या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।।
यमपञ्चकको तेश्रो दिन धनधान्य र समृद्धिकी देवी लक्ष्मीको व्रत, पूजा, अर्चना र साधना गरी लक्ष्मी पूजा मनाइन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मी पूजालाई सुख रात्रि पनि भनिन्छ ।
लक्ष्मीपूजाको दिन घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी घर आँगनमा गाईको हरियो गोबर तथा रातो माटोले लिपेर लक्ष्मी पूजा गरेमा लक्ष्मीले घरमा सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।
लक्ष्मी पूजाकै दिन लक्ष्मीको उपवास बसेर सन्ध्याकालमा स्नान गरी लक्ष्मीको पूजा गर्नुपर्दछ । पूजा कोठामा तामा वा काँसको थालीमा अष्टदल लेखी अष्टदलको बीचमा लक्ष्मीको सुवर्णप्रतिमा स्थापना गर्नुपर्दछ । त्यसपछि दियो, कलश र गणेश पूजा गरिन्छ ।
पहिले दियो बालेर हातमा कुश, द्रव्य, जौ, तिल र जल लिएर ‘मेरो घरमा मलाई वेद, पुराण, धर्मशास्त्रहरूले बताए अनुसार अहिलेसम्म प्राप्त गर्न नसकेकी लक्ष्मी प्राप्त होउन् र आर्जित लक्ष्मी दीर्घकालसम्म रहिरहुन्, यसका लागि दीप–कलश–गणेश महालक्ष्मीसहित, सरस्वती, इन्द्र र कुबेर आदिको पूजा गर्दछु’ भनेर संकल्प गर्नुपर्दछ ।
त्यस पश्चात् अर्घ स्थापना गरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ‘ॐ गं गणपतये नम:’ भन्दै सबै उपचारले पूजा गरिसकेपछि धुप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्नुपर्दछ । त्यसपछि इशानकोणमा रहेको वरुण कलशको पनि यसै गरी पूजा गर्नु पर्दछ ।
लक्ष्मीपूजा कतिवेला गर्ने ?
श्रद्धा एवं भक्तिले गरिने लक्ष्मीपूजाको लागि कुनै साइतको आवश्यकता नपर्ने भए पनि गोधुली लग्न वा सूर्यास्त भएपछिको समय उत्तम मानिन्छ । महालक्ष्मीजीको प्रतिमा, मूर्ति वा फोटो राख्ने र महालक्ष्मी पूजनका लागि हातमा कमलफूल, रातो अक्षता लिएर ध्यान गर्दै चढाउने । यदि प्रतिमा, मूर्ति वा फोटोको प्राणप्रतिष्ठा नभएको भए प्राणप्रतिष्ठा गर्ने र फूल अक्षता सहितले आह्वान गर्ने । कुशको आसन राखिदिएर ‘ॐ महालक्ष्मै नम:’ भन्दै पद्य, अर्घ, आचमनी, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ ।
तत्पश्चात् शुद्ध जलले स्नान गराई दही, घ्यू र मह मिश्रित मधुपर्क तथा गंगाजलले स्नान गराई महालक्ष्मीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टीका, अक्षता, वस्त्र, सौभाग्य चढाउनु पर्दछ ।
यति गरिसकेपछि जौ, तिल, फूल, माला, बेलपत्र, सहित सम्पूर्ण उपचारले पूजा गर्दै ‘ॐ महालक्ष्मै नम:’ भन्दै अङ्ग पूजन गरी धूप, दीप, विभिन्नखाले नैवेद्य, फलफूल, पान, सुपारी, भोगटे, कौडी, कमलगट्टा, कमलको फूल, जटानरिवल विशेष रूपमा चढाइन्छ । यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।
त्यसपछि रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । यसै समयमा मसीमा कालीजी, कपीमा सरस्वती र कुवेरको पनि पूजा गर्नु पर्दछ । तत्पश्चात् हातमा फूल, चन्दन र अक्षताले अङ्ग पूजा गर्ने । पूजा गर्दा यो मन्त्र पढ्ने-
ॐ चपलायै नमः, पादौ पूजयामि ।
ॐ चञ्चलायै नमः, जानुनी पूजयामि ।
ॐ कमलायै नमः, कटिं पूजयामि ।
ॐ कात्यायन्यै नमः, नाभिं पूजयामि ।
ॐ जगन्मात्रे नमः, जठरौ पूजयामि । स्तनौ पूजयामि ।
ॐ विश्ववल्लभायै नमः, वक्ष:स्थलं पूजयामि ।
ॐ कमलवासिन्यै नमः, हस्तौ पूजयामि ।
ॐ पद्मानानायै नम:, मुखं पूजयामि ।
ॐ कमलपत्राक्ष्यै नम:, मुखं पूजयामि ।
ॐ श्रियै नमः, शिरः पूजयामि ।
ॐ महालक्ष्म्यै नमः, सर्वाङ्गं पूजयामि ।
अब महालक्ष्मीको निराजन आरति शङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुन: यो मन्त्र पढ्ने –
ॐ या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्ष
गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया ।
या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः
सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता ॥
ॐ अमलकमलसंस्था–तद्रजः पुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।
मणिमुकुटवित्रतालङ्कृता कल्पजालै–
र्भवतु भुवनमाता सन्ततं श्रीः श्रियै नः ।।
यो मन्त्र द्वारा पुष्पाञ्जली गरेर आरतीलाई शीतल गरी सबैजनाले आरती लिने र आफ्नो मनोकामना पूर्ण होस् भनि जगत् जननी महालक्ष्मीलाई साष्टाङ्ग प्रणाम गरी आशिर्वाद लिनु पर्दछ । यसरी गरिएको पूजाबाट महालक्ष्मी प्रशन्न हुने र भक्तहरूको मनोकामना पूरा गरिदिने धार्मिक विश्वास रहेको छ ।
लक्ष्मी पूजामा रंगोलीलाई पनि महत्त्वका साथ सजाउने गरिन्छ । खासमा रंगोलीलाई स्वागतम् चिह्न वा भगवतीको आसनको रूपमा प्रयोग गरिएको हो भन्न सकिन्छ ।
यो घरको प्रवेशद्वारमा बनाइन्छ र यसले देवी लक्ष्मीलाई आमन्त्रण गर्नका लागि सजिलो बनाउँछ । लक्ष्मीजीको आगमनका लागि रंगोलीले स्वागतको वातावरण सिर्जना गर्दछ ।
रंगोलीलाई रङ्गवली वा रेखी पनि भनिन्छ । रंगोली र पाइला बनाउने परम्पराले हाम्रो धार्मिक तथा सांस्कृतिक दुवै दृष्टिकोणबाट महत्त्व राख्दछ र लक्ष्मी पूजामा यसको विशेष स्थान पनि रहेको छ ।
(दुलाल ज्योतिषाचार्य र वास्तुविद् हुन् ।)
प्रतिक्रिया 4