेन सस्टेनेबिलिटी, हाइड्रोलोजी एन्ड वाटर रिसोर्सेस म्यानेजमेन्ट, प्रोमोटिङ सस्टेनेबल माउन्टेन डेभलपमेन्ट एमिड्स्ट क्लाइमेट चेन्ज एन्ड हाइड्रोलोजिकल च्यालेञ्जेज, माउन्टेट हाजार्ड रिस्क एन्ड एडप्टेसन्सलगायतका सेसनहरू छन् । सम्मेलनमा पर्यटनलाई जोडिएका जिओकन्जर्भेसन, जिओपार्क एन्ड जिओटुरिजम तथा इकोटुरिजम सम्बन्धी सेसन पनि डिजाइन गरिएको छ ।

सीईओ रेग्मीले यसअघि पनि बोर्डकै खर्चमा गत डिसेम्बरमा चन्द्रागिरीमा इन्टरनेशनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट कन्फरेन्स गरिसकेका छन् । असम्बन्धित विषयमा बोर्डले सम्मेलन आयोजना गरेको भन्दै ९ महिनासम्म त्यही कार्यक्रमको भुक्तानी हुन सकेको छैन ।

तर, बोर्ड सीईओ रेग्मी भने त्यही शृंखलाको दोस्रो सम्मेलन आयोजना गर्ने तयारीमा लागेका हुन् । आफूसहित पर्यटन बोर्डका कर्मचारीहरु समेतको आयोजक समिति बनाएर उनले सम्मेलन आयोजनाको अन्तिम तयारी गरिरहेका हुन् ।

सम्मेलनमा सहभागी हुन यसअघि ७ जुलाई २०२३ मा नै पर्यटन बोर्डको वेबसाइटमा सार्वजनिक आह्वान गरिएको थियो ।

तर, बोर्डको बजेट नै पारित नभई बोर्डले यति ठूलो सम्मेलनको आयोजक कसरी बन्नसक्यो भनेर पर्यटन मन्त्रालयले प्रश्न उठाएपछि वेबसाइटबाट सो सूचना हटाएका छन् । हाल त्यसका लागि छुट्टै वेबसाइट बनाइएको छ ।

साथै, सुरुको सूचनामा बोर्डको नाम आयोजकमा रहेकोमा पछि परिवर्तन गरी ‘होस्ट’ बनाएका छन् । बोर्डको वेबसाइटमा भने गत वर्ष आयोजना भएको पहिलो सम्मेलनबारेको जानकारी मात्रै राखिएको छ ।

यसपटक ६–७ अक्टोबर २०२३ मा पोखराको ग्रान्ड होटलमा सम्मेलन आयोजना हुने वेबसाइटमा उल्लेख छ । सम्मेलनको कन्भेनरमा सीईओ रेग्मीको नाम समेत छ । त्यस्तै, आयोजक समितिमा पर्यटन बोर्डका पाँच जना कर्मचारीको नाम छ ।

कार्यक्रमको आयोजकमा जापानको होकाइदो युनिभर्सिटी, युनिभर्सिटी अफ कोलोराडो, बोल्डर, जीएलपी जापान नोडल अफिस भनेर राखिएको छ । त्यस्तै, पर्यटन बोर्डसँगै पोखरा उपमहानगरपालिकालाई पनि होस्टका रुपमा राखिएको छ । जिओमोर्फिकल सोसाइटी अफ नेपाललाई सहयोगी संस्थाका रुपमा राखिएको छ ।

रेग्मीले होकाइदो विश्वविद्यालयबाट पीएचडी गरेका हुन् भने जीएलपी जापान नोडल अफिसमा पोस्ट डक्टरल रिसर्च फेलोका रुपमा काम गरेका थिए । आफैंले विगतमा पढेको र काम गरेको संस्थालाई आयोजकमा राखेर पर्यटनसँग असम्बन्धित सम्मेलनमा रेग्मीले बोर्डको पैसा खर्च गराउने योजना बनाएका छन् ।

विभिन्न क्षेत्रका यस्ता सम्मेलन आयोजना हुँदा पर्यटन बोर्डले सहजीकरण गर्ने गरेकोमा असम्बन्धित विषयमा यति ठूलो सम्मेलन आफ्नै खर्चमा गर्नु अचम्मलाग्दो विषय भएको बोर्डकै एक उच्च अधिकारी बताउँछन् ।

‘यस्ता सम्मेलनमा कोही सेलिब्रिटीलाई बाहिरबाट ल्याउनुपर्‍यो, सम्मेलनको कुनै भागमा सहयोग गर्नुपर्‍यो भने त्यसो गर्ने प्रचलन छ, तर पर्यटनसँग कुनै सम्बन्ध नभएको सम्मेलन आफैं आयोजना गरेर सरकारी पैसा दुरुपयोग भएको भने थिएन,’ उनले भने ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी भने नेपालको हिमाल जोगाउनुपर्ने दायित्व बोर्डको पनि भएकाले यस्तो सम्मेलन आयोजना भएको दाबी गर्छन् । ‘हरेक वर्ष हिउँ पहिरोबाट हिमाल आरोहीको मृत्यु भइरहेको छ, हालै कागबेनी खोलामा बाढी आएर वस्ती नै बगायो, यस्तो किन हुन्छ भनेर पत्ता लगाउनुपर्‍यो नि ?,’ उनले भने । तर, त्यस्तो काम गर्ने विशेषज्ञता र जिम्मेवारी जलवायु वा भूगर्भसँग काम गरिरहेका संस्थाको हुनुपर्ने हो नि भन्ने प्रश्नमा उनले पर्यटन बोर्डले पनि यो काम गर्नुपर्ने स्पष्टीकरण दिए ।

माइस टुरिजमलाई प्रवर्द्धन गर्न पनि सम्मेलन आयोजना गरिएको उनको दाबी छ ।

खर्च बोर्डले गर्ने, रजिष्ट्रेसनको शुल्क चाहिँ जापानमा जम्मा हुने

भूगोलसम्बन्धी यो सम्मेलन पर्यटन बोर्डकै खर्चमा आयोजना हुँदै छ । तर, सम्मेलनमा सहभागी हुने अन्तर्राष्ट्रिय सहभागीहरुसँग वर्गअनुसार अधिकतम् १ सय ८० डलरसम्म उठाइएको छ ।
सामान्य विदेशीहरुले सहभागीले १ सय ८० तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, विदेशी विद्यार्थी र पोस्टडक्टरलहरुले सम्मेलनमा सहभागी हुन १ सय ३० डलर तिर्नुपर्ने छ भने सार्क मुलुकका नागरिकलाई भने ५० डलर तोकिएको छ ।

रजिष्ट्रेसनसम्बन्धी काम गर्नका लागि पर्यटन बोर्डले एक जना कर्मचारी नै तोकेको छ । तर, सम्मेलनको साइटमा गएर रजिष्ट्रेसन गर्न खोज्दा त्यो जीएलपी एसिया कन्फरेन्सको साइटमा जोडिन्छ । यी दुवै साइटहरु जापानमा दर्ता छन् । यी दुवैमा यो सम्मेलनबाहेक अन्य कुनै पनि जानकारी राखिएको छैन । त्यसो हुँदा यी दुवै साइटहरु यही सम्मेलनबारे जानकारी दिन र पैसा उठाउन बनाइएको स्पष्ट हुन्छ । यसरी सहभागीले गर्ने पैसा जापानमा जम्मा गरिने चाँजोपाँजो रेग्मीले मिलाएको देखिन्छ ।

तामझामका साथ आयोजना गर्न जापानमा पैसा उठाइएको सम्मेलनको लागि कार्यपत्रको सारांश पठाउने इमेल भने मोतीलाल घिमिरेको निजी इमेल दिइएको छ । त्रिभुवन विश्वविद्यालयको भूगोल विभागका सहप्राध्यापक घिमिरे सीईओ रेग्मीका नजिकका व्यक्ति हुन् ।

पहिलो सम्मेलनकै २० लाख भुक्तानी भएन

बोर्डले २०७९ मंसिर १५ देखि १७ मा काठमाडौंको चन्द्रागिरिमा पहिलो सम्मेलन गरेको थियो । सो सम्मेलनमा पर्यटन बोर्डले २० लाख रुपैयाँ खर्च गरेको थियो ।

पर्यटन बोर्डको मुख्य कार्य क्षेत्रभन्दा बाहिर गएर त्यो कार्यक्रम गरिएको भन्दै त्यो सम्मेलनका बारेमा विरोध भएको थियो । विवादका कारण सो सम्मेलनको भुक्तानी पनि हालसम्म हुन सकेको छैन । नौ महिनाअघि भएको सम्मेलनको भुक्तानी हालसम्म पनि नभएको विषयमा सोध्दा बोर्डका सीईओ धनञ्जय रेग्मीले त्यस विषयमा लेखा शाखासँग बुझ्नु भन्ने जवाफ दिए ।

 

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?