+
+

भक्तराज आचार्य जीवनमा ठूलो बज्रपात सहेर पनि शान्त देखिनुहुन्थ्यो

उत्तम भौकाजी, गीतकार उत्तम भौकाजी, गीतकार
२०८० फागुन १५ गते १४:४९

भजन शिरोमणि भक्तराज आचार्यको बारेमा त मैले के भन्नु र ? उहाँको बारेमा धेरै कुरा बाहिर आएकै छ । यद्यपि म उहाँका छोराहरु सत्यराज र स्वरुपराजसँग घनिष्ठ भएकाले घरमा आउजाउ भइरहन्थ्यो । उहाँहरुसँग निकट थिएँ । निकट मात्र होइन, हाम्रो सम्बन्ध पारिवारिक जस्तै थियो ।

म अमेरिका आउनुअघि उहाँको घरमा पारिवारिक जमघट गरेका थियौं । त्यसबेला उहाँ आराम गरिरहनुभएको थियो । सत्यजीसँग कुरा हुँदा उहाँ लड्नुभएको खबर सुनें । सायद बाथरुममा लड्नुभएछ । उच्च रक्तचापले हो वा अन्य कारणले म स्पष्ट छैन । त्यसबेला लडेपछि भने उहाँलाई अलि गाह्रो भएछ ।

त्यसअघि उहाँमाथि सांघातिक आक्रमण भयो । टाउकोमा गम्भीर चोट लागेर १० टाँका गर्नुपरेको थियो । लगत्तै जिब्रोमा क्यान्सर देखियो र जिब्रो काट्नुपरेको थियो । यसरी उहाँको गायकीमा विश्राम लागेको थियो । जीवनमा आइपरेका त्यही उतारचढावसँगै उहाँ अक्सर घरमै बस्नुभयो । बेलामौकामा म उहाँको घर गइरहेको हुन्थें ।

उत्तम भौकाजी

त्यसबेला सातदोबाटो नजिक महालक्ष्मीस्थानमा उहाँहरुको घर थियो । घरमा सबै परिवार अर्थात् सत्य–स्वरुपसहित बस्थे । उहाँ राम्ररी बोल्न त सक्नुहुन्नथ्यो तर उहाँले भन्न खोजेको कुरा बुझ्न सकिन्थ्यो । म उहाँको छोराको साथी भएकाले मलाई छोराकै रुपमा हेर्नुहुन्थ्यो र छोराकै रुपमा व्यवहार गर्नुहुन्थ्यो । मसँग उहाँले केही न केही कुरा साझेदार गर्नुहुन्थ्यो ।

जथाभावी खानेकुरा खानुहुन्नथ्यो । जिब्रोको कारण हुनुपर्छ, झोलिलो खानेकुरा मात्र खुवाउनुपर्थ्यो । प्राय: बाहिर जाँदा केही खानुहुन्नथ्यो । कार्यक्रममा पनि केही नखाई फर्किने गरेको मैले देखेको छु ।

उहाँकी धर्मपत्नी सुशीला आचार्यले एकदमै राम्ररी हेरचाह गर्नुहुन्थ्यो ।

जीवनमा त्यति ठूलो बज्रपात सहेर पनि उहाँ शान्त देखिनुहुन्थ्यो । प्राय: घरमा बस्दा यताउता गरिरहेको हुनुहुन्थ्यो । तलमाथि गर्ने, बाहिर टहल्ने गर्नुहुन्थ्यो । आफूले गीत नगाए पनि छोराहरु सत्य–स्वरुपले सिर्जना गरेका गीत सुन्ने, टिप्पणी गर्ने गर्नुहुन्थ्यो । छोराहरुका लागि बुवा मात्र होइन एक असल गुरु पनि हुनुहन्थ्यो उहाँ ।

मैले मेरो पहिलो एल्बम ‘स्पर्श’ उहाँकै हातबाट विमोचन गराएको थिएँ । त्यसबेला उहाँले मलाई एकदमै हार्दिकतासाथ सहयोग र माया गर्नुभएको सम्झिन्छु । त्यसयता मैले उहाँको छोरा जस्तै माया पाएँ । घरमा जाँदा प्रेमपूर्वक व्यवहार गर्नुहुन्थ्यो ।

नेपाली संगीतको लागि उहाँ एउटा तुलना नै गर्न नसकिने पात्र हुनुहुन्थ्यो । संगीतप्रति उहाँको समर्पण र योगदान सधैं अमर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?