+
+

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

पुस २५ गते हुने सुनुवाइले लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।अदालतले गौशला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० पुष १३ गते २१:२१

१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेका हुन् ।

न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुन काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष छ ।

एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशाला २६ को दाबी रहेको भन्दै अदालतको संक्षिप्त फैसलामा भनिएको छ, ‘गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’

प्रहरीले गौशाला २६ नाबालिग भएकाले त्यसअनुसार दाबी गरेको थियो । तर सन्दीपका कानुन व्यवसायीहरूले उनी नाबालिग  नभएको दाबी गरेपछि मुद्दाको सुनुवाइ  ‘गौशाला २६’को उमेरमा केन्द्रित भएको थियत्र ।

तर न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका छन् । विभिन्न निकायको पत्र र कागजात प्रमाणबाट २०६१ असार १८ गते जन्म भएकाले घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै नाबालिकामाथि बलात्कार भएको आरोप स्थापित हुन नसक्ने ठहर गरेका हुन् ।

तर गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको अदालतको ठहर छ । फैसलामा भनिएको छ, ‘उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइ करणी भएको देखिँदा सहमतीको करणी भन्ने नदेखिएकोले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर्छ ।’

३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन ।

न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछाने माथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । उक्त कानून व्यवस्था(दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनवेदन दिन पाउनेछन् ।

के हो मुद्दा ?

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।

त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे ।

अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो ।

त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?