१४ कात्तिक, काठमाडौं । चिनियाँ बजार रिउको नजिकै रहेको पुरानो ओलाङचुङगोला बजार पहिलेजति गुलजार त छैन । तर सन् १९५६ मा चिनियाँ नाका खुलेपछि झन् बढी चर्चामा आएको यो बजारको अझै पनि व्यापारिक र रणनीतिक महत्व भने घटेको छैन ।
पहिले डेढ सय जति घर रहेकोमा केही वर्षअघि तमोरको बाढीले थुप्रै घर बगायो । अनि कति त बास छाडेर ताप्लेजुङ बजार, मधेश र काठमाडौं पुगे । यहाँबाट अमेरिका गएर बस्नेहरु पनि धेरै छन् ।
कोभिडपछि केही समय टिप्ताला नाका बन्द हुँदा ओलाङचुङगोलाको जीवन प्रभावित थियो । अहिले भने नाका सञ्चालनमा आइसकेको छ ।
पोहोर फागुनमा ओलाङचुङगोलामा पहिलोपल्ट गाडी पुग्यो । भलै यस वर्षको बाढी पहिरोले धेरै सडक क्षतविक्षत भइसकेको छ । यहाँ अझै पनि चिनियाँ नम्बर प्लेटका गाडी भेटिन्छन् । कुनै बेला प्रख्यात रिन्पोछे पद्मसंभवले ध्यान गरेको ओलाङचुङगोला बुद्ध धर्म प्रचारका लागि महत्वपूर्ण मानिन्छ ।
अघिल्लो साता अनलाइनखबरले यही पुरानो ओलाङचुङगोला बजार चियायो । त्यहाँका बासिन्दाले राडी, गलैंचा लगायत परम्परागत सामग्रीहरु बिक्री गरिरहेका दृश्य देखिए ।
तमोरको किनारमा रहेकाले यहाँ पानीको कमी त छैन, तर बिजुलीको राष्ट्रिय प्रसारण लाइन नजोडिएकाले नजिकैको लघुजलविद्युत्बाट बल्ने आंशिक बिजुलीले ओलाङचुङगोलाको जीवन चलेको छ ।
पुरानो घट्टालगायत मौलिक सम्पदा पनि देख्न पाइन्छ । अनि कम्तीमा ४५० वर्ष पुरानो ङाग्युर दिकी छोलिङ गुम्बा पनि यही ओलाङचुङगोलामै पर्छ ।
फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने ओलाङचुङगोलामा पुग्न भने सहज छैन । स्वयं वडाध्यक्ष क्षेतेन लामा शेर्पा आफू दुई दिनसम्म पैदल हिंडेर पालिका कार्यालय पुग्नुपर्ने बताउँछन् । दुर्गम तर विशिष्ट महत्वको ओलाङचुङगोलामा अर्कै किसिमको सौम्य हिमाली संसार छ ।
तस्वीरमा हेरौं ओलाङचुङगोलाको शान्त, सुस्त तर आकर्षक जीवन:
प्रतिक्रिया 4