
दीपक मनाङेले एमालेका खगराज अधिकारीलाई पोहोरै सल्लाह दिएका रहेछन्, ‘केन्द्रमा जेसुकै होस् कमरेड, हामी गण्डकीमा तीनवटा कम्युनिस्ट पार्टी मिलौं ।’
मनाङेले केपी ओलीका विश्वासपात्र अधिकारीलाई सही सल्लाह दिइरहेका थिए, तर गलत समयमा । एमालेले माओवादीलाई पार्टी होइन, केन्द्र मात्रै हो भनिरहेका बेलामा, अनि एकीकृत समाजवादीलाई अस्तित्व सकार्न नमानिरहेका बेला मनाङेको अर्ति–बुद्धि वा धम्कीले चल्नेवाला थिएन ।
यो एक वर्षमा एमाले, माओवादी र एकीकृत समाजवादी वाम सहकार्य सहितको नयाँ सत्ता गठबन्धनमा त आइपुगे । मनाङे भने कांग्रेसको गण्डकी–गठबन्धनतिर लहसिएका छन् । उनले आइतबार दिउँसो मात्र गण्डकी प्रदेश सभा सचिवालयमा पत्र लेखेर आफू एकीकृत समाजवादीमा नरहेको घोषणा गरेका थिए । उनका विचारमा अब उनलाई कुनै ह्वीप लाग्दैन ।
यो संयोग नै हो, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट गण्डकीका सांसद रहेका मनाङे आइतबारसम्म एउटा यस्तो कम्युनिस्ट पार्टीलाई प्रतिनिधित्व गर्दै थिए, जसका केन्द्रीय महासचिव घनश्याम भुसाल छन् । भुसाल पनि त्यही त भन्दै थिए, ‘कम्युनिस्टहरु मिलौं ।’ मनाङे पनि त्यही भन्दैथिए, ‘कम्युनिस्टहरु मिलौं ।’ यो बेग्लै कुरा हो कम्युनिस्ट मिलेर सरकार बनाउने बेलामा मनाङे अन्तै छड्किए ।
कम्युनिस्ट मिलौं– भुसाल यही एकताको कुरालाई अर्थ–राजनीतिक विश्लेषण र ऐतिहासिक घटनाहरुको विवेचना सहित भन्छन् । मनाङे त्यसलाई ट्वीटमै अटाउन पुग्ने भाषामा भन्छन् । व्याख्यामा अल्झिन उनलाई साह्रै अनुत्पादक लाग्छ । इतिहास त उनलाई सम्झनै मन पर्दैन, आफ्नो होस् या अरुको ।
मनाङे नेकपा एसमा छिर्नुअघि पोहोर मंसिरको प्रदेश सभा चुनावमा स्वतन्त्र हैसियतमा निर्वाचित भएकाले उनलाई पार्टीले कारबाही गर्न नसक्ने हार्दिक अपेक्षामा छन् । भुसालले यसअघि जे भन्दै आएका भए पनि एसका अध्यक्ष माधव नेपालले हिजो आइतबार मात्रै अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।
त्यो अपानिमा पार्टी एकताको भ्रम नराख्न कार्यकर्तालाई अपील गरिएको छ । हिजै बिहान यो पंक्तिकारसँग अनौपचारिक संवादका क्रममा एमाले अध्यक्ष केपी ओलीले यो बेला नेकपा एससँग कुनै पनि खालको एकता प्रयास हुन नसक्ने ठोकुवा गरेका थिए । ओली अहिलेको राजनीतिका अधिकांश अनुहार लिएर चुनावमा गए जित्न नसकिने बुझाइ राख्छन् ।
त्यसैले मनाङे साँचो अर्थमा राजनीतिक मूल्यमान्यता र सिद्धान्त कति बुझ्छन् थाहा छैन, तर उनले व्यवहारवादी राजनीति बुझिसके । उनलाई थाहा छ, एक त माधव नेपाल र केपी ओली तत्काल एउटै पार्टीका दुई नेताका रुपमा मिल्न सक्दैनन् । यदि मिलेछन् नै भने पनि त्यो अँगालो केवल सत्ताका लागि हुनेछ । जुन सत्ताका लागि सुदूर भविष्यमा एकता हुनसक्छ, त्यो त मनाङे आजै कांग्रेससँग मिलेर प्राप्त गरिरहेका छन् । उनी आजै केन्द्रमा बनेको वाम बाहुल्यको गठबन्धनलाई चुनौती दिंदै कांग्रेससँग प्रादेशिक स्वायत्तताको अभ्यास गरिसके ।
केन्द्रले जे–जे भन्यो, प्रदेशले त्यही खुरुखुरु मान्दै जाने होइन भनेर ‘संघीय सन्देश’ दिइसके । भोलि कुनै बेला पार्टी एकता होला भनेर मनाङे आज मन्त्री गुमाउन चाहँदैनन् । जसरी, भोलि कुनै बेला समाजवाद आउला भनेर कुनै मजदुरले आज रोटी गुमाउन चाहँदैन । जनवादी केन्द्रीयता घनश्याम भुसालहरुलाई चाहिने हो, मनाङेहरुलाई होइन ।
मनाङे मात्रै होइन, स्वयं भुसालका बाध्यता हेर्दा लाग्छ– कि त भुसालले संसदीय राजनीति बुझेनन्, कि त मनाङेले कम्युनिस्ट बुझेनन् ।
मनाङेले स्वतन्त्र उम्मेदवार भएर पोहोर प्रदेश चुनावको मतदान हुनुअघि नै निर्विरोध जित्दैगर्दा भुसालले स्वतन्त्र उम्मेदवार भएर प्रतिनिधि सभा चुनाव हार्न पुगेथे । ओलीसँग पार्टी महाधिवेशनमा चुनौती दिएका भुसालले सजायस्वरुप एमालेबाट टिकट पाएनन् ।
बरु एमालेले राप्रपाका दीपक बोहरा, जसलाई ०७४ को चुनावमा उनै भुसालले भारी अन्तर सहित हराएका थिए, उसलाई समर्थन गरिदियो ।
एमाले छाडे पनि एकीकृत समाजवादीसम्म पुगिनसकेका भुसाललाई स्वतन्त्र उम्मेदवारका रुपमा त्रिभूज चिह्नमा जिताउन हालका प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवा समेतले भोट मागेका थिए ।
चुनावमा पराजयपछि पनि भुसालले कम्युनिस्ट एकताको कुरा गर्न छाडेनन् । पछि त उनी एकीकृत समाजवादीको महासचिव भइहाले, जहाँ मनाङे पहिल्यै प्रवेश गरेर संसदमा तत् पार्टीको लहरमा बस्न थालिसकेका थिए ।
त्यस अर्थमा घनश्याम भुसालले ‘आजको मार्क्सवाद’ बढ्ता बुझेका होलान्, तर मनाङेले ‘आजको राजनीति’ बढ्ता बुझेका छन् । यहाँ अंकगणितले ठुलो अर्थ राख्छ जसलाई भुसाल दलाल पूँजीवाद र यसले थोपरेको नैतिक संकट भनी व्याख्या गर्ने गर्छन् । यसको भासमा मनाङे मात्रै होइन स्वयं एमाले, माओवादी केन्द्र र नेकपा एस समेत कुनै न कुनै रुपमा जाकिइसकेका छन् ।
भुसाललाई एजाज अहमद, डेभिड म्याकलेलन र रोजा लक्जेम्बर्गका पोथा कण्ठै होला, मनाङेलाई त्यसको कुनै ‘वाल’ छैन । भुसालले व्याख्या गर्ने दलाल राजनीतिको भासमा उनकै दल भासिइसकेको छ । मनाङे एक्लैलाई आत्मालोचना गर्न लगाएर वा निष्काशन कारबाही चलाएर नेकपा एस सुग्घर बसिराख्ने सुविधामा छैन ।
प्रतिक्रिया 4