+
+

यसरी सम्भव छ गुठी संस्थाको पुनरुत्थान

गुठीको विकासक्रम र यसको पुनः रूपान्तरण २१औं शताब्दीमा स्वायत्त र सामुदायिक जीवनको लागि र मौलिक संस्थालाई पुनर्निर्माण गर्न सूचना तथा सञ्चारप्रविधिले गर्न सक्ने योगदानको उत्कृष्ट उदाहरण हो।

डा. शोभित शाक्य डा. शोभित शाक्य
२०८० माघ २ गते ९:३४

गुठी विगतको परम्परा वा पुरातात्त्विक अवशेष मात्र होइन। यो विशेषगरी नेवारहरू र अरू पनि नेपाली समुदायहरूका बीचमा अझै पनि व्यापक रूपमा प्रचलित सक्रिय सहभागितामूलक जीवनशैलीको एउटा पाटो र एक महत्त्वपूर्ण संस्था हो। आजको दिनमा गुठी संस्था पुनर्जीवित तर परिवर्तित हुने क्रममा छ भन्ने कुराको स्पष्ट सङ्केतहरू छन्। तर जनमानसमा यो कुरा प्रष्ट नभएको अवस्था छ र त्यसको एक मुख्य कारण हाम्रो गुठी बारे अपुरो बुझाइ हो।

यसअघि गुठी संस्था केही दशकदेखि निरन्तर ओरालो लागेको कुरा विदितै छ। वंशाणुगत रूपमा प्राप्त बोझपूर्ण कर्तव्यहरू शिक्षित मध्यमवर्गको निम्ति पारम्परिक कर्तव्यका कुरामा सीमित हुन गएको थियो। सन् १९८० ताका जोन लकले काठमाडौं उपत्यकाका बौद्ध बहाः बहिःहरूको सर्वेक्षणका साथै केही सम्बन्धित गुठीहरूको पनि अध्ययन गर्दै थिए। त्यतिबेलादेखि नै शिक्षित मध्यम वर्गबीच गुठीको काम बोझपूर्ण हुँदै गएको देखिएको थियो।

धेरै गुठी मासिए। खासगरी राज्यको नीतिले गर्दा पनि गुठीहरू मासिंदै गए र राज्यको नीतिकै कारण धेरै गुठियारहरूले आफ्नो गुठीको जग्गा निजीकरण गरेर बेचे र त्यसको परिणामस्वरूप गुठी संस्था अधिकतम कमजोर हुनगयो।

२०७२ सालको महाभूकम्पले नेपालमा जनधनको क्षति हुनुका साथै सम्पदा संरचनामा समेत क्षति पुगेको सम्झना जनमानसमा अझै ताजा छ। यी सम्पदाहरूलाई कसरी पुनर्निर्माण गर्ने भन्ने अत्यावश्यक प्रश्नले जनसहभागिता र शताब्दीयौं पुरानो परम्परागत संस्था गुठी बारे फेरि छलफल अगाडि सार्‍यो। इतिहासमा यी संरचनाहरूसँग सम्बन्धित गुठी बारेको धेरै विचारहरू महाभूकम्पकै कारण अगाडि आए र सामाजिक सञ्जालमा व्यापक छाए।

गुठी संस्था बारे पंक्तिकारको अध्ययन यसको समसामयिक सान्दर्भिकताको आधारमा सुरु भयो जुन तालिन युनिभर्सिटी अफ टेक्नोलोजीको राग्नार नुर्क्से डिपार्टमेन्ट अफ इनोभेसन एण्ड गभर्नेन्सका प्रा.डा. वोल्फग्याङ्ग ड्रेचस्लरको निरीक्षणमा भयो। २०७२ सालको महाभूकम्प र गुठीसँग सरोकार राख्ने घटनाक्रमका धेरै पाटा छन्। तर मुख्य चासोको सन्दर्भ भूकम्पको पृष्ठभूमिमा संस्थाको पुनःरूपान्तरण थियो।

महाभूकम्पपछि गुठीप्रतिको यो नयाँ चासो मुख्यतया सूचना तथा सञ्चारप्रविधिको प्रभाव थियो। सञ्चार साधनका रूपमा सामाजिक सञ्जाल र सूचना तथा सञ्चारप्रविधिले युवा पुस्ता, अभियानकर्ताहरू र नेवार समुदायका सदस्यहरूले प्रभावकारी साधनको रूपमा प्रयोग गरे। यो लहरमा नेपालमा मात्र नभएर विदेशका नेवारहरूको पनि सक्रिय सहभागिता थियो ।

यसको प्रष्ट प्रमाण सन् २०१९ को गुठी आन्दोलन हो। सो आन्दोलनको क्रममा नेवार र नेवार नजिकका अरू समुदायका गुठियारहरू, विभिन्न समाज-समितिहरू, क्लबहरू र नेपाल भित्र र बाहिरका नेवारहरूको विभिन्न गुठीसँग दाँज्न मिल्ने संघ–संस्थाहरू एकजुट भए र सरकारको गलत कामप्रति विरोध गर्दै माइतीघरमण्डलमा विशाल प्रदर्शन सम्भव बनायो।

गुठी संस्थाको हितमा नभएको सो ऐन ल्याउने प्रयासको जुन गल्ती सरकारबाट भयो त्यो गल्तीबाट गुठी संस्थाप्रति हानि हुनबाट नेवार र गुठियारहरूकै संगठित हुने क्षमताले जोगायो।

आखिर, गुठी नेवार समुदायमा मात्र सीमित छैन; जनकपुर वा गोरखामा होस्, विभिन्न सामुदायिक उद्देश्यका लागि गुठीहरू छन्। नेपालका राजनीतिक व्यक्तित्व र नीतिनिर्माताहरूले गुठीलाई नेपालमा सहभागितामूलक शासन व्यवस्थाको ढाँचा निर्माण गर्ने अपार सम्भावना भएको एक उत्कृष्ट संयन्त्रको रूपमा हेर्नुपर्छ

गुठीप्रतिको दृष्टिकोण सधैं सबैमाझ सकारात्मक थियो भन्ने कुरा पक्कै सत्य होइन। यो संस्थासँग सम्बन्धित अन्य विभिन्न सरोकारहरू जस्तै लैङ्गिक समानता, श्रम सम्बन्धित मुद्दाहरू (विशेषगरी मोही किसानहरूको अधिकारको सन्दर्भ) को बारेमा नकारात्मक रूपमा संस्थालाई चित्रण गर्ने अनुसन्धान पत्रहरू मनग्गे छन। यद्यपि, यस्ता धेरैजसो आलोचनात्मक लेख तथा अनुसन्धान पत्रहरूले परापूर्वकालबाट जस्ताको तस्तै चलिआएका गुठीहरू मात्रै हेरी गुठी संस्थाको हालैका रूपान्तरित अवस्थालाई बेवास्ता गर्ने गर्दछन्।

विशेषतः नेवार समुदायमाझ प्रचलित गुठीकै ढाँचामा चलेका नयाँ समाज-समिति-समूहहरू पनि पुनः रूपान्तरित गुठी संस्थाको एक अभिन्न अङ्ग हुन्। गुठी संस्था अहिले पुनः रूपान्तरित हुनुको कारणमा मुख्य सूचना तथा सञ्चारप्रविधिद्वारा परिवर्तित परिप्रेक्ष्य र नेपाली समाज विश्वव्यापी मापदण्ड र प्राथमिकताहरू (जस्तै महिला सहभागिता) तर्फ अघि बढ्नु हुन्।

मेरो अनुसन्धानले विशेषगरी सामुदायिक सहभागिताको मुद्दा र सूचना तथा सञ्चारप्रविधि मार्फतका सम्भावनाहरूले गुठीको नयाँ पुनरावृत्तिहरूको उत्पत्ति हुन मद्दत गरेको देखाएको छ। मोटामोटी रूपमा, अहिलेको परिस्थितिमा वर्गीकृत रूपमा गुठीहरूका तीन प्रकारका नयाँ पुनरावृत्तिहरू छन्।

सबैभन्दा पहिले आफ्ना सदस्यहरूबीच सामाजिक अन्तरक्रिया र कल्याणमा केन्द्रित भएर आन्तरिक वा विदेशमा बसाइँ सरेका नेवारहरूका संघ/संगठन/समूहका रूपमा स्थापित गुठीहरू छन्।

दोस्रो, स्थानीय सरकारी कार्यालयहरूमा दर्ता भएका समितिहरू छन् जुन कुनै पनि गुठीका सदस्यहरूले उनीहरूका गतिविधिको लागि सरकारसँग सहज रूपमा सहकार्य गर्न गठन गरेका छन्।

र, नेपालमा नयाँ संस्थाहरू पनि छन् जुन आफ्ना लक्ष्यको आधारमा गुठी जस्तै छन् तर नेपालको कानुनी व्यवस्थाको कारण नयाँ गुठीहरू स्थापना गर्न अनुकूल नभएकाले सामाजिक संस्थाका रूपमा दर्ता भएका छन्।

प्रोफेसर वोल्फग्याङ्ग ड्रेचस्लरसँगको सह-लेखनमा हालसालै प्रकाशित मेरो एक लेखमा गुठीका यी नयाँ पुनरावृत्तिहरूका लागि क्रमशः नियो-गुठी, सव-गुठी र क्वासी-गुठी शब्दहरू प्रयोग गरी टाइपोलोजी प्रस्तुत गरेका छौं। क्यानडाबाट प्रकाशित ‘द जर्नल अफ कम्युनिटी इन्फर्मेटिक्स्’ को (भाग १९, नम्बर १) मा प्रकाशित उक्त लेखमा हाम्रो तर्क छ कि आज गुठीको विरुद्धमा हुने धेरैजसो आलोचनाहरूले गुठी संस्थाका यी नयाँ पुनरावृत्तिहरूलाई बेवास्ता गरेका छन् र पुरातन गुठीहरूमा मात्र केन्द्रित छन्।

गुठीको विकासक्रम र यसको पुनः रूपान्तरण २१औं शताब्दीमा स्वायत्त र सामुदायिक जीवनको लागि र मौलिक संस्थालाई पुनर्निर्माण गर्न सूचना तथा सञ्चारप्रविधिले गर्न सक्ने योगदानको उत्कृष्ट उदाहरण हो। हामीले यसलाई नेपालको नीति विकाससँग सान्दर्भिक गैर-पश्चिमी (मौलिक) जनप्रशासन र शासन (नन-वेस्टर्न पब्लिक एड्मिनिस्ट्रेसन एण्ड गभर्नेन्स) को सन्दर्भमा महत्त्वपूर्ण मुद्दाका रूपमा हेर्नुपर्छ।

आखिर, गुठी नेवार समुदायमा मात्र सीमित छैन; जनकपुर वा गोरखामा होस्, विभिन्न सामुदायिक उद्देश्यका लागि गुठीहरू छन्। नेपालका राजनीतिक व्यक्तित्व र नीतिनिर्माताहरूले गुठीलाई नेपालमा सहभागितामूलक शासन व्यवस्थाको ढाँचा निर्माण गर्ने अपार सम्भावना भएको एक उत्कृष्ट संयन्त्रको रूपमा हेर्नुपर्छ।

नेपालमा सामुदायिक सहभागिता मार्फत स्वशासनको अवधारणा नयाँ होइन र देशका विभिन्न समुदायको संस्कृतिसँग यस्ता मूल्यमान्यताले गहिरो जरा गाडेको छ। यस प्रकारका सामुदायिक सहभागिताका मौलिक संयन्त्रहरू समय-समयमा प्रभावकारी साबित पनि भएका छन्।

(लेखक तालिन युनिभर्सिटी अफ टेक्नोलोजी इस्टोनियामा कार्यरत शोधकर्ता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?