+
+

हलमा लागे ‘फर्की फर्की’ र ‘पुजार सार्की’, ओपनिङ अकुपेन्सी कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १२:१७

काठमाडौं । बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि रिलिज भएका दुई नेपाली फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गर्ने देखिएको छ । काठमाडौं उपत्यका र बाहिरका हलमा बिहानैदेखि दुवै फिल्मको अकुपेन्सी सुखद् छ, जुन पहिलो सप्ताहन्तका लागि राहतपूर्ण खबर हो ।

बिहीबार बिहान ३० देखि ४० प्रतिशत अकुपेन्सी हाराहारीमा प्रदर्शन थालेका दुवै फिल्मले अपरान्हदेखि पिकअप लिने देखिन्छ । अनमोल केसी स्टारर ‘फर्की फर्की’ले काठमाडौंका मुख्य मल्टिप्लेक्स चेनसहित पोखरा, बुटवल, नारायणगढ लगायतका सहरी क्षेत्रमा राम्रो अकुपेन्सी आत्मसात गरेको छ ।

क्यूएफएक्स र एफक्युब लगायतका हलमा बेलुकासम्मै ‘फर्की फर्की’को अकुपेन्सी शतप्रतिशत हुने देखिन्छ । प्रिमियरबाट ‘वर्ड अफ माउथ’ पनि सकारात्मक आएकाले यसको फाइदा सप्ताहन्तको ओपनिङमा पर्ने निश्चित छ । फेन्टासी जनराको यो फिल्मको लक्षित समूह सहरी क्षेत्र र त्यसमा पनि युवावर्गका हुने देखिन्छ ।

‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ लगायतको शीर्ष भूमिका छ । यसको रनटाइम १४६ मिनेट छ ।

‘पुजार सार्की’ले काठमाडौंका मुख्य मल्टिप्लेक्स चेनसहित उपत्यकाबाहिरका हलमा समेत राम्रो अकुपेन्सी प्राप्त गरेको देखिएको छ । मध्यान्हदेखि दिनेश राउत निर्देशित फिल्मले पिकअप लिएको छ । दमौलीजस्ता साना स्टेसनमा पनि फिल्मको अकुपेन्सी मध्यान्हमा ५० प्रतिशत पुग्नु यसको राम्रो पक्ष हो ।

‘पुजार सार्की’ सामाजिक कथावस्तुमा आधारित फिल्म हो । २०४६ सालको जनआन्दोलनको सेटिङमा तयार भएको यो फिल्ममा मुख्य पात्रले जातीय विभेदविरुद्ध गर्ने संघर्षको कथावस्तु छ ।

‘पुजार सार्की’मा आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का, परीक्षा लिम्बू र अञ्जना बराइलीको शीर्ष भूमिका छ । यसको रनटाइम १३८ मिनेट छ ।

‘फर्की फर्की’ फेन्टासी र ‘पुजार सार्की’ सोसल-ड्रामा फिल्म भएकाले एकअर्काले अर्को फिल्मको व्यापार प्रभावित तुल्याउने सम्भावना देखिंदैन । किनभने आफ्नो रुचिअनुसार दर्शकलाई फिल्म हेर्ने सुविधा छ ।

हल सञ्चालकले शुक्रबार र शनिबारको शो पनि प्रकाशित गरेका छन् । जसमा शुक्रबार रिलिज तयारीमा रहेको ‘म्याड म्याक्स : फ्युरिओसा’ र चलिरहेको ‘बोक्सीको घर’ले पनि शो प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?