पारिजातको साहित्य यात्राको पहिलो प्रकाशन बिन्दु थियो वि. सं. २०१३ साल । नेपाली वाङ्मयको एक ऐतिहासिक महत्व राख्ने विशिष्ट पत्रिका ‘धरती’ मासिकमा उनका तीन कविता यही सालको चैत्र अङ्क (पृष्ठ ३६) मा प्रकाशित भएका थिए ।
२०१३ सालमा धरतीमा कविता प्रकाशित गरेर पारिजातको साहित्य यात्राको शुभारम्भ भएको विषय विवरणमा मतैक्य देखिंदैन । अध्ययनकर्ता, अनुसन्धानकर्ता, समालोचक सबैजसोले यो तथ्यलाई फरक-फरक रुपमा उल्लेख गरेका छन् । दृष्टान्तको रुपमा एक पुस्तकमा २०१४ साल उल्लेख गरिएको छ । ‘….भवानी भिक्षुको सम्पादनमा निस्कने पत्रिका ‘धरती’मा २०१४ सालतिर प्रकाशित भएको थियो ।’ (पारिजातको जीवनकथा ‘परिवर्धित तथा परिमार्जित चौथो संस्करण : नरेन्द्रराज प्रसाईं : वि. सं. २०८०) भनेर लेखिएको पुस्तक समेत प्रकाशित छन् ।
त्यस्तै तीनवटा कविता प्रकाशित गरेर साहित्य यात्राको थालनी गरेको विषयमा पनि मतैक्यता पाइएको छैन । कसैले यौटा कविता, कसैले दुइटा कविता प्रकाशित गरेर साहित्य यात्राको थालनी गरेको उल्लेख गर्ने गरेका छन् । यो भूल, गल्ती वा त्रुटि हुनुको कारण एउटै हो, तिनले ‘धरती’ पत्रिकाको त्यो अंक देखेका छैनन्, खोजी गरेका छैनन् वा त्यो यथार्थ पत्ता लगाउन जाँगर देखाएका छैनन् ।
यो नेपाली साहित्यको व्यापक समस्या हो । साहित्यमा तर्क पृथक हुनसक्छ, विचार पृथक हुनसक्छ तर तथ्यांकमा पृथकताको गुञ्जायस हुँदैन, हुनुहुँदैन । तर पारिजात जस्तो ख्यातिप्राप्त लेखिकाको सम्बन्धमा यस्तो मिथ्यांक आजपर्यन्त प्रकाशित भइरहनु नि:सन्देह गम्भीर लापरवाही हो ।
मिथ्यांकका केही दृष्टान्त यस प्रकार छन् :
‘कसको छाया हो त्यो मलाई ईशारा गर्ने ?’ जस्ता वाक्यांशहरु भएका दुईवटा कविताहरु वि. सं. २०१३ सालको ‘धरती’ पत्रिकाको दोस्रो अंकमा छापिएको….’ (पारिजातको साहित्यिक मूल्यांकन : डीआर पोखरेल : वि. सं. २०६२ : पृष्ठ ४०)।
खासमा यहाँ उल्लिखित ‘कसको छाया हो, त्यो मलाई ईशारा गर्ने ?’ हरफ यथारुप पारिजातका कवितामा छैनन् । उनको तेस्रो कवितामा ‘कस्को हो त्यो स्पर्श ? रुन बाध्य गराउने’ तथा ‘कसको हो त्यो छाया ? मलाई झस्काउने’ हरफहरु छन्, तर पोखरेलले उल्लेख गरेअनुसारको हरफ कवितामा पाइँदैन ।
२०१३ सालमा धरती पत्रिकामा दुईवटा कविता प्रकाशित गरी साहित्य यात्रामा निस्किनुभएकी पारिजातको जीवन ज्यादै नै गतिशील, सक्रिय र चर्चित रह्यो । ‘(पारिजात; सशक्त एवं चर्चित लेखिका; राजेन्द्रप्रसाद अधिकारी; जनमत साहित्य डटकम; ७ असार २०८०)
धरतीको सो अंकमा सात कविता प्रकाशित थिए, जसमध्ये तीनवटा पारिजातका तथा बालकृष्ण सम, जनार्दन सम, तारिणीप्रसाद कोइराला र नरबहादुर दाहालका एक-एक गरी थप चारवटा थिए ।
पारिजातका यी तीन कवितामध्ये ‘व्यर्थ प्रयास’ र ‘आज बिदाको दिन हो’ दुई कविता परिवर्धित रुपमा पछि पुस्तकाकार (पारिजातको पहिलो कविता संग्रह ‘आकांक्षा’) मा संग्रहित छ, तर तेस्रो कविता ‘को हो त्यो’ चाहिं हालसम्म कुनै पुस्तकमा समेटिएको भेटिएको छैन ।
पुस्तकमा समावेश गरिएको दुईमध्ये एक ‘व्यर्थ प्रयास’ शीर्षक कविता धरतीमा पहिलो पंक्ति ‘तँलाई पछ्याउने मलाई व्यर्थ प्रयास के !’ कविताको अन्तमा दोहोर्याइएको छ तर पुस्तकमा (पारिजात; संकलित रचनाहरु भाग ५ पृष्ठ १०) भने त्यो दोहोर्याइएको हरफलाई छुटाइएको छ ।
त्यस्तै दोस्रो कविता ‘आज बिदाको दिन हो’को शीर्षक परिवर्तन गरेर ‘आधार’ राखिएको छ पुस्तकमा (पारिजात; संकलित रचनाहरु भाग ५ पृष्ठ १०) । यस कविताको आठौं हरफ ‘अश्रु-विन्दुहरुको माला’लाई ‘अश्रुबुँदहरुको माला’ बनाइएको छ । नवौं हरफ ‘जसको पत्र-पत्रको सुगन्धमा’लाई ‘जसका पत्र-पत्रहरुको सुगन्धमा’ बनाइएको छ । १४ औं हरफको ‘जसमा झुण्डिंदै मैले’लाई ‘जसमा झुण्डिंदै झुण्डिंदै मैले’ बनाइएको छ ।
धरती पत्रिकाको २०१३ चैत्र अंकमा प्रकाशित पारिजातका तीन कविता यथारुप यहाँ प्रस्तुत गरिन्छ ।
१. व्यर्थ प्रयास
तँलाई पछ्याउने मलाई व्यर्थ प्रयास के !
तै बिहानको जल्दो स्वर्णीम उषा,
म क्षितिजपारि अस्ताउने सूर्य,
फेरि तेरो पल्ला समाउने मलाई व्यर्थ प्रयास के !
तँ मञ्जरीबीच गाउने वासन्ती कोइली,
म एकान्त ध्यानमा रूने विरही न्याहुली,
फेरि तेरो पञ्चम राग गाउने मलाई झूटो लोभ के।
तँ गगनबीच चन्द्रसँग चम्किने तारा,
म सागरतटमा पछारिने बालुकण,
फेरि तँसम्म पंख उचाल्ने मलाई वञ्चना के !
तँ प्रखर धूपमा देखिने मरुभूमिको मृगतृष्णा,
म प्यासले व्याकुल तृषित यात्री,
फेरि तँलाई पिएर शान्त हुने मलाई असफल प्रयत्न के!
तँ गृष्माकाशको रसिलो बादल,
म आँशु पिउने प्यासी चातक,
फेरि तेरो पवित्र जलमा चुच्चो गाड्ने मलाई असम्भव सपना के !
तँलाई पछ्याउने मलाई व्यर्थ प्रयास के !
२. आज बिदाको दिन हो
प्रिये, आज बिदाको दिन हो,
के मलाई हेरिदिन्नौ
ती सागर – नयनहरूले,
जसका प्रदर्शन पहिल्याएर मलाई
जीवनको किनारा पुग्नु छ ?
प्रिये, आज आत्मसमर्पणको दिन हो,
के मलाई पहिराइदिन्नौ
अश्रु-विन्दुहरुको माला,
जसको पत्र-पत्रको सुगन्धमा
आफैंलाई समावेश गर्नु छ ?
प्रिये, आज मैले जीवन विसर्जन गरें,
के मलाई समात्न दिन्नौ
सम्झनाको त्यो झिनो धागो,
जसमा झुण्डिंदै मैले
अन्तिम श्वास निभाउनु छ ?
प्रिये, आज बिदाको दिन हो !
३. को हो त्यो ?
क्लान्त प्रकृतिको सान्ध्य-सुधाको
साथ बहेर
मेरो सुस्ताएको अन्तर वेदना
झस्काएर
कस्को हो त्यो स्पर्श ? रुन बाध्य गराउने
भर्खर उठेको बोझिल उषाको
पलकपछाडि लुकेर
तिरिमिरि प्रभातको नव-रश्मिको
रक्तिमाभित्र लुकेर
कसको हो त्यो छाया ? मलाई झस्काउने !!
(लेखक प्रेरणाको पारिजातको जीवनी ‘सुश्री पारिजात‘ (२०७९) प्रकाशित छ ।)
प्रतिक्रिया 4