२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्र आफूले बुझ्न नसकेको बताएका छन् ।
कांग्रेससँग असमझदारी भएर नभई सरकारको गति बढाउने हुटहुटी, अनि वाम एकताको भावुक बहकाउमा लगेर एमालेसँग गठबन्धन गरेको उनले बताए ।
तर त्यो षड्यन्त्र रहेछ भन्ने ढिलो मात्र थाहा पाएको आफ्नो आजको अवस्था, १० पुसमा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तै भएको प्रचण्डले बताए ।
कांग्रेस र एमालेले १७ पुसमा नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए । त्यससँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै भने, ‘तेज गतिमा सरकार चलाउने हुटहुटी अनि अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो ।’
यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षमता–कला तारिफ गर्न लायक रहेको उनले बताए । ओली बराबर अरु कोही नभएको भन्दै उनले भने, ‘मलाई राम्रो फकाउनुभयो, वामपन्थी मिल्नुपर्छ । कांग्रेस को हो धेरैधेरै । म मान्छे यस्तै, अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी भनेपछि विश्वास गर्ने ।’
‘वामपन्थी नै परेँ, कम्युनिस्ट एकता गरौं, पश्चिम बंगाल जस्तो भइन्छ अर्को चुनावमा त भनेपछि हो त नि भन्ने लाग्यो’ उनले अगाडि भने, ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन ढिलो गरेँ ।’
उनले ओलीतर्फ संकेत गर्दै भने, ‘केही मान्छेहरु कहिल्यै पनि कुन्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाब नै गर्न सकिनँ ।’
समयक्रमसँगै मानिसमा सुधार हुने विश्वास गरेको र लामालामा, मिठा भरोसापूर्ण सम्वादहरुबाट लठ्ठिएको उनले बताए । स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेपछि त मख्ख परेको उनले बताए ।
‘यो १७ को बिहान स्वर्ग र नर्क सँगै जाने, ०८४ को चुनाव वामन्थीहरु मिलेर लड्ने, त्यसपछि पार्टी पनि एउटै बनाउने ढुक्क हुनुस् भनेपछि म त मख्ख परेँ,’ उनले अगाडि भने ।
बाहिर पत्रपत्रिकामा विभिन्न कुरा आएको भए पनि मुल नेतृत्वले नै स्वर्ग गए पनि सँगै नर्क गए पनि सँगै भनेपछि पत्याएको उनले बताए । ‘म फुर्किँँदै क्याबिनेटमा गएँ,’ मन्त्रीहरुले अरु नै भन्दा पनि आफूले केही हुन्न ढुक्कसँग काम गर्नुस् भनेको भन्दै उनले भने, ‘कति लाटो म !’
प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘मलाई कस्तो लाग्छ भने मैले कांग्रेससँग गठबन्धन छाडेर एमालेसँग प्रधानमन्त्री हुँदा कांग्रेस अध्यक्षको मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ । झुक्याइएँ म, यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’
उनले आफ्नो जस्तो अनुभव नयाँ गठबन्धनमा नहोस् भनेर कांग्रेस–एमालेलाई शुभकामना समेत दिएका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4