+
+

एक पटक सरकारको नेतृत्व गर्ने असाध्यै हुटहुटी छ : विप्लव

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते २०:१२

२७ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् ।

शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।

‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ’, विप्लवले भने, ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’

उनले अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरे ।

२० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले खुलाए ।

दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने उनले आग्रह गरे ।

‘सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका छन् तर देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै हो, यसमा कांग्रेस लगायत लोकतान्त्रिक शक्ति र वामपन्थी दलहरुबीच वहस गरौं’, चन्दले भने, ‘हाम्रो दुश्मन शक्ति भनेको दलाल पुँजीवाद र साम्राज्यवाद हो जसले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि हमला गरिरहेको छ, अरु शक्तिसंग मिलेर जान तयार छौं ।’

अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ ।

माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने उनले बताए । मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नसके त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने चन्दले तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?