+
+

खप्नै नसक्ने ट्रेजेडी

त्यही पुस्तक पारिजातले देख्न पाइनन् । यस स्थितिलाई बारबराले कसरी लिएकी छन्, यस पंक्तिकारले कहिल्यै सोध्ने आँट गरिनँ । पारिजातले खुदैले हेर्न पाएकी भए ? खप्नै नसक्ने ट्रेजेडी जस्तो भान हुन्छ मलाई ।

सुकन्या वाइबा सुकन्या वाइबा
२०८० मंसिर २८ गते १७:४१

विद्वत् वर्गमा आफ्नो नाम दरिइसकेकी एक लेखिकालाई आफ्नो देशको महत्वपूर्ण तथ्य समेत थाहा नहुनु, उही पनि एक विदेशीको माध्यमबाट तथ्य थाहा हुनु ! यो उत्सुकताको विषय मात्र नभएर लाज मान्नुपर्ने विषय थियो । उत्सुकताको विषय हो : साँच्चै, कुन महत्वपूर्ण तथ्य हो त्यो ? कुन सन्दर्भ हो ?

तर शरीरले अशक्त लेखिकाले असीम आश्चर्य र सन्तोष प्रकट गर्दै विदेशी शैलानीको हात समातेको दृश्य यस पंक्तिकारका आँखाबाट लुकेन । अब त्यसको सन्दर्भ–कथा कोट्याऊँ है !

सन्दर्भ चार दशकपूर्व, लगभग ४२ वर्षअघिको हुनुपर्छ । शहरको मुटु खिचापोखरीमा अवस्थित पानोरमा होटलमा विदेशी शैलानीहरू प्रायशः बास बस्ने गर्थे । पानोरमाको अर्थ हो– चारैतिरका दृश्य सहजपूर्वक अवलोकन गर्न सक्ने स्थान ।

नभन्दै ठाउँ थियो पनि त्यस्तै । काठमाडौंमा आजका दिनमा जस्तो चारतारे र पाँचतारे होटलको बिगबिगी थिएन । आजभोलिको जस्तो गगनचुम्बी भवनहरूको निर्माण भइसकेको थिएन । अहिलेको परिवेशमा यी गगनचुम्बी भवनले छर्लंग देखिने हिमालका शृङ्खला मात्र होइन, नीला आकाश समेत छेलिदिन लागिसके ।

मेरा ठूल्दाइका छोराहरू त्यही पानोरमा होटलमा कार्यरत थिए । भनौं, काम सिक्दै थिए । त्यही अनुपातमा लेखिका बस्ने बासस्थान र एरिया पनि कहाँ विकसित भइसकेको थियो र ? ४२ सालपूर्व थियो चारैतर्फ खेतैखेत । यही खेतमाझ उभिएको आकारमा अलि ठूलो जस्ताले छाएको छाप्रो थियो ।

पानोरमा होटलमा काम गर्ने ठूल्दाइको टिन एजर छोरा सागर लामा एक मध्याह्न एक विदेशी महिलालाई साथमा लिएर त्यही छाप्रोतिर आए । खेतै खेतका हिलाम्मे गोरेटो बाटो हुँदै घरभित्र पसे र सोझै लेखिकाको कोठातिर हान्निए ।

को थिइन् ती लेखिका ? को थिइन् ती विदेशी महिला ? ती लेखिका थिइन् पारिजात । विदेशी महिला थिइन् बारबरा निमरी अजिज ।

यो थियो उनीहरूको प्रथम भेट । त्यस प्रथम भेटमा यस पंक्तिकारले अझसम्म बिर्सन नसकेको एक अपूर्व घटना भयो । घटना के भनौं, त्यो त बारबराको सन्देशले ल्याएको तरङ्गको जोडदार असर थियो । सन्देश सुन्नासाथ बारबराको हात समातेर दिदी पारिजातले अनौठो भाव प्रकट गरिन् । त्यो आशातीत खुसी र आश्चर्य एकैचोटि आइपर्दा प्रकट हुने अनुभूतिको अनियन्त्रित अभिव्यक्ति थियो । त्यो खासमा ‘एक्सट्यासी’ (हर्षाेन्माद) थियो कि ?

बारबराको सन्देश थियो– शक्तिमाई योगमायाको विषयमा ।

सुकन्या वाइबा

भेट पश्चात् पारिजात दिदीको मुखारविन्दबाट पोखिए यी उद्गार । उनकै अक्षरमाः ‘नेपाली सन्यासी जीवनमाथि तिमीले गरिरहेको शोध कार्यको निम्ति गएको बेला अरुण नदीको गढतीरमा तिम्रो गाइडले कुन प्रसंगमा हो कुन्नि मेरो नाम तिमीलाई बताइदिएछन् र काठमाडौं आउनासाथ तिमी मलाई भेट्न आयौ ।’

‘अँ त हाम्रो पहिलो भेटमा तिमीले दिङ्लाकी माई योगमायाको विषयमा भनेकी थियौ, जो एक आशुकवि पनि थिइन् । उनको बारेमा तिमीले भन्दा मलाई लागेको थियो, तिमी एउटा दन्त्यकथा सुनाइरहेकी छ्यौ । मैले पहिले विश्वास नै गरिनँ । कारण मैले उनको नाउँ पुराना साहित्यिक चर्चामा कहिल्यै सुनेकी थिइनँ । झन् उनका चेलाहरूमाथि परेको उनको प्रभाव, तिनताकको राणाहरूको सामन्ती सरकारलाई दिइएको उनको चुनौती, सत्य धर्मतिर नलागे आत्मदाहको धम्की र आखिर यो युग बाँच्न लायक छैन भनी झन्डै साठी–सत्तरी जना जति चेला समेतलाई पछि लगाई लिएको जलसमाधिको कुरा तिम्रो मुखबाट सुन्दा त म अवाक् भएकी थिएँ । आफ्नै देशको यस्तो महत्वपूर्ण कुरा पनि तिमीलाई कसो थाहा नभएको भन्दा मैले लाजको अनुभव गरें, तर बारबरा म जस्तै धेरैलाई यो कुरा थाहा रहेनछ ।’

त्यसपश्चात् योगमायाको सन्दर्भबाट सुरु भएको, लेखिकाको निधनपर्यन्त टिकेको अनि हालसम्म पनि प्रगाढ माया र मित्रताको इतिहास बनेर जीवित रहेको छ उनीहरूको सम्बन्ध । म त उनीहरूलाई छुट्याएर हेर्ने कल्पना समेत गर्न सक्तिनँ ।

बारबरा भन्ने गर्थिन्, शोधको सिलसिलामा अरुण नदीको आसपास उनले अति सुमधुर स्वरले मन छुने भजन सुनिन् । खोजी गर्दै जाँदा कुटीमा भक्तिनीहरूको दर्शन भयो । योगमायाले जलसमाधि लिएको ठाउँ समेत उनको क्यामरामा कैद भयो ।

प्रथम भेटपश्चात् उनी अमेरिका फर्किइन् । जोडियो बारबराको शोध गर्ने अठोट र पारिजातको सहयोग गर्ने उत्सुकता । प्रारम्भ भयो शोध कार्यले गति लिन । योगमायाका तीस वटा जति पद्यांश म्हयपि आइपुगे । त्यसपश्चात् पद्यांशहरूको चयन पारिजातद्वारा भयो, ‘योगवाणी’को रूपमा । यस चयनमा पारिजातलाई अति सन्तुष्टि प्राप्त भयो । कारण– योगमायाले व्यक्त गरेका कुरा आजका पनि समस्या हुन् ।

दोस्रो पटक आउँदा बारबराले योगवाणीको एउटा जेरोक्स कपी ल्याएर पारिजातलाई दिएकी थिइन् । त्यस बखत उनी हाम्रो घरमा केही दिन बसिन् । कामलाई शीघ्रता दिने क्रममा भोजपुर जाने कार्यक्रम समेत बन्यो । यसमा भाइद्वय मुरारी अर्याल र उत्तम पन्तसँगै बिन्ती सुब्बाको सहयोग उल्लेख नगरी रहन सकिन्न ।

विधिको विधान, बारबरा अमेरिकामा यस शोध कार्यमा दत्तचित्त भएर लाग्दा उनकी मित्र पारिजातले कहिल्यै नफर्किने बाटो समातिन् । उनले केवल ‘योगवाणी र योगमायामाथि चलिरहेको तिम्रो शोध कार्य सिद्घियो होला’ भन्ने उद्गार मात्र व्यक्त गर्न भ्याइन् । मलाई अनुभव हुन्छ, पारिजातले कति व्यग्रताका साथ उक्त उत्सुकता व्यक्त गरेकी थिइन् होला !

तिनको शोधले आकार लिएको त्यो पुस्तक पारिजातप्रति प्रस्फुटित माया र श्रद्धाको उपहार नै उपहारले सुसज्जित छ । भन्नुको तात्पर्य, यस पंक्तिकारको मुटु चिरेर आउँछ, जब उनका आँखाले भक्ति योगमायाको मात्र होइन, पारिजातको ‘मृत्यु’ नामक कविताको अन्तिम पंक्ति समेत समावेश गरिएको देख्छिन् । जब पारिजातसँगको भेट, उनको परिचय मात्र होइन, साथै खिचिएका उनीहरूका तस्बिर–शुद्घ पुस्तकको अन्तिम कभरपेजमा राखेकी देख्छिन् ।

र, त्यही पुस्तक पारिजातले देख्न पाइनन् । यस स्थितिलाई बारबराले कसरी लिएकी छन्, यस पंक्तिकारले कहिल्यै सोध्ने आँट गरिनँ । पारिजातले खुदैले हेर्न पाएकी भए ? खप्नै नसक्ने ट्रेजेडी जस्तो भान हुन्छ मलाई ।

© Sukanya Waiba Collection/Nepal Picture Library

मलाई अझ सम्झना छ, दिदी पारिजातको अन्तिम समय नजिकिंदाको अर्काे घटना । कसरी अस्पतालबाट समय निकालेर म हतारहतार पोष्ट अफिस पुगें, सिमेन्टको चिसो सिंढीमा बसी इन्ल्याण्ड लेटरमा चिठी लेख्दै दिदीको गम्भीर स्वास्थ्यको सूचना बारबरालाई पठाएकी थिएँ, झल्झली सम्झिन्छु अझै ।

विद्रोही योगमायालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका समेत विद्वत् वर्गमा व्यापक रूपमा परिचय गराउने व्यक्ति बारबरा नै हुन् भनेर किट्न म धक मान्दिनँ । हुन त शक्ति योगमायालाई सम्झना गर्नेहरू सम्झे र उनीसँगै रहेका व्यक्तिहरूले पनि लेखे । तर राणाकालमा व्याप्त त्रासको ह्याङओभरले ती प्रयास निषेधको भुमरीमा नै फसिरहे, पाउनुपर्ने प्रचार पाउन सकेनन् । यसो पनि भन्न सकिन्छ, बारबरा जस्तै खुलेर प्रचार गर्न सायद सम्भव भएन कि ?

हाल सूर्यको किरण जस्तै व्यापक भइसकेको छ– भक्ति योगमायाको सुकीर्ति । लेखिका नीलम कार्की निहारिकाद्वारा रचित र मदन पुरस्कारबाट सम्मानित पुस्तक ‘योगमाया’ को प्रकाशनले अब भक्ति योगमाया विद्वत् वर्गमा मात्र सीमित नभई सर्वसाधारण जनतामा समेत व्यापक भइसकेकी छन् । योभन्दा खुसीको कुरा अरू के हुनसक्छ ?

शक्ति योगमाया विषय मन्तव्य व्यक्त गर्ने अनुरोध यस पंक्तिकारलाई पनि आएको हो । सम्झें, उनको बहुआयामिक प्रतिभाको चर्चा व्यापक भइसकेको छ । उनको मूल्याङ्कन विभिन्न शोधकर्ता, लेखक, इतिहासकारबाट विभिन्न कोणबाट भइसकेको छ । अझ भएन, मदन पुरस्कार विजेता उपन्यासकार निहारिकाद्वारा लिखित कृतिले सर्वसाधारण जनताले समेत बुझ्न सक्ने गरी धेरै भनिसकेको छ ।

यस्तो लाग्यो, अब मैले के लेख्ने ? यिनै कृतिहरू अध्ययन गरेर लेख्ने न हो । एउटै तथ्य बारम्बार दोहोरिंदा लेखन अर्थपूर्ण हुँदैन । केही नयाँ तथ्य वा विचार प्रस्तुत गर्न पाए नयाँपनको मिठास हुने हो । यस्तो लागेर शक्ति योगमायाकै सन्दर्भबाट जन्म भएको पूर्व र पश्चिमको प्रथम भेट, बारबरा निमरी अजिज र पारिजातको सुयोग र त्यसबाट प्रादुर्भाव भएको एक अविस्मरणीय तथा अटुट मित्रताको सत्यकथामा केन्द्रित भएर नयाँपन दिन चाहेकी छु । यो पनि शक्ति योगमायाकै योगदानको रूपमा लिएकी छु ।

आगे पाठक वर्गकै विचार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?