+
+

जागिरमा निपुण बन्ने ? बदलौं यी ९ व्यवहार

मातृका अर्याल मातृका अर्याल
२०८० पुष १२ गते १८:१८

यो संसार अचम्मको छ। यहाँ करिब १ करोड २० लाख प्रजातिका जीवहरू विभिन्न किसिमले आ-आफ्नो जीवन चलाइरहेका छन् । तिनीहरूमध्येको सर्वश्रेष्ठ प्रजातिको रूपमा मानिसहरू रहेका छन्। सर्वश्रेष्ठ, बुद्धिमान ठानिएका अनेकौं किसिमका मानिस थरीथरीका जीवनशैली अपनाएर जीवन जिउने गरेका छन् । कसैले सानो-ठूलो आफ्नै व्यवसाय गरेका छन्। कसैले अरूको व्यवसायमा लगानी गरेका छन् । कोही सानोतिनो उद्यम गरी स्वरोजगारमा छन् । कसैले आफ्नो क्षमता वा प्राप्त अवसर अनुसार अरूका व्यवसायमा रोजगार गरेका छन् । कसैले आजकल समाजसेवा नामले चिनिने लाभदायक प्रतिफलमुखी राजनीति गरेका छन् । आयआर्जन गर्ने अधिकांश मानिस जीवन जिउने विविध कलामध्ये जागिरे (अरू कसैको व्यवसायमा आफ्नो जीवन निर्वाहको उपाय देख्ने) पेशा अपनाई आफ्नो आर्थिक जीवन बिताइरहेका छन् ।

विश्वभर लगभग ३ अर्ब ४० करोड मानिस अरूकोमा जागिर खान्छन् । त्यसमध्ये नेपालमा मात्र जागिरे पेशा अँगालेका  ७० लाख ८६ हजार भन्दा बढी  मानिस छन् । नेपालमा जागिर गर्नेहरूमध्ये ५ देखि ७ प्रतिशत मानिसले प्रशासकीय जिम्मेवारी पाउनुका साथै संस्थागत नीतिनियम बनाउने तहमा कार्यरत रहेका छन् । यस लेखमा म व्यवस्थापकीय, प्रशासकीय वा नीतिगत तहका कर्मचारीमध्ये लगभग ८० प्रतिशतमा रहन सक्ने  वा रहेका कमजोरी, उनीहरूले देखाउने व्यवहार तथा ती कमजोरीहरूको निराकरणका विषयमा आफ्नो विचार प्रस्तुत गर्न गइरहेको छु ।

आजभोलि आफूले रोजेको होओस् वा बाध्यताले अपनाएको होस् आफू कार्यरत पेशा र आफ्नो पदलाई प्रतिष्ठित बनाउन, आफ्नो स्तर उच्चतम देखाउन, पाएको पदवी जोगाउन वा पदवी पाउने लालसामा मानिसले जागिरे जीवनमा विभिन्न व्यवहार देखाउने गरेको पाइन्छ । आफ्नो पेशामा दक्षता तथा निपुणता नभएकाहरूले समेत आफूलाई सो पेशा तथा पदमा निपुण देखाउन खोज्छन् । त्यसका लागि उनीहरूले यहाँ उल्लिखित गलत प्रयासहरू गर्ने वा भनौं गलत व्यवहार देखाउने गरेको पाइन्छ । त्यसको समाधानका केही सुझाव समेत प्रस्तुत गरेको छु ।

व्यवहार १,  अधिक कार्यबोझ लिने प्रयास गर्नु : आफ्नो पेशामा निपुणता हासिल गर्न नसकेका मानिसहरू आफूले अनावश्यक कार्यबोझ लिने गर्छन् । सहकर्मीहरूसँग जिम्मेवारी बाँडफाँट गर्न हिच्किचाउँछन् । त्यसको दुईवटा कारण हुन्छन्- पहिलो आफूले भन्दा अरूले राम्रो गर्छ कि भन्ने डर हुन्छ भने दोस्रो अरूले आफूलाई फुर्सदिलो देख्छन् कि भन्ने पीर । यस्तो प्रयासले उनीहरूलाई धेरै आन्तरिक पीडा हुने गर्दछ ।

समाधान १,  अधिक कार्यबोझ हटाउनका लागि सहकर्मीहरूको क्षमता तथा रुचि अनुसार उनीहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने, सहकार्य, आपसी सद्भावमा जोड दिने तथा सहकर्मीको सफलतामा रमाउने संस्कारको विकास गर्नुपर्दछ । आफ्नो समूहको उपलब्धि सबैमाझ देखाउने वातावरण निर्माण गर्नुपर्दछ ।

व्यवहार २, अरूलाई दोष लगाउनु : आफ्नो काममा अनिपुण मानिसले कुनै काम बिग्रिएमा त्यसको दोष आफूले लिन सक्दैनन् । जवाफदेहिता वहन गर्नुको साटो उल्टो फलानाले यसो गर्नाले, यस्तो नहुनाले, उस्तो नहुनाले भनेर अरूमाथि दोष थुपार्ने गर्दछन् ।

समाधान २, अरूलाई दोषारोपण गर्ने प्रवृत्ति भन्दा आफ्नो कामको बारेमा आफूले दक्षता हासिल गर्ने, त्यसै अनुरूप सहकर्मीलाई सघाउने र उनीहरूको सफलतामा हौसला प्रदान गर्ने गर्नुपर्दछ ।

व्यवहार ३, सूक्ष्म व्यवस्थापन गर्न खोज्नु : कमसल क्षमताका मानिसले अरूलाई विश्वास गर्दैनन् । अरू पनि आफू जस्तै कम क्षमताका छन् भन्ने सोच्दछन् र सबै क्रियाकलापहरू आफूद्वारा नै निर्देशित र नियन्त्रित हुनुपर्छ भन्ने मान्यता राख्दछन् । राम्रो आइडिया भए सिक्न र नराम्रो आइडिया भए दोषारोपण गर्नको लागि आफ्नो प्रत्यक्ष निगरानी बेगर केही पनि काम नहोस् भन्ने चाहन्छन् ।

समाधान ३, हरेक संगठन नियमित प्रक्रिया तथा प्रणालीबाट सञ्चालित हुन्छ। सबै कर्मचारीहरूको आआफ्नै काम, कर्तव्य, अधिकार र उत्तरदायित्व रहेको हुन्छ । त्यसैले सहकर्मीहरूले विशेष अवस्थामा बाहेक नियमित काममा आआफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने विश्वास गर्नुपर्दछ। तर सबै प्रकारका कार्यमा आफूले पनि सामान्य सीप तथा विशेष काममा निपुणता भने राख्नुपर्दछ । त्यसको लागि अन्तरवैयक्तिक सीप, सकारात्मक मनोविज्ञान तथा प्रभावकारी सञ्चारका लागि आवश्यक तालिम लिने गर्नुपर्दछ ।

व्यवहार ४, अधिक स्व-प्रवर्धन गर्नु : कमसल विज्ञताका मानिसहरूले स-सानो उपलब्धिलाई पनि निकै ठूलो बढाइँचढाइ गर्छन्, कतिपय अवस्थामा सन्दर्भ नै नमिल्ने ठाउँमा पनि आफ्नो व्याख्या गर्ने गर्दछन् ।

समाधान ४, आफ्नो कार्यसम्पादन हेरेर उपयुक्त सुझाव लिनको लागि सम्बन्धित विषयका विज्ञबाट समय–समयमा अवलोकन गराउने गर्नुपर्दछ । आफ्नो कामको प्रशंसा अरूबाट हुने वातावरणको विकास गर्नुपर्दछ तथा अनावश्यक ठाउँमा अनावश्यक कुराहरूका बारेमा व्याख्या-विश्लेषण गर्ने गर्नुहुँदैन ।

व्यवहार ५, पृष्ठपोषण लिन नचाहनु : कमसल क्षमताका मानिसहरूले आफ्नो कार्य सम्पादन प्रति अरूको सकारात्मक तथा सुधारात्मक पृष्ठपोषण लिन चाहँदैनन् । सुधारात्मक आलोचकहरूलाई देखिसहन्नन्। आफ्नो अनुपयुक्त कार्यसम्पादन सार्वजनिक हुन्छ कि भनेर डराउँछन् ।

समाधान ५, सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो कार्यकुशलतामा वृद्धि गर्नुपर्दछ । संस्थागत सुधार र परिस्कृत व्यवहारका लागि एउटा प्रभावकारी पृष्ठपोषण संयन्त्रको निर्माण गर्नुपर्दछ। अरूको कुरा सुन्ने बानीको विकास गर्नुपर्दछ ।

व्यवहार ६, समूह कार्यमा रूचि नराख्नु : कमसल क्षमताका मानिसहरूले आफ्ना सहकर्मीहरूको हमेशा आलोचना गर्ने गर्दछन् । सहकर्मीहरूको प्रगति प्रति यिनीहरूलाई जलन हुने गर्दछ। आफू कमजोर देखिने डरले यिनीहरू सहकर्मीहरूसँगको संयुक्त कार्यसम्पादनमा रुचि राख्दैनन्। लुकेर काम गर्न खोज्छन् ।

समाधान ६, निरन्तर अभ्यास गरी आफूमा निखार ल्याउनुपर्दछ। आफू सबल भएपछि अरूको सफलतामा पनि खुसी प्राप्त हुन्छ । सहकर्मीहरूले केही कमि-कमजोरी गरेमा पनि उनीहरूलाई उत्प्रेरणा दिनुपर्दछ । काम गर्दा समूह कार्यलाई जोड दिनुपर्दछ। एक-एक जनाले काम गर्दा भन्दा समूहमा काम गर्दा सफलता प्रप्त हुने सम्भावना बढी हुने गर्दछ ।

व्यवहार ७, अनावश्यक ध्यानाकर्षणको अपेक्षा राख्नु: कमसल मानिसहरू अरूको ध्यान खिच्ने प्रयासमा विभिन्न नौटंकी खालका गतिविधि गर्न खोज्दछन् । अनावश्यक रूपमा अधिक सञ्चार गर्न खोज्दछन्। सन्दर्भ नै नमिल्ने विषयहरूमा समेत आफ्नो सहभागिता देखाउन खोज्छन् ।

समाधान ७, उत्कृष्ट नतिजाको आधा प्रवर्धन समाजले नै गर्दछ, त्यसैले नौटंकीमा भन्दा उत्कृष्ट कार्यसम्पादनमा जोड दिनुपर्दछ । आवश्यक कुराहरू आवश्यक व्यक्तिसँग मात्र सञ्चार गर्नुपर्दछ। सन्दर्भ नै नमिलेको ठाउँमा आफ्नो बारेमा व्याख्या गर्नुहुँदैन ।

व्यवहार ८, अख्तियारीको प्रदर्शन गर्न खोज्नु : आफूसँग रहेको सामान्य अख्तियारलाई पनि असामान्य झैं देखाउन खोज्छन् । समान पदका सबैले गर्ने नियमित कामलाई पनि आफूले मात्रै गरे झंन गर्छन् ।  नियमित कामकारबाहीलाई पनि विशेष महत्वको विषय झैं गर्दछन्।

समाधान ८,  कार्यसम्पादन तथा पृष्ठपोषणको सन्दर्भमा सहकर्मीहरूबीच विना हिच्किचाहट खुला रुपमा कुराकानी गर्ने वातावरणको विकास गर्नुपर्दछ। नियमित कामकारबाही सहज रुपमा सञ्चालन हुने वातावरण मिलाउनुपर्दछ ।

व्यवहार ९ , सहकर्मीलाई होच्याउन खोज्नु : कमसल मानिसहरू आफूलाई सक्षम देखाउने प्रयासमा लगनशील सहकर्मीहरू प्रति पनि खराब राजनीति गरी उनीहरूलाई होच्याउन खोज्दछन् । सहकर्मीहरूको सानो गल्ती पाए भने ठूलै रडाको मच्चाउँदछन् । अरूलाई कमजोर देखाएर आफूलाई अब्बल देखाउने प्रयास गर्दछन् ।

समाधान ९, यस्तो प्रकारको नकारात्मक शैली देखाई उत्कृष्टता प्रदर्शन गर्न खोज्नु भन्दा बरू विभिन्न विधि अपनाई आफूलाई वास्तवमै उत्कृष्ट बनाउन सकिन्छ। दैनिक, साप्ताहिक, मासिक, वार्षिक रूपमा कति काम सम्पादन गर्नुपर्ने हो सोको निर्धारण गरी सो अनुरूप आफ्नो तथा सहकर्मीको कार्यसम्पादन वास्तविक रूपमा भयो वा भएन मूल्यांकन गर्ने र नभएको भए त्यसको कारण पत्ता लगाई सुधारको प्रयास गर्नुपर्दछ ।

अन्त्यमा, कुनै निश्चित उद्देश्य लिएर कुनै व्यक्ति वा व्यक्तिहरूको समूहले स्थापना गरेको संगठनमा त्यसको हितका लागि आफ्नो दक्षता, क्षमता, ज्ञान, सीप तथा समय खर्च गर्न तयार रहेका व्यक्तिहरूमध्ये संगठनको कुनै निकायले छनोट गरेको व्यक्ति नै कर्मचारी हो । संगठनको लागि धेरै शारीरिक तथा मानसिक श्रम खर्च गरेर जेनतेन जीवन निर्वाहको लागि ज्यालाको रूपमा केही रकम लिने व्यक्ति नै कर्मचारी वा जागिरे हुन्। यस अवस्थामा संगठनको लागि काम गर्दा कार्यसम्पादन तथा पृष्ठपोषणको सन्दर्भमा सहकर्मीहरूबीच विना हिच्किचाहट खुला रुपमा कुराकानी गर्ने वातावरणको विकास गर्ने, गलत बुझाइ तथा अन्योल हटाउन आफू तथा संगठनले सहकर्मीहरूबाट गरेको अपेक्षा वा नतिजा उनीहरूलाई स्पष्ट पार्ने गर्नुपर्दछ ।

वास्तवमा आफ्नो पेशाबाट आफूलाई प्रतिष्ठित बनाउन मानिसमा संयम, उद्यमशीलता, लगनशीलता, जवाफदेहिता, निरन्तरता, सकारात्मकता तथा उच्च मनोबल हुनुपर्दछ । अर्थात् मानिस पेशाप्रति कर्मठ बन्नुपर्दछ। पेशामा सफल हुन मानिसमा सम्बन्धित पेशाको ज्ञान, अनुभव, सीप, दक्षता, कौशल, अनुभव  र  सूक्ष्म अध्ययन आवश्यक पर्दछ। आजभोलि मानिसहरूको कामलाई मेसिनले सहज बनाइदिएको छ । सिर्जनशीलता, कलात्मकता मेसिनबाट भराई सामान्य ज्ञानबाट नै आफूलाई परिष्कृत देखाउन मिल्ने बनाइदिएको छ। मुख्य कुरा यो सबै गर्नाका लागि आफ्नो पेशासँग मिल्ने गरी मेसिनको प्रयोगमा भने दक्षता हुनुपर्छ ।

शिक्षक, श्री जनहित मा.व. वालिङ–१ स्याङ्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?