
२२ मंसिर, पोखरा । मध्यपहाडी लोकमार्गको संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई बिहीबार पोखरा महानगरपालिका–२५ मिलनचोकमा नेता कार्यकर्ताले स्वागत गरे । मिलन चोकमा उभिएर ओलीले हेम्जाको जस्तो भाइरल तथा सेल्फी सडक एमालेकै नेतृत्वमा देशभर बनेको सुनाए ।
पोखरा–१६ चमेरे गुफा वरपरका बासिन्दालाई पनि ओलीलाई स्वागत गर्ने, आफ्ना हैरानी सुनाउने र ओलीलाई सुन्ने चाहना थियो । किनकी उनीहरु मध्यपहाडी लोकमार्गको अर्मलाकोट, कालीखोला पुल, महेन्द्रगुफा, चमेरे गुफा, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै यम्दी पुलसम्मको रेखांकनप्रति सन्तुष्ट छैनन् ।
झण्डै दुई वर्षदेखि आन्दोलन गरिरहेका करिब ५०० घर परिवार ओलीलाई भेटेर आफ्नो असन्तुष्टि सुनाउन चाहन्थे ।
किनकी २०७७ फागुनमा ओली नेतृत्वकै मन्त्रिपरिषद्ले भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको बाटोको रेखांकन पारित गरेको थियो । ३५ दशमलव ५ किलोमिटर खण्ड निर्माणको ठेक्का स्वच्छन्द एपेक्स जेभीले ३ अर्ब ४२ करोड रुपैयाँमा ३ वर्ष (२०८२) भित्र काम सक्ने गरी पाएको छ ।
तर पूर्वप्रधानमन्त्री ओली मध्यपहाडी लोकमार्ग यात्राका क्रममा विवादित क्षेत्र छलेर पोखराको सहर–सहरबाट रुपा गाउँपालिका हुँदै लमजुङ छिरेका छन् ।
मध्यपहाडी लोकमार्ग हुँदै यात्रा थालेका ओलीले आफ्नो समस्या सुन्लान् र राजनीतिक निकास खोज्लान् भनेर गरेको आशा निराशामा बदलिएको स्थानीय गोविन्द बस्नेत बताउँछन् ।
‘वडादेखि महानगर र विभिन्न पार्टीसँग स्थानीय तथा प्रदेशसम्म कुरा राखेकै हौं । एमालेकै नेताहरु पनि भएकाले ओलीसँग भेटाउलान् भन्ने पनि थियो’, संघर्ष समितिका अध्यक्ष समेत रहेका बस्नेत भन्छन् ‘तर उहाँले विवादित खण्डका नागरिकलाई बेवास्ता गर्नुभयो ।’
उनका अनुसार ओलीलाई भेट्ने र आफ्ना कुरा राख्ने अवसर मिलाइदिन जिल्लाका एमाले नेताहरुलाई आग्रह गरिएको थियो । वडा नम्बर १६ कै पूर्ववडाध्यक्ष जीवन आचार्यले संघर्ष समितिका पदाधिकारीलाई राति १० बजे ओलीसँग भेट्न बोलाए ।
‘हाम्रो क्षेत्रमा नआए पनि ओली बसेकै होटलमा पुगेपछि त हाम्रा समस्या सुन्नुहोला । मध्यपहाडीको रेखांकन किन फेर्नुपर्छ भनेर कुरा राखौंला भन्ने थियो’, संघर्ष समितिका अध्यक्ष बस्नेत भन्छन्, ‘तर ल छिटो छिटो ज्ञापन पत्र बुझाएर जानुस् भनियो । केपी ओलीले पनि हाम्रा समस्याप्रति कुनै चासो देखाउनुभएन ।’
याम्दीबाट लोकमार्ग छोडेर पोखरा हुँदै गएका ओली शुक्रबार लमजुङमा मध्यपहाडीमा जोडिएका छन् ।
के चाहन्छन् स्थानीय ?
मध्यपहाडीको अर्मलादेखि याम्दीसम्म १२ किलोमिटर छ । कास्कीको यो खण्डबाहेक अन्य ठाउँमा भने काम भइरहेको छ । तर यहाँ भने स्थानीयबासी आन्दोलनमा छन् ।
‘विकास भइसकेको बस्तीमा फेरि लोकमार्ग ल्याएर हाम्रो घरबास उठाउन लागिएको छ’ टेन्डर खुलेपछि मात्र बस्तीमा लोकमार्ग बन्न लागेको थाहा पाएको भन्दै स्थानीय हेमा खवास भन्छिन्, ‘१२÷१५ महिना भइसक्यो हामीले आन्दोलन गरिरहेका छौंं । ’
अर्मलाकोट–याम्दीसम्मको रेखांकनले महेन्द्रगुफा, चमेरेगुफा र पुरानो बजार, पर्यटकीय सम्पदा तथा व्यक्तिका भौतिक संरचनामा दूरगामी असर पर्ने स्थानीयबासी बताउँछन् ।
पोखरा महानगरले ३÷४ वर्ष अगाडि ठूला गाडी समेत गुडाउन नदिएको र २०० मिटरभित्र संरचना बनाउन नपाइने नियम बनाएको ठाउँमा लोकमार्ग ल्याउनु गलत हुने गुफा संरक्षण समितिका संयोजक अनिल बस्नेत बताउँछन् । ‘यो ठाउँमा भ्वाङ नै भ्वाङ छ । ठूला गाडी हिँड्ने बेलामा यहीँ पनि अलि पहिले भासिएको थियो’, उनले भने, ‘लोकमार्ग बनाएपछि धेरैको उठीबास हुन्छ ।’
विकल्प खोज्न माग गर्दै विभिन्न समयमा वडादेखि पोखरा महानगरसम्म तालाबन्दी गरेका छन् । ‘यो राजमार्ग वस्तीमा हामीलाई झुक्याएर ल्याइएको हो । हामीसँग कुनै छलफल र समन्वय छैन’ प्रभावित क्षेत्रका बासिन्दा बसन्तबहादुर बस्नेतले भने, ‘हामी राजमार्गको विरोधी होइनौं, सत्यतथ्य बुझिदिन अनुरोध गर्दछु ।’
स्थानीयको आन्दोलनका कारण काम प्रभावित भएपछि २७ कात्तिकमा संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै संलग्नतामा छलफल भएको थियो । त्यो छलफलले प्रदेश सांसद विन्दुकुमार थापाको संयोजकत्वमा समिति बनाएको छ ।
यो खण्डको प्रमुख इन्जिनियर कल्पना अधिकारी भने फेरि रेंखाकन गर्दा आयोजना ढिला हुने भएकाले यो क्षेत्रमा ४ लेनको साटो २ लेनको सडक बनाउने विकल्पबारे छलफल भएको बताउँछिन् ।
‘उच्चस्तरीय छलफल हुँदा ४ लेन गर्दा धेरै क्षति हुन्छ भने २ लेनमा गर्न सबै जसो दल सहमत देखिन्छ’, अधिकारीले भनिन् ।
मध्यपहाडी लोकमार्गको विवादित क्षेत्रका वासिन्दा के भन्छन् हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4