+
+

यसै महिना भेट्दैछन् किम र पुटिन, कस्तो होला सहकार्य ?

पुटिन र किमबीचको सैन्य सहकार्य कुन हदसम्म जानसक्ला अहिले नै भन्न सकिने अवस्था छैन । तर उनीहरु बीचको सहकार्यले दक्षिण कोरिया र अमेरिकालाई चिढ्याउने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १२:५८

२० भदौ, एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनले भेटवार्ताको तयारी गरेका छन् । उनीहरुबीच यसै महिना भेटवार्ताको तयारी भएको हो । अमेरिकासँग पृथक रुपमा मुठभेडमा रहेका यी दुई मुलुकका नेताले आपसी सहकार्यका लागि वार्ता अघि बढाउने भएका हुन् ।

भेटमा उत्तरकोरियाले खाद्यान्न तथा ऊर्जाबारे सहकार्यको प्रस्ताव राख्ने तयारी गरेको छ भने रुसले उत्तर कोरियासँग हतियार खरिदको तयारी गरेको छ । खाद्यान्नको बदलामा उत्तरकोरियाले अत्याधुनिक हतियार रुसलाई उपलब्ध गराउन सक्ने बताइएको छ ।

दुई नेताबीचको भेट मस्कोमै हुनेछ । सन् २०२० यता किम जोन उन पहिलोपटक विदेश जान लागेका हुन् । सन् २०१९ मा पुटिन र किमबीच भेट भएको थियो ।

रुसले उत्तर कोरियाबाट के चाहेको छ ?

रुसले युक्रेनमा हमला गरेसँगै उत्तर कोरियाले रुसलाई हातहतियार उपलब्ध गराएको आशंका भइरहेको छ । रूसका रक्षामन्त्री सर्गेइ सोइजु गत जुलाईमा पोङयाङ पुगेर उत्तरकोरियासँग थप हतियार माग गरेको अमेरिकी जासुसी निकायको जिकिर छ ।

हाल पश्चिमा र त्यसका समर्थक राष्ट्रहरुबाट प्रतिबन्ध व्यहोरेकाले युद्ध लड्नका लागि रुसले उत्तर कोरिया र इरानसँग हात अघि बढाइरहेको छ ।

रुसलाई हतियार अत्यावश्यक भएकै कारण रक्षामन्त्री सोइजु उत्तरकोरिया पुगेको सिओलस्थित कोरियाली राष्ट्रिय एकीकरण संस्थानका पूर्व प्रमुख कीम तवले बताए । ‘अहिले रुसलाई हतियार अत्यावश्यक छ । त्यसैले रक्षामन्त्री सोइजु त्यहाँ पुगेका हुन् । अन्यथा शक्तिशाली रुसलाई सानो राष्ट्र उत्तर कोरियाको भ्रमणकै जरुरी किन पर्थ्यो र ?’ उनको भनाइ छ ।

उनका अनुसार सन् १९९१ मा सोभियत युनियनको पतनपछि  उत्तरकोरिया भ्रमण गर्ने रुसका पहिलो रक्षामन्त्री सोइजु नै हुन् । रक्षा मामिला विश्लेषक पाभेल फेलुन्गरका अनुसार उत्तर कोरिया रुसलाई उसको माग अनुसार हतियार उपलब्ध गराउनका लागि सक्षम छ । ‘उत्तर कोरियासँग रुसी सेना अभ्यस्त रहेका हतियारहरु छन् । त्यसैले लडाइँको अग्रपंक्तिमा खटिने रुसी सैनिकका लागि अत्यावश्यक हतियार उसले मात्रै दिनसक्छ र त्यसका लागि उत्तर कोरिया सक्षम छ ।

यता उत्तर कोरियाबाट हतियार खरिद गर्ने विषय भने संयुक्त राष्ट्रसंघको सन्धि विपरीत हुनेछ । यस सन्धिमा रुसले समेत समर्थन जनाएको थियो । जसमा भनिएको छ, ‘सबै अन्तर्राष्ट्रिय निकायबाट एक्लिएको राष्ट्रसँग हतियार खरिद प्रतिबन्ध हुनेछ ।’

हाल रुसले पश्चिमा र त्यसका समर्थक राष्ट्रहरुबाट प्रतिबन्ध व्यहोरेकाले युद्ध लड्नका लागि रुसले उत्तर कोरिया र इरानसँग हात अघि बढाइरहेको छ । नीन अध्ययन सम्बन्धी संस्था असानमा कार्यरत विश्लेषक चा दो ह्युङ रुसलाई ठूलो परिमाणमा हतियार उपलब्ध गराउन उत्तर कोरियालाई कठिन रहेको बताउँछन् । ‘रेलवेमार्फत दुई राष्ट्र जोडिने भएकाले ठूलो परिमाणमा हतियार  पठाउनका लागि कठिन नै छ,’ उनले भने ।

रुसबाट के चाहन्छन् किम ?

विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोन उनले त्यहाँबाट सैन्य प्रविधिमा सहायताको अपेका राखेका छन् । ‘पुटिन र किमबीच सहकार्य भएमा दुबै पक्ष जितको स्थितिमा हुने छन् ।

पुटिन र उत्तर कोरिया दुबैलाई पश्चिमा समर्थकहरुले एक्ल्याएका छन् । किम उत्तर कोरिया–अमेरिका र जापानबीचको त्रिपक्षीय सहकार्यका कारण दबाबमा छन् । पुटिनमाथि पनि निकै दबाब छ । यस्तो अवस्थामा उनीहरुको मिलनको आवश्यकता पूर्ण मेल खान्छन् ।’

कोरोना महामारीपछि सीमाहरु बन्द हुँदा उत्तर कोरियाले निकै नै आर्थिक संकट सामना गरेको थियो । त्यसलाई पूर्ति गर्ने हिसाबले किमले रुससँग खाद्यान्न, ऊर्जा तथा अन्य आवश्यकताबारे सहकार्य गर्ने विज्ञहरुको भनाइ छ । उत्तर कोरियाबारेका अध्ययेता बोङ योङसक भन्छन्, ‘हतियार तथा प्रविधि आदानप्रदानका लागि शिखर बैठकको आवश्यकता यी दुई मुलुकले महसुस गरेरै बैठक राखिएको छ ।’

बोङका अनुसार उत्तर कोरिया र रुसबीच खाद्यान्नको बदलामा हतियार र प्रविधिको सम्झौता हुनेछ । यता किमले मस्कोसँग सम्बन्ध विस्तार गर्दै वर्षौं देखि एक्लिएको अवस्थालाई चिर्न खोजिरहेका छन् । किमले उच्च प्रविधियुक्त हतियार निर्माणका लागि रूससँग सहयोग माग्न सक्ने विज्ञहरु बताउँछन् ।

लामो दुरीको क्षेप्यास्त्र, हाइपरसोनिक ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार सहितको पनडुब्बी निर्माणका लागि उसले रुससँग प्राविधिक सहायता माग्न सक्ने विश्लेषक होङ मिन बताउँछन् । तर आफ्नो निकट साझेदार चीनलाई समेत नखुलाएको प्रविधि रुसले उत्तर कोरियालाई दिनका लागि कठिन नै रहेको उनी बताउँछन् । रुसले आफ्ना अत्याधुनिक हतियारका प्रविधिको रक्षा निकै लामो समयदेखि गरिरहेको छ ।

दुई राष्ट्रबीचको निकट सहकार्य कस्तो होला ?

पुटिन र किमबीचको सैन्य सहकार्य कुन हदसम्म जानसक्ला अहिले नै भन्न सकिने अवस्था छैन । तर उनीहरु बीचको सहकार्यले दक्षिण कोरिया र अमेरिकालाई चिढ्याउने छ ।

रुसले युक्रेन कब्जाका लागि अझै आक्रामक आक्रमणको तयारी गरिरहेका बखत उत्तर कोरियाले पनि क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको अवस्था छ । रुसका रक्षामन्त्री सोइजुले उत्तर कोरिया र रुसबीच संयुक्त सैन्य अभ्यास हुने बताएका छन् । यसअघि सोइजुले नै चीन समेतको संलग्नतामा त्रिपक्षीय सैन्य अभ्यासको प्रस्ताव गरेका थिए ।

सैन्य अभ्यास भएमा कोरियाली युद्धपछि उत्तर कोरियाको पहिलो संयुक्त अभ्यास हुनेछ । आफैँ सक्षम हुने भन्दै उत्तर कोरियाले संयुक्त सैन्य अभ्यास नगर्ने घोषणा गरेको थियो । रक्षा मामिला जानकार फेलुन्गर भन्छन्, ‘अहिलेको अवस्थामा मस्को र पोङ्याङको सम्बन्ध फुल्दैछ । अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेका दुबै पक्षले एक अर्कालाई सहकार्यको प्रस्ताव राखेका छन् । उनीहरुको गठजोड प्राकृतिक पनि देखिन्छ ।’

किमको कूटनीति अमेरिकाको अवज्ञा रहेको र रूसको पनि स्थिति त्यस्तै रहेकाले दुई मुलुकबीच सहकार्यको संभावना अधिक रहेको प्राध्यापक पार्क उन गोन बताउँछिन् । ‘रुस र उत्तर कोरिया दुबै अमेरकालाई आफूहरुले अवज्ञा गर्ने देखाउन चाहन्छन् । अमेरिकालाई देखाउनका लागि भए पनि दुई मुलुकबीच केही न केही सहकार्य पक्कै हुनेछ,’ उनले भनिन् ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?