+
+

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते २०:५०

६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो कुराकानी भएको थियो ।

वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । उनीहरुबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ ।

भेटका क्रममा राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदभावविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाइमा पुग्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका थिए ।

उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने धारणा राखेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गरेका थिए ।

राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एशियाबाट पहिलो नेताका रुपमा चीनमा स्वागत गरेको स्मरण गरे । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्वन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताएका थिए ।

एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । त्यस्तै उनले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्नेछन् ।

तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?