+
+

बलात्कारको मुद्दामा सन्दीप दोषी ठहर

जिल्ला अदालतले सन्दीप लामिछानेलाई अधिकतम १० वर्ष कैद हुने गरी बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० पुष १३ गते २१:३९

१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आगामी २५ पुसमा पेशी तोक्न आदेश गरेको हो ।

करिव चार दिनको निरन्तर बहसपछि न्यायाधीश ढकालले गौशाला २६ माथिको बलात्कारको घटनामा सन्दीपलाई दोषी ठहर गरेका हुन् । उनले आदेशका क्रममा गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको भनी आदेश समेत गरेका छन् ।

शुक्रबार अबेर न्यायाधीश ढकालले तयार पारेको २ पेजको संक्षिप्त आदेश सुनाउँदै जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइ सन्दीप लामिछानेले बलात्कार गरेका ठहरिएको बताए ।

‘उनको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइ करणी भएको देखिँदा सहमतीको करणी भन्ने नदेखिएकोले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर्छ’, आदेशबारे उनले भने, ‘सजाय निर्धारणका लागि पुस २५ गतेका लागि पेशी तोक्नु । दुवै पक्षबाट सजाय पूर्वको प्रतिवेदन र क्षतिपूर्तिको आधार समेत पेश गर्न लगाउनु ।’

न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट काठमाडौंदेखि नगरकोट गई पुन काठमाडौं आएर होटलको एउटै कोठामा बसेको देखिएको निष्कर्ष छ ।

पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा सन्दीप र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतीको भन्न नमिल्ने ठहर भएको हो ।

तर न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका छन् । विभिन्न निकायको पत्र र कागजात प्रमाणबाट २०६१ असार १८ गते जन्म भएकाले घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै नाबालिकामाथि बलात्कार भएको आरोप स्थापित हुन नसक्ने ठहर गरेका हुन् ।

न्यायाधीश ढकालले आदेशमा अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)(घ)को अभियोग स्थापित नहुने भनेका छन् । दफा २१९(१),(२),(३)(घ) मा १६ वर्षदेखि १८ वर्षसम्मको नाबालिका बलात्कारमा १० देखि १२ वर्षसम्म सजाय हुने व्यवस्था छ ।

जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गरे पनि पीडितको उमेर बढाएर उनलाई बालिग ठहर गरिदिएको छ । आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने मागदावी थियो ।

न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहर सहित सन्दीपलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)(ङ) अनुसार कसुरदार ठहर गरेको हो । उक्त कानून व्यवस्था(दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म मात्रै कैद सजाय हुने व्यवस्था छ ।

सजाय निर्धारण २५ गते

जिल्ला अदालतले सन्दीपमाथि सजाय अनि उनले तिर्नुपर्ने क्षतिपूर्ति निर्धारणका लागि २५ पुसमा अर्को सुनुवाइको मिति तोकेको छ । त्यो दिन दुवै पक्षले सजाय पूर्वको प्रतिवेदन र क्षतिपूर्तिको आधार समेत पेश गर्नुपर्नेछ । जिल्ला अदालतले २५ पुसमा यो मुद्दाको सबै सुनुवाइ टुंग्याउनेछ । फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनवेदन दिन पाउनेछन् ।

५ भदौ, २०७५ मा प्रशिक्षणका क्रममा बन्दसत्रमा रहेका क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित(गौशाला २६)लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट लगेर फर्किएपछि सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको जाहेरीपछि प्रहरीले सन्दीप विरुद्ध अनुसन्धान थालेको थियो ।

केन्यामा रहेका उनी आफू विरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए । जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई गतवर्ष पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । विदेश जान रोक लगाइएकोमा पछि सर्वोच्च अदालतले उच्च अदालतको त्यो बन्देजात्मक व्यवस्था समेत फुकुवा गरिदिएको थियो ।

(*यसअघि प्रकाशित विवरणमा केही त्रुटि भएकाले सच्याई अद्यावधिक गरिएको)

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?