+
+

एन्जेला बासेटसहितलाई मानार्थ ओस्कार अवार्ड प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १७:२१

काठमाडौं । टिना टर्नरदेखि वाकाण्डाको रानीसम्मको बहुचर्चित भूमिकाको लागि हलिउड अभिनेत्री एन्जेला बासेटलाई मानार्थ ओस्कार अवार्ड प्रदान गरिएको छ ।

कमेडियन मेल ब्रुक्सले पनि ओस्कारको सुनौलो ट्रफी उचाले । लियोनार्दो डिक्याप्रियो, ब्राड्ली कुपर, नताली पोर्टम्यान सहभागी गभनर्स अवार्डको क्रममा मानार्थ ओस्कार सम्मान प्रदान गरिएको हो ।

ओस्कारको ट्रफी ग्रहण गर्दै अभिनेत्री बासेटले ओस्कार जितेका १० अभिनेत्रीको नाम लिंदै उनीहरुप्रति जित समर्पण गरिन् । फिल्म उद्योगले थप अश्वेत महिलालाई अवसर प्रदान गर्ने आशा उनले व्यक्त गरिन् ।

‘मेरो प्रार्थना छ कि हामीले यो उद्योगलाई हामीले पाएको भन्दा बढी समृद्ध, अग्रगामी सोच र समावेशी बनाएर छोडौं,’ बासेटले उक्त अवसरमा भनिन्, ‘दिनको यो अन्त्यमा हामी सबै उत्कृष्ट, अर्थपूर्ण काम गर्ने अवसर प्राप्त गर्न चाहन्छौं ।’

बासेट दुई प्रतिस्पर्धी ओस्कार अवार्डका लागि मनोनीत भएकी थिइन् । पहिलो सन् १९९३ को ‘ह्वाट्स लभ गट टु डु विथ इट’मा टर्नरको रूपमा उनको ब्रेकआउट भूमिकाको लागि र दोस्रो सन् २०२२ मा ‘ब्ल्याक प्यान्थर :  वाकान्डा फरएभर’मा क्वीन रामोन्डाको भूमिकाको लागि ।

बासेट र अन्य सम्मानित व्यक्तिलाई एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसका बोर्ड अफ गभर्नरद्वारा चयन गरिएको थियो । आगामी प्रतिस्पर्धी ओस्कार अवार्ड चाहिं आगामी मार्च महिनामा वितरण हुँदैछ ।

९७ वर्षीय लेखक, निर्देशक र अभिनेता ब्रुक्सले सन् १९५० को दशकमा ‘ब्लेजिङ सेडल्स’ र ‘यंग फ्रान्कनस्टाइन’जस्ता फिल्म बनाउनुअघि सिड सिजरको टिभी कार्यक्रमको लागि कमेडी दिनचर्या लेखेर आफ्नो करिअर प्रारम्भ गरेका थिए ।

उनले सन् १९६७ मा फिल्म ‘द प्रोड्युसर्स’को पटकथा लेखनबापत ओस्कार जितेका थिए, जुन पछि नाटकको रुपमा प्रसिद्ध भयो । एकेडेमीले फिल्म सम्पादक क्यारोल लिटलटन र सनडान्स फिल्म फेस्टिभलका कार्यकारी मिशेल सेटरलाई पनि सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?