त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षकलाई स्वअध्ययन र अध्ययन बिदा दिन्छ । स्वअध्ययन बिदा युरोप, अमेरिकामा पनि चलेको अभ्यास हो । विश्वभरको अनुभवको आधारमा त्रिविले पनि बिदा दिन थालेको हो ।
शिक्षकले चार–पाँच वर्ष पढाउँदा ‘फ्रेस’ हुँदैन, ‘डल’ हुन थाल्छ । शिक्षकको पुनर्ताजगीका लागि बिदा दिन थालिएको हो । अर्को अध्ययन बिदा शिक्षकले छात्रवृत्ति आफैं खोजेर वा आफ्नै खर्चमा पढ्नका लागि पाउँछ । बिदामा बसेको अवधिमा तलब त्रिविले दिएको हुन्छ ।
एक अथवा दुई वर्ष गर्दै थपेर पाँच वर्षसम्म बिदा पाइन्छ । नेपाली कागजमा कबुलियत गरेर शिक्षक अध्ययन बिदामा गएको हुन्छ । यता भन्दा उता अवसर पाएपछि फर्किंदैनन् । न्यून संख्याले मात्रै बिदा बसेको अवधिको तलब फिर्ता गरेको देखिन्छ ।
नेपालमा भन्दा विदेशका विश्वविद्यालयमा राम्रो अवसर पाउने शिक्षकले तलब फिर्ता पनि गरेका छन् । फिर्ता नगरेमा उताको करिअर ‘रिक्स’मा हुन्छ । त्यसैले फिर्ता गरेर जान्छन् । तर, धेरैजसोले फिर्ता गरेका हुँदैनन् ।
सञ्चयकोषमा बढी पैसा जम्मा छ भने तिर्न आउने र कम छ भने नआउने प्रवृत्ति देखिन्छ । यो स्वार्थसँग जोडियो । विश्वासको कुरा हो । शुरुमा बिदा दिंदा फर्किने भनेको हुन्छ । अनुहार हेरेर फर्किने–नफर्किने भन्ने थाहा हुँदैन । बिदा सकिएको पाँच वर्षपछि मात्रै के हुने भन्ने थाहा हुन्छ ।
यसरी नफर्किएका शिक्षकलाई समाउने माध्यम त्रिविको कमजोर छ । मुद्दा मामिलामा पनि त्रिवि जान सक्दैन । मुद्दा लड्यो भने अर्को खर्च लाग्छ । मुद्दा मामिलामा जाँदा उसले उठाउने भन्दा उल्टो बढी खर्च हुने जोखिम रहन्छ । त्यसैले व्यावहारिक पाटो पनि हेर्नुपर्छ ।
कतिपय विदेशमा पढेर फर्किएर राम्रो काम गरेका शिक्षक पनि छन् । बिदा दिने समयमा नै फिल्टर गर्नुपर्छ । छात्रवृत्ति आफैं खोजेर गएका र आफ्नै खर्चमा गएका शिक्षकलाई बिदा दिने बेलामा ध्यान दिनुपर्ने हो ।
त्यो शिक्षकले के प्रयोजनका लागि बिदा लिएको हो ? पढ्न गयो कि अरू नै प्रयोजनका लागि गयो त्रिविले हेर्नुपर्छ । जान लागेको शिक्षकको उद्देश्य बुझ्नुपर्छ । सजिलै जान दिनुभएन । शिक्षक जान लागेको विश्वविद्यालय कस्तो हो बुझेर मात्र बिदा स्वीकृत गर्नुपर्छ । बिदा दिंदा नै फिल्टर गर्नुपर्छ ।
बिदा सकिएपछि त्रिविले शिक्षकलाई खबर गर्दैन । कुनै–कुनै बेला त्रिविले खोजी गर्ने ह्वीम चल्छ, हराउँछ । त्रिविले अभिलेख राखेर समयमा ‘फलोअप’ गरेको छैन । बिदा यसपछि थपिंदैन भनेर जानकारी दिनुपर्छ । जुन विश्वविद्यालयमा पढ्न गएको हो त्यसलाई पनि बोधार्थ दिनुपर्छ । यसो गर्ने हो भने बिदाको दुरुपयोग हुन कम हुन्छ ।
बिदाको दुरुपयोग हुनुमा तीन वटा कुरा महत्वपूर्ण हुन्छन् । पहिलो, शिक्षामा लागेको मानिस असल हुन्छन् भन्ने समाजमा भाष्य छ । यो प्रकरणले शिक्षकको नैतिकतामा पनि ह्रास आएको देखिन्छ । अर्को भनेको स्वार्थ हो । यताभन्दा उता धेरै अवसर हुन्छ । राम्रो अवसर पाएपछि नफर्किएका हुन् । यसमा त्रिविको पनि कमजोरी छ ।
दोस्रो, त्रिविले आकर्षणको वातावरण बनाउन सकेन । मैले ३० वर्ष पढाएको हुँ । तर यहाँ रिसर्च हुन सक्दैन । त्रिविको ‘रिसर्च सेन्टर’ छ तर रिसर्च हुँदैन । कतिपय राम्रा शिक्षक नेपालमा रिसर्च नभएका कारण नफर्किएका हुन् ।
तेस्रो उतै रमाउनेलाई के भन्नु ? नैतिकतामै ह्रास आएपछि के भन्ने ? त्रिविले फर्किनुपर्छ भनेर कबुलियत गरेको हुन्छ । तर ‘फलोअप’ कसले गर्ने ? त्रिवि एक्लैले सक्दैन । त्रिविको प्रणाली कमजोर छ । विश्वविद्यालयले दूतावासलाई भनेर मात्र सम्भव छैन । सरकार नै अग्रसर हुनुपर्छ । सरकारले दूतावास मार्फत कुरा गर्नुपर्छ ।
परिवारको दबाबले नफर्किएका शिक्षक पनि छन् । मेरा नै केही साथी र मैले नै पढाएका विद्यार्थी फर्किएका छैनन् । किन नफर्किएको भनेर सोध्दा ‘फर्किन मन थियो तर परिवारले मानेको छैन’ भन्छन् । युरोप, अमेरिका नेपालको लागि मात्रै होइन विश्वकै आकर्षण छ । जसका कारण त्यहाँ पुगेपछि फर्किन चाहँदैनन् ।
तसर्थ शिक्षकलाई यहाँ बसेर पनि ‘करिअर’ राम्रो बनाउन सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ । नेपालको विश्वविद्यालय राम्रो बनायो भने शिक्षकलाई यहाँ टिकाउन सकिन्छ । तर, विदेशको जस्तो सुविधा र अवसर नेपालमा दिन सकिंदैन ।
मेरो विचारमा नेपालको एउटा प्राध्यापक उता गएर प्रतिष्ठित भयो भने त्यो नेपालको लागि पनि राम्रो हो । विश्वविद्यालय संसारकै पूँजी हो । तर, बिदा लिएर जाने अनि नफर्किने, उतै लुक्ने खराब प्रवृत्तिलाई त नियमन गर्नैपर्छ ।
(राजनीतिशास्त्रका प्राध्यापक खनालसँग अनलाइनखबरकर्मी दिनेश गौतमले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4