जीवन हिंड्ने बाटोहरूमा
केही खाल्डाहरू अवश्य छन्
शान्ति रोज्ने साथहरूमा
केही सन्नाटाहरू अवश्य छन्
आत्तिएका यात्राहरू
अनुहारभरि विषाद पोतेर
भोक र शोकको कुराहरू
जीवनसंगै डोरिएका छन् ।
ती भकारीहरू रहेनन्
ती औजारहरू रहेनन्
शान्ति खोज्ने चिन्तना रहेनन्
आरोग्य रोप्ने ती बन्दना रहेनन्
उज्यालो त भयो
दृष्टि उज्यालो भएनन्
त्यहाँ आराधनाहरू फूलेजस्तो थियो
आफ्नोपनको न्यानो मुटुमा भिजेजस्तो थियो
यी माटोहरूमा
आफ्नै पसिनाको सुवास रहेनन्
सधैं आफ्नै लाग्ने
सुरक्षित आश्रय रहेनन् ।
उसलाई क्रान्ति थाहा छ
उसलाई शान्ति पनि थाहा छ
बुद्ध नपढेको
धेरै भयो उसले
गीता नछोएको पनि
धेरै भयो उसले
बन्दूक बोकेर ऊ
अझै समानता खोज्दैछ
बम रोपेर ऊ
अझै भोक मेटाउन खोज्दैछ ।
देश टेकेर
देश टुक्र्याउन खोज्नेहरू
निर्वाध परेड खेलिरहेका छन्
देश आफ्नैसँग लडिरहेको छ
देश आफ्नैसँग हारिरहेको छ ।
हामी एउटा समयमा उभिएका छौं
त्यो समयसँग
केही आग्रहहरू छन्
केही आशाहरू छन्
केही निराशाहरू पनि छन्
निश्चय पनि
असत्यले समयलाई डोर्याउन सक्दैन
त्यहाँ असत्य उभिन सक्दैन् ।
भोको अस्तित्व लिएर
ऊसँग नियोजित आत्मीयता छ
आफ्नै विवशताप्रति इमान्दार
ऊसित थुप्रै अभागी सपनाहरू छन्
व्याघातका ती सपनाहरू
कुनै च्यातिएको कागजजस्तै
टुक्रा-टुक्रा भएर छरिएको छ
भित्तामा एक्लै मुस्कुराइरहेको
एउटा नाङ्गो तस्वीरजस्तै
प्रतिक्रियाविहीन छ, आफैसँग
आँखाले केही भनेजस्तो
ओठले केही सोधेजस्तो
शब्दहीन त्यो परिवेश
आवाजहीन त्यो आवाज
ऊसँग केवल निराशाको हाँसो छ
ऊसँग केवल पश्चातापको आगो छ ।
प्रतिक्रिया 4