१९ भदौ, पोखरा । केन्द्रमा गठबन्धन बनेको डेढ महिनासम्म गण्डकी सरकारमा एमाले सहभागी भएन । तर जब एमाले सहभागी भयो, मन्त्री छनोटलाई लिएर संसदीय दलका नेता खगराज अधिकारीप्रति चर्को असन्तुष्टि देखिएको छ ।
दुई वटा मन्त्रालय पुटाएर ४ वटा एमालेलाई दिन सहमत भएपछि अधिकारीले सोमबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मन्त्रीहरुको नाम बुझाएका थिए ।
अधिकारीले मन्त्री बनाउन चाहेकाहरुलाई तयार रहन भनेका थिए, तर अरु सदस्य बेखबर थिए ।
मन्त्रीका आकांक्षीहरुमध्ये एक सांसद भन्दै थिए, ‘खगराज माननीयज्यूले आजसम्म जोगाएकै नैतिकता हो, आफूसँग नजिक भएका व्यक्तिलाई रोजे पनि विरोधै गर्ने पात्र रोज्नुहुन्नँ ।’
गण्डकीमा मन्त्री हुनेको नाम सार्वजनिक भएदेखि एमाले वृत्तमा ठूलै आक्रोश देखिएको छ ।
एमालेकै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र उनकै समूहका पनि एमालेभित्र लामो समयदेखि त्याग गरेका आकांक्षी हुँदाहुँदै राप्रपाबाट प्रवेश गर्नेबित्तिकै सांसद पाएका प्रकाशबहादुर केसीलाई मन्त्री बनाएको असन्तुष्ट देखिएका छन् ।
खगराजले उनलाई मन्त्रीमात्रै बनाएनन्, नेतृत्व गरेर जाने पद्मा जिसी श्रेष्ठलाई कृषि मन्त्रालय दिएर सरकारको करिब ६० प्रतिशत बजेट भएको शक्तिशाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नै बनाइदिए ।
पछिल्लो एक हप्तादेखि एमालेबाट मन्त्री बन्नेहरुको सम्भाविन नाममा प्रकाशबहादुर पनि थिए । तर एमालेकै नेताहरुले खगराजले त्यत्तिसम्म चाहिँ नगर्ने बताइरहे । उनीहरुको भरोसा थियो, ‘एक त केसीलाई खगराजले मन्त्री नै बनाउँदैनन्, बनाइहाले भने पनि भौतिक पूर्वाधार चाहिँ बनाउँदै बनाउँदैनन् ।’
तर संसदीय दलका नेता अधिकारीले त्यही गरेपछि नेता कार्यकर्ताले असन्तुष्टि पोखेका छन् ।
राप्रपाबाट खाद्य संस्थानको अध्यक्ष भएका केसीलाई समानुपातिक सांसद बनाएकै बेला विरोध भएको थियो । अहिले उनैलाई भौतिक पूर्वाधार मन्त्री बनाइएको छ ।
समूह वा गुट नमिलेकै कारण योगदान, त्याग र संगठन बनाएका नेताहरुलाई पन्छाएको र स्वार्थ बाझिने गरी शक्तिशाली मन्त्री बनाएको उनीहरुको आरोप छ ।
‘उहाँलाई के कुरा आइलाग्यो र एक से एक सांसद हुँदा हुँदै केसीलाई नै भौतिक पूर्वाधारजस्तो शक्तिशाली मन्त्री बनाउनुपर्यो ?’, खगराज पक्षकै एक सांसदले भने, ‘कि उहाँले पार्टी पंक्तिलाई विश्वास दिलाउनुपर्यो, होइन भने प्रश्न उठिरहन्छ ।’
एमाले संसदीय दल सचेतक देवका पहारीले सांसद रहेका जो कोही मन्त्री बन्नसक्ने भएपनि जनताले पनि परीक्षण गरिरहेका हुँदारहेछन् भन्ने देखाएको टिप्पणी गरेकी छन् । मन्त्रिपरिषदमा एक तिहाई महिला पुर्याउन पनि दलहरु चुकेको उनले बताइन् ।
पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष दिलिप न्यौपाने पनि तल्लो तहबाट असन्तुष्टिको स्वर सुनिएको बताउँछन् । ‘बहुसंख्यक नेता कार्यकर्ताको भावनाको प्रतिनिधित्व कसरी हुन्छ भन्ने सोचेर निर्णय गर्दा उपयुक्त हन्थ्यो,’ उनले भने ।
सांसद लिलबहादुर थापाले पार्टीको पोलिटब्यूरो बैठकमै मन्त्री छनोटमा असन्तुष्टि पोखेका छन् ।
पोलिटब्यूरो सदस्य थापाले गण्डकीमा निराशा पैदा गर्ने काम भएको भन्दै लिखित रुपमै बैठकमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
‘सरकार गठन गर्दा गण्डकीमा पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य लगायत कयौं जिम्मेवार कमरेडहरु हुँदाहुँदै पार्टीमा योगदान गरेकाहरुलाई कदर गर्न नसकेकाले व्यापक असन्तुष्टि बढेको छ’, थापाले मंगलबारको बैठकमा भनेका थिए ।
गण्डकीको मन्त्रिपरिषदको गठन गर्न संविधानको सिद्धान्तलाई पनि लत्याइएको बताए । ‘उचित योगदान गरेकालाई पन्छाइएको छ, समावेशी सिद्धान्तलाई लत्याइएको छ । मन्त्रिपरिषदमा खसआर्यको मात्र बाहुल्यता देखिएको छ’, थापाले अनलाइनखबरसँग भने ।
मन्त्रीका आकांक्षी भीम कार्कीले पनि मन्त्री छनोटको मापदण्डबारे संसदीय दलमा आवाज उठाउने बताए । मन्त्री छनोटको विषयमा कार्यकर्ता तहबाटै असन्तुष्टि र आक्रोस आइरहेको उनको भनाइ छ ।
‘नेतृत्वले निर्णय गर्दा तलका भावनालाई प्रतिनिधित्व नगरेको आभास भइरहेका छन् । हामीले पायौं, पाएनौं भन्ने प्रमुख विषय होइन । प्रमुख विषय त जनतामा यसले कस्तो सन्देश दियो भन्ने हुन्छ’, कार्कीले भने, ‘नेता कार्यकर्ताले सामाजिक सञ्जालमाथि प्रश्न उठाइरहेका छन्, ब्यंग्य गरिरहेका छन्, असन्तुष्टि पोखिरहेका छन् ।’
एमाले संसदीय दल, गण्डकीका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने मन्त्री सामाजिक सञ्जाल वा बाहिरका मान्छेले छान्ने नभई संसदीय दल र नेताले छान्ने बताए ।
४ जना मन्त्री बनाउँदा धेरै असन्तुष्ट हुनसक्ने तर विधि प्रक्रिया नमिचेको उनको भनाइ थियो । संसदीय दलका साथै बोर्ड बैठकले सबै निर्णय गर्ने अधिकार दल नेतालाई दिइएको उनले बताए । त्यसपछि पनि दल नेताले केन्द्रीय नेताहरुसँग समन्वय गरेर मन्त्रीहरुको नाम टुंगो लगाएको नेपालीले बताए ।
गण्डकी एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूह छ ।
यो पटक खगराज समूहबाट कास्कीका केसी भौतिक पूर्वाधार र बागलुङका कृष्ण पाठक स्वास्थ्य मन्त्री बनेका छन् । पृथ्वीसुब्बा समूहबाट नवलपुरकी पद्मा जिसी श्रेष्ठ सरकारमा एमालेको नेतृत्व गर्ने गरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्दा पर्वतका मित्रलाल बस्याल पर्यटनमन्त्री भएका छन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4