+
+

‘हामीले त माटो बिगार्ने कुनै काम गरेका छैनौं’

एउटा गरामा वर्षको ८०/८५ डोको मल राख्ने गरेका छौं । एउटा दुहुनो गाई छ, त्यसको गोबरमा वनबाट ल्याएको पतकर मिसाएर मल बनाउँछौं । हाम्रोतर्फबाट माटोलाई बिगार हुने केही काम गरेका छैनौं ।

नोर्की लामा हेल्मु (६०), किसान, हेलम्बु नोर्की लामा हेल्मु (६०), किसान, हेलम्बु
२०८१ कात्तिक २ गते ११:००
नोर्की लामा हेल्मु, बारीमा उत्पादन भएको मुलाबाट बनाइएको चाना बेच्नका लागि पाथीमा नापेर झोलामा राख्दै । उनीसहितका किसानले आफूलाई खान राखेर बढी भएको बेच्ने पनि गर्छन् ।

धेरै वर्ष पहिले एकचोटि माटो जाँच गर्ने भन्दै टोली आएको थियो । त्यो बेला हाम्रो बारीको माटो पनि जँचाएका थियौं । तर त्यसमा के देखियो भन्ने चाहिं थाहा भएन । उनीहरूले भने जस्तो नि लाग्दैन । कति वर्ष भयो भन्ने पनि याद छैन । झण्डै १० वर्ष भयो होला ।

त्यसपछि कोही आएको पनि थाहा छैन । हामीले पनि माटो जाँच त गरेका छैनौं । कहाँ लैजाने पनि त थाहा हुनु पर्‍यो । अहिलेसम्म गोबर मल बाहेक केही हालेको छैन । विषादी प्रयोग गर्दैनौं । माटो ठिकै होला त जस्तो लाग्छ ।

तर, फेरि उत्पादनमा कमी आएको देख्दा केही भयो कि जस्तो नि लाग्छ । के भएको हो चाहिं थाहा छैन । म ६० वर्षकी भएँ, अहिलेसम्म बारीमा रासायनिक मल राखेको, बालीमा विषादी हालेको थाहा छैन ।

एउटा गरामा वर्षको ८०/८५ डोको मल राख्ने गरेका छौं । एउटा दुहुनो गाई छ, त्यसको गोबरमा वनबाट ल्याएको पतकर मिसाएर मल बनाउँछौं । माटोलाई गोबर मल राम्रो हुन्छ भन्ने सुन्दै आएको हो । बा-आमाको पालामा पनि यही भन्थे । त्यसैले हाम्रो तर्फबाट माटोलाई बिगार हुने केही गरेका छौं जस्तो त लाग्दैन ।

तर, केही वर्षयता मौसमले भने खासै साथ दिएको छैन । यहाँ हुने भनेको आलु, मुला, सिमी र करु (उवा) हो । तर अचेल हिउँदमा निकै कम हिउँ पर्न थाल्यो । वैशाख, जेठमा आलुलाई चाहिने बेलामा पानी पर्दैन । त्यसले उत्पादन पहिले भन्दा कम भएको जस्तो लाग्छ । माटो मलिलो भए पनि चाहिने अरू कुरा नपुगेपछि फल्न गाह्रो भएर होला ।

आफ्नो जस्तै माटोको पनि जाँच गर्न पाए त राम्रो हुनेथियो नि ! तर, मलाई सताउने अर्कै कुरा छ । गाउँभरि आधाभन्दा बढी खेतबारी बाँझै छन् । मान्छे जति बसाइँ सरेर गए । गाउँमा भएका बुढापाकाले खेती लगाउन सक्दैनन् । यस्तो राम्रो खेतबारी बाँझो बसेको देख्दा हाम्रो पनि त्यस्तै हुन्छ कि भन्ने पीर लाग्छ ।

छोराछोरीको काम हामीलाई आउँदैन, उनीहरू काठमाडौं छन् । हाम्रो काम उनीहरूले गर्न मान्दैनन् । यो बारीमा आलु, मुला फल्ने हामीले सक्ने बेलासम्म मात्रै हो जस्तो लाग्छ । करिब ३० वर्ष अघिसम्म यहाँ स्याउ फल्थ्यो । हेलम्बुको स्याउ भनेर काठमाडौं बेच्न लैजान्थे । खेती गर्ने मान्छे भए आलु, मुला त भइरहने थियो होला । तर त्यो पनि खै के हुने हो छोराछोरीको पालोमा ।

बाँझो जमिन देख्दा मन दुख्छ । विषादी नपरेको खाना पाउनु त ठूलो कुरा हो नि ! अझै पनि छोराछोरीलाई चाहिने सामान सकेसम्म यहींबाट पठाउँछु । तर, सबैले बारीको माया मारेको देख्दा यस्तो कतिञ्जेल गर्न सकिएला र जस्तो लाग्छ ।

(सिन्धुपाल्चोक हेलम्बु सेर्माथाङ्गकी किसान लामा हेल्मुसँग पत्रकार टंक ढकालले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?