+
+

ट्रेन्डिङमा तीज गीतको वर्चस्व, विवादित गीत परेनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते १२:५८

काठमाडौं । तीज पर्व नजिकिंदै गर्दा युट्युब ट्रेन्डिङमा तीज गीतको वर्चस्व देखिएको छ । शीर्षस्थानमा शान्तिश्री परियारको गीत ‘काली पसम् कि’ छ । दुई साताअघि रिलिज भएको यो गीतलाई ३५ लाखभन्दा धेरै पटक हेरिएको छ ।

यस वर्षको सुपरहिट नेपाली फिल्म ‘बोक्सीको घर’को सेट र कोरियोग्राफीको झल्को दिने यो गीतको भिडियोलाई दर्शकले रुचाएको देखिन्छ । ट्रेन्डिङको दोस्रो स्थानमा अस्मिता डल्लाकोटी र शक्तिकुमार गोदारको ‘पीर कल्लाई छैन र’ छ ।

तेस्रो स्थानमा पशुपति शर्मा र प्रिया भण्डारीको ‘मै लुरी’ स्ट्रिमिङ भइरहेको छ । त्यसपछि क्रमशः शान्तिश्री परियारको अर्को तीज गीत ‘थोरै थोरै लाज’ छ । सुनिता बुढा र समीक्षा अधिकारीको ‘बरिलै बरिलै’ पनि ट्रेन्डिङमा छ ।

पशुपति शर्माको ‘मनैमा पाप छैन हाम्रो’, शान्तिश्री परियारको ‘धनगढी’ पनि ट्रेन्डिङमा छ । ट्रेन्डिङमा शान्तिश्रीका दुई गीत रहेपनि उनको स्वर रहेको चर्चित र विवादित गीत ‘विस्ताराले पोल्यो’ भने सूचीमा छैन । गत साता विज्ञप्ति जारी गर्दै शान्तिश्रीले दर्शकको भावनामा ठेस पुगेको भन्दै माफी मागेकी थिइन् ।

अपाच्य भन्दै पछिल्लो समय विवादित अन्य गीत पनि ट्रेन्डिङमा देखिएका छैनन् । जसमा शान्तिश्रीको विस्ताराले पोल्यो, कविता खत्री र भागिरथ चलाउनेको ‘दिउँला बरिलै’, प्रीति आलेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, प्रीति आले र प्रकाश शर्माको ‘चियर्स बियर’ छन् ।

ट्रेन्डिङ र चर्चामा आएका गीतको शैली र भाव हेर्दा लाग्छ, पछिल्ला वर्षमा तीज गीतको सन्देश र मर्ममा बदलाव देखिन थालेको छ । रत्यौली जस्तै लाग्ने तीज शैलीका गीतमा महिलाको विरह र वेदनाभन्दा पनि युट्युब भ्युजका लागि ‘द्विअर्थी’ स्वरुपमा देखिन थालेका छन् ।

सामाजिक सञ्जालमा पनि पछिल्लो समय तीजका गीतबारे चर्चा हुन थालेका छन् । पछिल्लो समय महिलाको आत्मविश्वास र भूमिका बढेसँगै तीजको गीतको स्वरुपमा पनि परिवर्तन देखिन थालेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?