+
+

जीवन चलाउनेको भिडियो बयान : ‘सीआईबीका डीएसपी र एसपीले ६० लाख मागे, श्याम ज्ञवालीले आईजीपी बन्न १ करोड’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १८:१०

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउनेले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गाराज दाहालले ६० लाख रुपैयाँ मागेको दाबी गरेका छन् ।

प्रहरीले खोजी गरिरहेका चलाउनेले अनलाइनखबरसँग भिडियो कुराकानी गर्दै थापा र दाहालले एक रेष्टुरेन्टमा भेटेर पैसा मागेको बताएका हुन् । तर, पैसा नपाएपछि प्रतिवादी बनाइएको उनले दाबी गरेका छन् ।

अनलाइनखबरसँग कुराकानी क्रममा उनले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीमाथि समेत गम्भीर आरोप लगाए ।

ज्ञवाली नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने अधिकृत हुन् । त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उनलाई उपत्यका प्रहरी प्रमुखबाट हटाइएको थियो ।

‘उहाँले आईजीपी बन्ने बेला एक करोड रुपैयाँ माग्नुभएको थियो, पछि मलाई उहाँले नै भाग्न लगाउनुभयो’, उनले भनेका छन् । तर, लगत्तै सीआईबीमा भगाउन लागेको भनेर सूचना दिएको उनले खुलाएका छन् ।

म सँग सम्बन्ध छैन : श्याम ज्ञवाली

प्रहरी अतिरिक्त महानिरीक्षक श्यामराज ज्ञवालीले भने चलाउनेसँग आफ्नो सम्बन्ध नभएको बताएका छन् ।

आफूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा काम नगरेको भन्दै उनले चलाउनेको विषय आफूसँग सम्बन्धित नभएको बताएका हुन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘पहिले उन्मुक्ति पाउने स्थिति थियो, अहिले थ्रेट महसुस भएपछि यस्तो भनेको होला, त्यसबाहेक मेरो ऊसँग केही सम्बन्ध छैन ।’

बरु आफूले राम्ररी अनुसन्धान गर्न आग्रह गर्दा सीआईबीका अधिकृतले नै ‘तेरोविरुद्ध फलानो लागेको छ भनिदिएको’ ज्ञवालीले आरोप लगाए ।
‘अनि, जहाँसम्म पैसाको कुरा छ, त्यो बेबकुफ कुरा हो । त्यस्तो घनिष्ठ सम्बन्ध हो भने मेरोविरुद्ध बोल्ने नै थिएन होला नि !’, उनले थपे ।

थप जीवन चलाउनेको भनाइ जस्तोको तस्तै :

नमस्ते म जीवन चलाउने । लामो समयदेखि आफ्नो मनको कुरा भन्न मन लागेको थियो । तर समय मिलेको थिएन । अहिले मैले अनलाइनखबरलाई रोजे‌ं । मलाई यसरी अभियोग लगाइयो । म खाद्यान्न र रियल स्टेट बिजनेस गर्दै आइरहेको थिएँ १८ वर्षदेखि । मैले धेरै दुःख गरेर माडवारीकोमा काम गर्दागर्दै, सिक्दासिक्दै १६–१७ वर्षमा मैले एक हजार मानिसलाई रोजगारी दिंदै आइरहेको छु ।

विगत लामो समयदेखि व्यापार विजनेस गर्दै आइरहेको छु । त्यही सिलसिलामा ठमेलमा खाजा खान जाने बेलामा एक जना दावा भन्ने मान्छेसँग भेट भयो । म खाद्यको काम गर्ने मान्छे भएकाले उहाँले सामानहरू अर्डर गर्नुभयो । म जिरा, खाद्यान्न सामान बेच्छु । उहाँले सामानहरू अर्डर गर्नुभयो । उहाँले ४०–४० किलोको २ प्याक जिरा, धनियाँ अर्डर गर्नुभयो ।

उहाँले मलाई तिब्बतको लागि महिनामा ५०÷१०० ट्रक जति चामल चाहिन्छ भन्नुभयो । म खाद्यान्नको व्यापार गर्ने मान्छे, अब यस्तो क्राइसिसमा सामान लिन्छ भने ठिकै छ भन्ने भयो । अब यसो हेर्दा पनि त्यत्रो होटलको साहु राम्रै होला भनेर व्यापारिक तरिकाले कुरा अघि बढ्यो ।

मैले दावा भनेर नाम लिइएका व्यक्ति अहिले सुन प्रकरणमा पुर्पक्षमा थुनामा रहेका तिब्बतीयन मूलका बेल्जियन नागरिक हुन् । उनैसँगै व्यापारको सिलसिलामा कुराकानी भएको थियो । विगत ३ महिना अघि मात्रै उसँम मेरो चिनजान र कुराकानी भएको हो । अब कुरा हुने क्रममा उहाँले अरु सामानहरू पनि अर्डर गर्नुभयो ।

ल्वाङ, सुकुमेलहरू धेरै सामानहरू अर्डर गर्नुभयो । मैले उहाँको चाहिं भारतबाट गएर पार्टीसँग कुरा गरेर तिब्बत जान्छ एक्सपर्ट हुन्छ भने ल ठिक छ भनेर इन्डियाको पाटीसँग पनि कुरा गरेर आएँ । मैले इन्डियाको पाटीसँग पनि कुरा गरेको छु भनेर भनेको छु जुन म्यासेजमा त्यो चाहिँ मैले धनिया, जिराको पाटीसँग कुरा गरेको भएर त्यो म्यासेज हो ।

अनि उहाँले पछि मलाई क्लोजिङको बेला पैसा चाहिएको थियो । पैसा चाहिँदा उहाँले चाहिं मलाई २४ प्रतिशत ब्याजमा ५ करोड पैसा मिलाइदिन्छु भन्नुभएको थियो । मैले मेरो पेप्सीकोलाको जग्गाको पूर्जा पनि म्यासेजमा पठाएको छु । त्यो पुसिलकोमा पनि छ, २४ प्रतिशत ब्याजमा पैसा मागेको आफ्नो बैंकको व्यवहार मिलाउनका लागि ।

मैले बैंकको पैसा त समयमा तिर्न नसक्ने अवस्था भएको मान्छेले सुन त्यत्रो लगानी गर्छ र ?

म आफैं सीआईबीमा गएर बयान पनि दिएको हो । मलाई प्रतिवादी बनाउनुभन्दा एक हप्ता अघि गएर बयान दिएको छु । मेरो हर एसएमएसको जवाफ मैले दिएको छु । स्वयं त्यो दावा भन्ने मान्छेलाई अगाडि राखेर पुलिसलाई क्लियर गरेको छु । र, त्यो दावा भन्ने मान्छेले पनि यो मान्छे सुनमा छैन है भनेर उसले क्लियर गरेको छ । पुलिसहरूकै अगाडि क्लियर गरेको छ ।

त्यहाँ मलाई एसपी सन्जय थापा एसपीको अगाडि, सीसी क्यामेराको अगाडि मैले बयान दिएर स्टेटमेन्टमा ल्याप्चे लगाएर म निस्केको हो । मलाई कुनै त्यो तारेखमा छाडेको पनि होइन, केही पनि होइन ।

मैले दावालाई नै अघि राखेर तिम्रो मेरो कुनै त्यस्तो कारोबार छ भने ल भन्नुस् भन्दा उसले ल छैन भनेको छ । पुलिसमा र अदालतमा समेत यो मान्छे छैन भनेर बयान दिएको छ । दावाले म्यासेजमा भनेको गोल्डको कुन अर्थमा भनेको हो भने मसँग चाइनामा निकै इन्भेस्टरहरू छन् । नेपालमा व्यवसाय गर्न खोजिरहेका छन् । के छ भन्दा ल दावा त्यो खालका व्यवासायी छन् भने ल्याउनु न त ल्याउनुस् उद्योग धन्दा खोल्नुस्, राम्रो इन्भेस्टर छन् भने भन्ने खालको कुरामा त्यो प्रसंग आएको हो । त्यो चाहिं त्यस्तो हो ।

अनि अर्को कुरा मैले चाहिं उहाँसँग २४ प्रतिशत ब्याजमा पैसा माग्ने क्रममा उसँग मेरो कन्भरसेसन भएको हो । मेरो बैंकमा चाहिं अलि समस्या थियो । क्लोजिङको बेला थियो । पैसा तिर्नुपर्ने थियो । उसले हुन्छ–हुन्छ भनेर प्रलोभन देखायो तर गरेन । मैले त्यो म्यासेजमा त्यो पुलिसकोमा त्यो पूर्जा जीवितै छ ।

त्यसपछि चाहिं मैले सीआईबीमा बयान दिएर आएँ । सीआईबीमा म ५÷७ घण्टा बसेँ । मैले बयान दिएँ । स्टेटमेन्ट दिएँ । सन्जय थापाले सिग्नेचर पनि गर्नुभयो । तर भयो के भन्छु भने मलाई कहाँबाट फसाईयो भने कहाँबाट खेलियो ? म सुनमा छैन सबैलाई थाहा छ । सुनमा पर्ने मान्छे होइन सबैलाई थाहा छ । तर मलाई अहिले बलीको बोका बनाइएको छ । घुन पिसे जस्तो पिसिएको छ । यो सुनिजित षड्यन्त्र हो ।

यो कसको गेम भने म बयान दिएर निस्केपछि ३ दिनपछि एक जना डीएसपी दुर्गा दाहाल भन्ने आउनुभएको थियो । उहाँले मलाई बाजेको सेकुवामा भेट्नुभयो । ५०–६० हजार बिल पनि तिरें । उहाँले ६० लाख अफर गर्नुभयो । पैसा दिनु प¥यो । सन्जय थापाको घर बन्दैछ भन्नुभयो, उहाँको एसपीको । अनि मैले भनेँ, मसँग त पैसा छैन । मैले कहाँबाट पैसा दिने । अनि ३० लाख त दिनुस् भन्नुभयो । मैले ३० पनि दिइनँ ।

पैसा नदिदाखेरी उहाँहरूले के गर्नुभयो भनेदेखि त्यो कुरा चाहिँ जीवनलाई छोडियो भनेर म्यासेज चाहिं एआईजी श्यामलाल ज्ञवालीलाई दिइयो । श्याम ज्ञवालीले चाहिं पहिल्यैदेखि मलाई फसाउन खोजिराख्नु भएको थियो । श्याम ज्ञवाली आईजी बन्नको लागि मसँग १ करोड पैसा माग्नुभएको थियो । तपाईलाई आज म खोल्दैछु, एक करोड पैसा माग्नुभएको थियो । श्याम ज्ञवालीले मलाई पहिला पनि फसाउन खोज्नु भएको थियो ।

श्याम ज्ञवाली हेडक्वाटर भएको मान्छेलाई उहाँ सीआईबी जीवन चलाउनेलाई किन छाडेको भनेर फोन गर्नुभएको थियो । यसरी फसाउन खोजिएको थियो । पछि उहाँले हालका गृहमन्त्री रविलगायत उहाँको टिमलाई उचालेर जीवन चलाउनेलाई छाडियो भनेर चाहिँ भनेका थिए । त्यसपछि रवि लामिछानेले त्यतिबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भनेर मेरो नाम जबरजस्ती जोडिर प्रतिवादी बनाइयो ।

त्यही श्याम ज्ञवालीले मेरो साथी जीवन बोलाएर भन्नुभयो, ‘जीवन तिमी भाग तिमीलाई समाउँदैछ ।’ तिमीलाई नराम्रोसँग हाल्छ, सरकारले फसाउँदैछ भनेर भन्नुभयो । ड्रग्स हाल्न सक्छन् जीवनलाई भगाईदेउ भने । यता श्याम ज्ञवालीले मेरो साथी रोशनीलाई हेडक्वाटरमा बोलाएर भगाउ भन्नुभयो । यता मलाई भाग भन्नुभयो ।

अनि उता सीआईबीमा फोन गरेर किन छाडेको भन्नुभयो ? उहाँले यो किन गर्नुभयो भने मेरो व्यापारिक प्रतिस्पर्धा एक जना उहाँको पार्टनर निराजनसँग छ, अहिले मैले उहाँको नाम लिइनँ । हो, उसको मार्केट मैले खाएको भएर मलाई डाउन गरेपछि उसको पार्टनरको राम्रो हुने भयो । एउटा यो कारण ।

अर्को कारण उहाँलाई सीआईबीमा आउनुछ । एआईजी किरण म्यामलाई बद्नाम गरेर उहाँलाई सीआईबीमा आउनुछ । एउटा उद्देश्य यो पनि छ । आईजीपी बन्नुछ उहाँलाई । अब सबै कुरामा मलाई फसाउने चाहिँ श्याम ज्ञवाली हुनुहुन्छ ।

६० लाख माग्ने पाटीले म व्यापारी भएकाले उहाँहरूले पहिल्यैदेखि मलाई टार्गेट गरेको थियो । त्यही अनुसार पैसा मागेको थियो । अब व्यापारीले कति जानालाई पैसा दिने ? पुलिसलाई दिने कि पत्रकारलाई दिने कलाई दिने ? आफूले केही गल्ती गरेको छैन । बैंकको पैसा तिर्न नसकेर बैंकले लिलामी गर्न लागिसक्यो कुरा गरेकै भरमा त्यो व्यापारिक कुरा गरेकी भरमा त्यो दावासँग कुरा गरेकै भरमा मलाई फसाइँदैछ । फसाइयो । आज मलाई माफिया बनाइएको छ । सुनमा १ लाख हाल्न नसक्ने हैसियतको मान्छे म ।

सुबु केसी भन्ने मान्छेलाई म सामान्य चिन्छु । मेरो एक जना दुबई बस्ने भान्जासँग चिनजान हो । एक जना पेम्बा भन्ने भाइसँग मेरो आर्थिक कारोबार हुन्थ्यो । उहाँसँग सरसापटी पनि चल्थ्यो । भाइसँग मैले ३०–४० लाख सापटी पनि लिएको थिए । चेक बापत लिएको थिएँ । उहाँको दिदीलाई अमेरिकामा गाह्रो पर्दा अमेरिका बस्ने मान्छेले ५, ७, १० हजार कति सापट पैसा एक जना भान्जालाई भनेर दिलाइदिएको थिएँ । त्यो ५–५ हजारले सुनको काम हुन्छ हजुर ? सुनमा अरब, खरबको कुरा छ, केश छ । मै हुँ भन्ने कस्तो कस्तो माफियाहरू यसमा आबद्ध छन् । यसमा हामीजस्तो निर्दोष मान्छेलाई फसाएर स्क्याण्डल बनाइँदैछ ।

म फेस गर्न तयार छु । म आफैं सरेन्डर पनि गर्दैछु । म २० वर्षदेखि दुख गरेर १ हजार जना मान्छेलाई रोजगारी दिएको ३७ वर्षको केटो आफ्नै देशमा केही गर्छु । आफ्नै देशमा केही गुर्नपर्छ, आफ्नै देशमा उत्पादनशील काम गर्नुपर्छ, आफ्नै देशमा रोजगारी दिनुपर्छ भनेर यत्रो मान्छेलाई रोजगारी दिएको मान्छे, सामाजिक काम गर्ने मान्छेलाई फसाउन खोजियो ।

मैले यो कुरा आयोगलाई पनि भनेको छ । सहकुल थापालाई पनि फोन गरेको छ । तर मान्छेलाई डर हुन्छ नि सर । अब पुलिसै लागेर पुलिस पुलिसको द्वन्द्वमा पारेर मलाई फसाउन खोजिंदैछ भने म कसरी आउनु ?

मैले केही नगर्दा त मलाई फसाइँदैछ । मैले भनेको अनुसार पैसा दिएको भए यो केही आउने पनि थिएन । यो व्यापारी हो यसलाई डसिहाल्नुपर्छ, यसलाई लुटिहाल्नुपर्छ भन्ने छ नि । एआईजीलाई भने सीआईबी जाँदा नै भेटेको हो मैले । नभए जीवनमा चिनेको पनि थिएन । सबै कुरा बुझेर यो मान्छे निर्दोष हो भन्ने सबै जनाले सल्लाह गरेपछि म बाहिर गएको हो । म कुनै भागेको होइन । बोलाउँदा जतिबेला पनि आउँछु भनेको हो ।

रुगम कुँवरलाई मेरो बारेमा केही थाहा छैन । उहाँ यो अनुसन्धान गर्ने सेक्सनमा पनि हुनुहुन्न । उहाँसँग गाउँको चिनजानको नाता मात्रै हो । उहाँलाई फसाउने रणनीति श्याम ज्ञवालीले पहिल्यैदेखि गर्नुभएको हो ।

पहिलाको गृहमन्त्रीसँग पनि उहाँको केही समस्या थियो होला अब अहिलेको गृहमन्त्रीलाई त सहकुल थापाकै आदेशमा समातेर चितवन पठाउनु भएको थियो क्यारे । अब त्यो रिस अब उहाँलाई फेर्दैछन् ।

अर्कोतर्फ सर्वेन्द्र खनालसँग मेरो एक कल फोन हुन्छ, न मेरो उहाँसँग चिनजान छ । मलाई स्क्याण्डल बनाइएको छ । मलाई बलीको बोको बनाइएको छ । पाँच महिना भइसक्यो मेरो व्यापार व्यसाय ठप्प बनाइएको छ । मैले एक हजार मानिसलाई रोजगार दिएको छु । अब सब बेरोजगारी भइसके । समाज सेवा गरेर काम गरेका मान्छेलाई यही सजाय ? देशबाट पलायन हो भन्ने ? यस्तो पनि हुन्छ ? कानून त्यस्तो पनि हुन्छ ? म भाग्ने भए त त्यतिबेलै भाग्थें होला नि ।

बयान दिएर आएको सात दिनपछि मेरो नाम जबरजस्ती मेरो राजनीतिक दबाबमा हालियो । यो सबै ग्राण्डडिजाइन श्याम ज्ञवालीले बनाउनुभयो । अहिलेको गृहमन्त्रीज्युलाई उहाँले प्रयोग गरिराख्नुभाको छ । अब हेर्नुस् यो सबै खेल उहाँ सीआईबीमा आउनलाई गर्नुको म त बलीको मात्रै भको । म सुनको काम गर्ने मान्छे होइन । यो दुनियाँलाई थाहा छ । ८० प्रतिशत पुलिसलाई थाहा म निर्दोष छु भनेर ।

दावासँग गोप्य भनेर गरिएको कुराकानी उहाँसँग मैले ५ करोड पैसा मागेको थिएँ उसले चाहिँ बजारभरी भल्ला ग¥यो । जीवनले ५ करोड ब्याजमा माग्यो भनेर हल्ला ग¥या भएर दाई अलि गोप्य कुरा गर्नुछ तपाई यहाँ आउनुस् त भनेर त्यो प्रयोजनका लागि भनेको हो हजुर ।

अब म चाँडै आएर अदालतमा सरेन्डर गर्छु । म आफ्नो देशमा केही गर्नुपर्छ, आफ्नो देशमा उद्योगधन्दा खोलेर व्यपार व्यवसाय गर्नुपर्छ भनेर भनेको हो । म त नेपालीमा एक जना नमूना मान्छे हो । धेरै दुख गरेर यहाँसम्म आइपुगेको मान्छे हो । कतिलाई रोजगारी दिएको छु भन्ने कुरा हजुरले अनुसन्धान पनि गर्नसक्नुहुन्छ ।

आज मेरो अफिसमा ताला लाग्ने अवस्था भयो । बैंकको त्यतिबै करोडै रुपैयाँ लोन छ । बजारमा त्यतिकै छ मेरो करोडौ पैसा डुब्ने भयो । एक जना पत्रकार शालिकराम झुण्डिएर मरेका थिए नि हजुर मलाई त त्यस्तो बनाइदैछ । दुई चोटी मैले सुसाइड गर्न एटेम गरिसकें । मैले २० वर्ष गरेको मेरो मेहनत सकाइदिए यिनीहरूले । मैले जबकी सुनको ‘स’ पनि मलाई थाहा छैन ।

ज्यानलाई खतरा छ तँलाई फसाउँछै छ भनेर श्याम ज्ञवालीले भनेपछि आफ्नो ज्यानको डर हुँदैन ? मेरो दुई वटा बच्चा चाहिँ कसले पाल्छ हजुर ? यत्रो मेरो ५, ६ सय ८ सय, ९ सय करोडको तेत्रो सम्पत्ति छ करोडौ लोन छ म कहाँ भाग्छु ? म भाग्ने मान्छे हो ? भाग्दैन नि म ।

आएर आफ्नै देशमा मर्छु, आफ्नै देशमा केही गर्छु भनेर ३७ वर्षको उमेरमा बसन्त चौधरीसँग आर्मीको ठेक्का खोसेर २ अर्ब रुपैयाँको ठेक्का गर्ने मान्छे म । हजारौं जनालाई रोजगारी दिएको छु आफ्नो देशमा मैले । नेपालमै केही गर्नपर्छ भन्ने मान्छे । यही हो व्यापारीलाई काम गर्ने वातावरण ? म दिल्लीमा छु अहिले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?