राजनीतिक विश्लेषक तथा लेखक विष्णु सापकोटाले कुनै बेला त्रिवि केन्द्रीय अंग्रेजी विभागमा पढाए । अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा काम गरे। पोहोर ‘अडिएका पाइला’ उपन्यासबाट नयाँ अवतारमा देखा परेका सापकोटाले लेख्ने सामयिक विश्लेषण अनि उनले दिने बौद्धिक कोणबारे छलफल र चर्चा हुने गर्छ ।
उनीसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले अमेरिकी चुनाव नतिजा, त्यसको क्षेत्रीय असर, नेपालको पछिल्लो राजनीतिक उतारचढाव आदिमा रहेर गरेको वार्ता :
अमेरिकी चुनाव त सकिइसक्यो, तर यसले दिएको नतिजा कस्तो किसिमको हो भनेर यहाँ मानिसहरूले ठम्याउन कठिन परेको देखिन्छ । खासमा नतिजा के हो ?
अमेरिकी चुनावी नतिजा के हो भनेर कतिपय अमेरिकी स्वयंले बुझ्न प्रयास गरिरहेका छन् । अमेरिकाको इतिहासमा २०१६ एउटा फ्लुक थियो । काला समुदायका राष्ट्रपति बाराक ओबामाको दुई कार्यकालपछि डोनाल्ड ट्रम्पले जितेका थिए । अहिले फेरि उनी नै निर्वाचित हुँदा अनेक अर्थ लाग्न गएका छन् । राजनीति, इतिहास, मनोविज्ञान सबै हेर्दा अमेरिका रोचक छ । अमेरिकी समाज कहाँ पुगेको रहेछ भनेर बुझ्न यो चुनाव ठूलो आँखीझ्याल भयो ।
आप्रवासी, ल्याटिनो आदिले पहिले डेमोक्र्याटलाई भोट हाल्थे । तर यसपल्ट उनीहरूमध्ये धेरैले ट्रम्पलाई भोट हाले । युवा पंक्तिले पनि ट्रम्पलाई नै पत्याएको देखियो । बेरोजगार, अनि राम्रो गर्न नसकेका १ करोड ३० लाख अवैधानिक वा अनडकुमेन्टेड कामदार त्यहाँ छन् । तिनले अमेरिकालाई राम्रो गरेका छैनन् भन्ने एकातिर छन् । अर्कातिर आप्रवासी मध्येमा पनि म त आइसकें, अब अरू किन आउनुपर्यो भन्ने पनि देखियो । अनुदार श्वेतहरू, जसलाई अमेरिका भनेको खासमा हाम्रै त हो भन्ने भावना पनि देखियो । चुनावमा यी सबैखाले मत ट्रम्पतिर एकत्रित भए ।
ट्रम्प चुनिंदा जनताको चेतना केलाई मान्ने, अनि जनताले सधैं सही निर्णय गर्छन् कि गर्दैनन् भन्ने प्रश्न पनि जनता नै भएर सोध्न मिल्ने भयो । यो ट्रम्पले पाएको वैधानिक विजय त हो, तर नतिजालाई कसरी हेर्ने भन्ने प्रश्न युरोप, दक्षिणएशिया जस्तै ट्रम्प अमेरिकामा आउनु पनि परिघटनाकै सिलसिला जस्तो बन्न गयो । जसरी अन्यत्रको दक्षिणपन्थी प्रभाव अमेरिकामा पर्यो, उसैगरी अमेरिकाको यो प्रभाव पनि अन्यत्र पर्नेछ ।
ट्रम्पले जितेको चर्चा जत्तिकै महत्वपूर्ण चर्चा कमला ह्यारिसले जित्न सकिनन् भन्ने पनि छ नि !
अमेरिकाले महिला राष्ट्रपति चुन्न सकेको छैन । हिलारी क्लिन्टनले पहिले राम्रो तयारी गर्दा पनि ट्रम्पसँगै हारेकी थिइन् । अहिले डेमोक्र्याटिक पार्टीमा प्राइमरी पनि भएन । जो बाइडेनले सुरुमै नाम फिर्ता लिएर प्राइमरीमा ह्यारिस वा अर्को उम्मेदवार आएको भए परिणाममा फरक पथ्र्यो कि ! तर ट्रम्पले जितेर यो एक सातामा जसलाई जिम्मेवारी दिएका छन्, उनी पहिलेभन्दा कट्टर भएर जाने संकेत देखिन्छ ।
कतिपय चाहिं ट्रम्प आए, अब शान्ति आउँछ, कतिपय देशमा युद्ध रोकिन्छ, अर्थतन्त्र पनि सुध्रेला भन्ठान्ने पनि देखिए नि !
ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानमा बनेका चरम न्यारेटिभले कतिपयलाई काम गरेको देखिन्छ । ट्रम्पको निष्ठा र चरित्रमाथि प्रश्नै प्रश्न छन् । तर जनवरी २० मा उनी ह्वाइट हाउस गएपछि धेरै नीतिहरूमा प्रभाव पर्नेछ ।
विश्व व्यवस्थामा के होला भन्ने पनि दृष्टिकोणकै कुरा हो । चीन वा अर्को कुनै देशप्रति धेरै कर लगाउने उनको नीति छ, तर त्यसले मुद्रा तरलता ल्यायो भने के गर्ने ? थुप्रै अर्थशास्त्रीले यसमा प्रश्न उठाएका छन् । तर मतदातालाई चाहिं अहिले ट्रम्पले गरेको बाचा नै सही लाग्यो ।
अमेरिकालाई देश (नेशन) मात्रै होइन, विचार (नोसन) मान्नेहरू पनि थुप्रै छन् । खुलापन, लोकतन्त्र, फरक मतको सम्मान, विश्वव्यापीकरण लगायत विचारलाई अमेरिकी मान्यतासँग जोड्ने चलन छ । तर त्यही अमेरिकाले कसरी यी सबै विचारको उल्टो ध्रुवमा उभिने व्यक्तिलाई दोहोर्याएर निर्वाचित गर्यो ?
ट्रम्प दोस्रोपल्ट आउनु, अझ उनका उपराष्ट्रपति जेडी भान्सको निर्वाचनले अमेरिकाको दीर्घकालीन भविष्य नै यसरी अघि बढ्ने हो कि भन्ठान्ने पनि क्रम सुरु भएको छ । जेडी भान्स त अझै कट्टर छन् । राष्ट्रिय स्वार्थ रक्षा गर्दै खुला अर्थबजारबाट अघि बढ्ने चलन अब के होला भन्ने छ । नेटोमा किन पैसा खन्याउने, युरोपको अर्थतन्त्र सुधार्न किन पैसा दिने लगायत सोचाइ अहिले छ ।
यो हिसाबले त अब अमेरिकाको छवि नै संकटोन्मुख भयो ! यदि त्यस्तै भयो भने कुनै अर्को देशले उसको ठाउँ लेला ?
अमेरिकालाई सहज छैन, तर कम्तीमा ४० वर्ष जति त्यस्तो कुनै देशले अमेरिकाको ठाउँ लेला भन्ने मलाई लाग्दैन । चीनले अमेरिकाको अर्थतन्त्रलाई टक्कर दिंदैछ । जनसंख्या पनि ठूलो छ चीनमा। तर करोडौं चिनियाँ स्वयं चाहिं अमेरिका जान चाहन्छन्। विद्यार्थी, बसाइँसराइ आदिले संसारको गन्तव्य अमेरिका बन्न गएको छ । त्यसैकारण ऊ ठूलो भयो भन्ने त होइन, तर कति देशका कति मान्छे त्यहाँ पुग्न चाहन्छन् भन्ने कुराको अर्थ हुन्छ । अरू देशले यो ठाउँ लिन अहिले सम्भव छैन ।
यति हो, अहिले उनीहरू ग्लोबलाइजेसनको च्याम्पियन होइन, आत्मकेन्द्रित जस्तो भइरहेका छन् । अन्यत्रको ठेक्का नलेऊ, आफूतिर हेर, चुप लागेर बस भन्ने लाइनमा छन् । तर अमेरिका आफू हुनु भनेको असल हुनु, सफेद हुने मात्रै होइन ।
हस्तक्षेप गर्ने होइन, तर कतिपय देशमा राम्रा र असल नीतिहरूको कार्यान्वयन गराउने पनि हो । यति हुँदाहुँदै युद्धमा जाने भनेको ती देशलाई जोगाउने मात्रै होइन, आफू अनुसारका अलायन्स बनाउने अनि आर्थिक फाइदा हेर्ने पनि हो । अर्को देशको उपकार गर्न ती देशमा युद्ध गर्न गएका होइनन् ।
अब नेपालतिरै आउँ ! अमेरिकी चुनाव नतिजाले हामीलाई के फरक पर्ला ? वा के होला नहोला भनेर चिन्तै नलिए पनि हुन्छ ?
तपाईंको प्रश्नलाई सदुपयोग गर्दै म अरू थप के भन्छु भने हरेक देशले आफूलाई महत्वपूर्ण ठान्ने गर्छन् । तर नेपालमा भूराजनीतिको बहस जसरी हुन्छ, त्यसमा भन्ने कुरा चाहिं के हो भने हामी अमेरिका त के भारत र चीनका लागि पनि महत्वपूर्ण होइनौं । भारत र चीनलाई पनि नेपाल महत्वपूर्ण होइन । यहाँका कतिपय न्यारेटिभ मलाई कहिल्यै चित्त बुझेन । भारत र चीन उदीयमान शक्ति भएकाले नेपालले तिनबाट फाइदा लिनुपर्छ रे ! उनीहरूले आफूलाई उदीयमान भन्न थालेकै कति भयो ! यिनीहरू शक्तिराष्ट्र होइनन् अविकसित राष्ट्र हुन् ।
भारत अविकसित राष्ट्र हो। चीन पनि विकसित भइनसकेको देश हो । करोडौं जनता त्यहाँ गरिबीमा छन् । तिनको अवस्थाले नेपाललाई के अर्थ राख्छ ? केही न केही सानातिना अर्थ त राख्ने नै भयो। वैदेशिक सहायतामा एमसीसी आइसक्यो, चीनको व्यापार विविधता, अरू देशलाई जे हुन्छ त्यो यहाँ पनि हुने नै भयो। तर जेमा पनि भूराजनीति महत्वपूर्ण छ भन्ने, यहाँका नेता र जिम्मेवार व्यक्तिलाई जवाफदेही नगराउने ।
यहाँ भूराजनीतिक एक्सपर्ट चाहिने भन्दा धेरै भए । जेमा नि भूराजनीति देखाउने, यहाँकालाई जवाफदेही नगराउने । यहाँका राजनीतिज्ञले जानेकै के छ भन्दा, वादका ठूला कुरा गर्ने अनि भूराजनीति जोड्ने । यति गरेपछि आफ्नो कामबाट पन्छिन पुग्यो । अर्थोक जानेकै छैन । सार्वजनिक वृत्तका मान्छेलाई पनि प्राविधिक वा विषय विशेषमा कुरा गर्न विज्ञता छैन, भूराजनीति हान्दिने ।
नेपाल भूराजनीतिक संवेदनशीलतामा छैन त ?
कहिल्यै पनि संवेदनशील छैन । संवेदनशील छ जस्तो गराएका मात्रै हुन् । यहाँकाको बुद्धि नपुगेर हेप्ने त गर्दा हुन्, तर अरू छैन ।
उसोभए नेताहरू किन यसो भनिरहेका ? प्रधानमन्त्री ओली चीन जान लाग्दा प्रचण्डले ओली चाइना कार्ड खेल्न लागे भन्दैछन् नि ?
जनता पनि ओली चीन कि भारत जान्छन् भन्नेमा धेरै ध्यान दिने भए । त्यसो भएपछि ओलीलाई पनि फाइदा, जनतालाई यस्तोमा भुलाउन पाइयो। भूराजनीतिक क्षेत्रमा भन्दा बढ्ता यहीँनेर काम गर्नुपर्ने आन्तरिक विषय त धेरै छन् नि ! तर अमेरिकी चुनाव वा अरू केही देखाएर यस्तो-उस्तो भन्नु दिक्कलाग्दो हो। संसारका २०० जति देशमा धेरथोर असर त होला नि ! तर जत्रो भन्छन्, त्यत्रो हुँदैन ।
हामी त पेरु जति पनि बन्न सकिएन हगि ? उनीहरू अमेरिकी र चिनियाँ राष्ट्रपति भेटाएर वार्ता गराउँदैछन् । यहाँ चाहिं हल्ला बढी भएको हो ?
आफ्नै सुझबुझ नभएपछि यस्तो भइहाल्छ । भुटानले गरिरहेको छ नि ! झापाभन्दा सानो छ भुटान भनेर कराएर हुन्छ ? उसले आफ्नो गरिरहेको छ । जनताको कुरा के गर्ने भन्छन् नि ! गर्नु परिहाल्यो नि ! ट्रम्प जिताउने पनि जनता हुन् । फासिस्ट नेतालाई भोट हाल्ने पनि जनता हुन् । जनता अमूर्त वा पवित्र अपवित्र हुन्नन् ।
जनताले गल्ती गर्न सक्छन् ?
सक्छन् नि ! नेताले पो जनता यस्तो–उस्तो भन्नुभएन । अर्कोपल्ट भोट नआउला । तर जनताको एउटा सेक्सन अविवेकी हुन सक्छन् भनेर भन्नुपर्छ ।
जनतालाई नै गाली गर्ने ? तपाईंलाई यस्तो भन्दाखेरि जनताले गाली गर्लान् है !
मैले सबै जनताले गल्ती गर्छन् भनेको होइन । तपाईंले अघि मैले लेखेको मंसिरमा बिदाइ गर्नुपर्नेहरू लेखको कुरा गर्नुभयो । चुनाव २०७९ को चार महिनाअघि लेखेर भनेको हो– देउवा, ओली, प्रचण्डको क्षेत्रका जनताले उनीहरूलाई ठाउँको ठाउँ हराइदिए भने तिनले देशभरिकै जनतालाई गुन लाउँथे भनेको हो । तर तिनले जिताए । ती मतदाताहरूप्रति मेरो सम्मान छैन । एउटा प्रसंग सुनाउँछु ।
अमेरिकाको सबैभन्दा पुरानो म्यागजिनका सम्पादकले ट्रम्प जिताउने जनतालाई भरमार गाली गरिन् । अनि राजीनामा दिइन् । किनभने उनलाई ट्रम्प जिताउने मतदाताको सम्मान गर्न मन लागेन । छाडिन् ।
उसोभए जनताले पनि सधैं सही नगर्दा रहेछन्, अल्पदृष्टि राख्न सक्दा रहेछन् ?
सक्छन् । सबै जनता विवेकी हुँदैनन् । त्यसैले त पपुलिस्टहरू पनि चुनिएर आउँछन् । भोट सबैको बराबर हो, तर समझ फरक होला ।
योभन्दा उन्नत विकल्प के हुन्छ ?
यही प्रणालीभित्र गर्न सकिने, गरिनुपर्ने कुरा धेरै छन् । तर पार्टीभित्र दुई–चार जनाको ग्याङका लागि करिअर जस्तो भएको छ । तिनले अर्थोक जानेका हुँदैनन्, त्यसैले त्यही गरिरहन्छन् ।
नेपालको लोकतन्त्रको फ्रेमवर्क पुनः प्राप्ति गर्न लड्ने एउटा कुरा, तर राजनीतिमा आएर सेवा गर्ने अर्को कुरा । लडेर आएका र सेवा गर्छु भन्ने एउटै छन् । हाम्रो पार्टीहरूमा प्राइमरी हुँदैन । एजेन्डा के लिएर आउने र चुनिने भन्ने यहाँ हुँदैन । सानोतिनो इलम गरेकाहरूले एउटा पार्टी समातियो भने देखिने नदेखिने फाइदा लिन पाइन्छ भन्ठानेका छन् ।
समाजलाई दिन्छु भनेर आउनेभन्दा पनि लिन आउने अवस्था छ । तर दोष तिनलाई दिन हुन्न । संरचना नै यस्तो बनाइयो यहाँ जहाँ टाकनटुकन सुधारहरूले कहाँ पुर्याउँछ भनेर भन्न कठिन नै छ । इच्छाशक्ति हुने हो भने पार्टीगत संरचनाहरू सुध्रिन्छन् ।
यसका लागि के गर्नुपर्छ ?
यसका लागि राजनीति नै पुनर्परिभाषित गर्नुपर्छ ।
कसरी ? तपाईं आफैंले हार्नुपर्छ भनेकाहरूले जिते । केही नयाँ पनि आए । तर बीचमा जे–जे घटना भए, त्यसबेला तपाईंले लेखेका लेख र दिएका अन्तर्वार्ता सही नै रहेछन् भन्ने लागेको छ कि म खासै ठीक रहेनछु भन्ने परेको छ ?
म खासै ठीक रहेनछु भन्ने लागेको छ । भोट हाल्नेले चुन्न पायो । नेपालका राजनीतिज्ञहरू आम रूपमा इज्जतकै ख्याल नगर्ने । अन्ततः मान्छेले खोज्ने भनेको इज्जत हो । जीवन इज्जतिलो होस्, मेरो आत्मसम्मान उँचो होस् भन्ने हो । तर प्रधानमन्त्री नै भइसकेको व्यक्ति पनि गलहत्याइन नपरुन्जेलसम्म पनि जे पायो त्यही गरेर टाँसिइरहन्छ ।
कांग्रेस र एमालेका पनि कुरा गरौं । तिनको दोस्रो पुस्ताका नेताहरूको नैतिक साहस तीन वर्ष अगाडि जस्तो छैन । उनीहरू आत्मसम्मान गुमाएर ह्युमिलिएटेड छन् । एमालेमा ओली व्यवहारतः पार्टी अध्यक्ष र प्रवक्ता दुवै हुनुहुन्छ । अरू बोल्दैनन् ।
कांग्रेसमा पनि दुई महामन्त्री लगायतको चुनौती थियो, त्यो माहोल पनि उत्साहजनक छैन । पार्टीभित्र नयाँ रक्तसञ्चार गर्ने व्यक्ति छैन । यस्तो अवस्था रह्यो भने नयाँ मान्छे को गइदिने ती पार्टीमा ?
नयाँ पार्टीहरूमा पनि त्यस्तो देखिएन ?
देखिएन । उनीहरूले दिन सकेनन् । पुराना ठिक छैनन्, त्यसैले नयाँ चाहियो भन्ने जनमत बनेको थियो । नयाँलाई पुरानाले अप्ठेरो पारे भन्ने बुझाइ गलत हो । मान्छेले रास्वपाबाट धेरै उथलपथुल खोजेकै होइनन् । निश्चित मानकमा उनीहरू बसेका हुन्थे भने चित्त बुझ्थ्यो ।
पुरानालाई पनि यसो गर्नुपर्ने रहेछ भन्ने हुन्थ्यो । तर नयाँको फरकपना पनि देखिएन । अनि रास्वपा नेतृत्व गर्नेको यति धेरै इतिहासको बोझ र व्यक्तिगत समस्या रहेछ । रवि लामिछाने आफैं झन्–झन् विवादित पर्दै गएपछि पुरानालाई त सजिलो भइदियो । अब त दुई वर्षअघि नै बिदा होउन् भनेकाहरू नै २०८४ मा झन् बलियो भएर आउने देखियो ।
यस्तोमा अराजकता मौलाउने वा लोकतन्त्रको भविष्य नै तलमाथि हुने खतरा होला ?
त्यस्तो भन्दा पनि अहिलेकै सिस्टमबाट अराजकहरू निर्वाचित भएर आउने खतरा देखियो । चरमपन्थी र लोकप्रियतावादी पनि चुनावबाटै आउँछ। निर्वाचित भएपछि त्यस्ताहरूले गठबन्धन पनि गर्न सक्छन्।
नेपालको इतिहास हेर्दा जतिपल्ट प्रजातन्त्र आएको छ, अनि हिंसाबाट शान्ति आएको छ, त्यो हेर्दा अब लोकतन्त्र नै जाला भन्ने लाग्दैन । विश्वभरि नै लोकतन्त्रले जनतालाई आर्थिक अपेक्षा पूरा गर्न सकेन भने प्रश्न उठ्दो रहेछ भन्ने पनि देखिएको छ ।
यो उदासीको समयमा आशा गर्ने अनुहार कोही छन् ?
कांग्रेसमा गगन थापा र विश्वप्रकाश मिल्नुभयो भने कांग्रेस पुनर्जागरणमा केही न केही फरक पर्न सक्छ। शेखर कोइरालातिर रहेका दोस्रो पुस्ताहरू बाहिरिनुपर्छ। अनि देउवा र उमेर समूहमा खासै केही देखिंदैन। एमालेमा घनश्याम भूसालहरू बस्नै सक्नुभएन। महासचिव भएपछि शंकर पोखरेल अनौठो लाग्नुहुन्छ । उहाँ ओलीले टीका लगाएको महासचिव हो ।
उहाँ त महाधिवेशनबाट औपचारिक रूपमै सर्वसम्मत महासचिव बनेको नेता होइन ?
हेर्दा त्यस्तो देखिए पनि मैले राजनीतिक रूपमा हेर्छु । कतिलाई यो ओलीको आलोचक भएकाले यस्तो भन्छ भन्ने परेको होला । तर मैले ओली र एमालेको पक्षमा भनेको हो । एउटा मान्छे दिग्गज र तगडा भएकाले देशलाई चाहिने आइडिया फुराउला भन्ने हुँदैन । पार्टीमा नयाँ मान्छे आउँदा नयाँ चुनौती र भिजन हुनुपर्ने हो।
प्रदीप ज्ञवाली, योगेश भट्टराईहरू गर्न सक्ने, भूमिका पाएका खण्डमा गर्न सक्ने नेता हो । उहाँहरू ओलीलाई महाज्ञानी सर्वव्यापी मानेर मलाई व्यक्तिगत रूपमा निराश बनाइरहनुभएको छ । ओली बोलेपछि एमालेमा अरूले बोल्नुपर्ने केही छैन भन्ने पारिराख्नुभएको छ उहाँहरूले ।
बरु माओवादीमा जनार्दन शर्माहरू बोलिराख्नुभएको छ । कांग्रेसमा पनि देउवाकै अगाडि आलोचना गरिराख्नुभएको छ । तर एमाले जस्तो बहसको हिसाबमा लोकतान्त्रिक भइसकेको पार्टीमा अहिले नयाँ रूप देखिन्छ । उहाँहरूले आलोचना गर्ने हामीलाई त धन्यवाद पो दिनुपर्ने । हामीले बोल्न नपाए पनि तपाईंले बोल्नुभएछ भन्नुपर्ने ।
ओलीले एमाले चलाएको मिलेन भनी फुट्ने माधवकुमार नेपालको पार्टीबारे केही छ ?
माधवकुमारले एमाले फुटाएर सानो टुकडी चलाए पनि त्यो चल्न नसकेको देख्दा उहाँले २०५० देखि २०६५ सम्म कसरी एमाले पार्टी चलाउनुभएछ भनी प्रश्न गर्न मन लाग्छ । उहाँको क्षमता त्यसबेला थियो होला, अहिले देखिएन । हामी सबै त्यस्तो हुने होला खासमा, कहिले क्षमता हुने, कहिले कम हुने । झलनाथजी अझै पनि म देशलाई दिन सक्छु, दिन्छु भनेर लाग्नुभएको छ ।
प्रचण्डबारे ? उहाँ सुशासन गर्न खोज्दाखोज्दै हटाइयो भन्दै हुनुहन्छ नि !
त्यो कसले पत्याइदिने ? ३२ सिटको नेतालाई ओली र देउवाले पालैपालो बनाउँछन् भने किन नबन्ने ? मान्छेहरू प्रचण्डको आलोचना गर्छन्, तर उनलाई आलोचना गर्नु मूर्खता हो । ठूलो पार्टीको नेता प्रधानमन्त्री बन्ने, नसके दोस्रोले बनाउने हो । तेस्रो चौथोले त आशै गर्ने होइन ।
रास्वपाको अलिकति कुरा गरियो । जनमत, नाउपा जस्ता नयाँ दलको अवस्था के देख्नुहुन्छ ?
सीके राउतजीसँग चिनजान नभए पनि उहाँको व्यक्तित्व रमाइलो लाग्थ्यो । के होला, कस्तो होला भन्ने लाग्थ्यो । सादगी पनि लाग्थ्यो । अरूकहाँ जिज्ञासा नहुँदा उहाँको कोण पनि भिन्न लाग्ने नै भयो । तर पछिल्लो चरणमा उहाँँ झिनामसिना विवादमा फस्दै जानुभयो । सुरुमा वैकल्पिक शक्ति भन्दा उहाँलाई पनि नछुटाई बोलाइन्थ्यो । अचेल त्यस्तो छैन । नाउपा पनि त्यस्तै हो ।
तपाईंको कुरा सुन्दा त विकल्पको लागि भौंतारिनु नै जनताको गल्ती थियो भन्ने निष्कर्ष पो निक्लन्छ कि के हो ?
धेरै अमूर्तमा नगई भन्नुपर्दा नेपालको ३०–४० वर्षयताको राजनीतिक शब्दभण्डारमै समस्या छ । हामीसँग जस्तो शब्दज्ञान छ, जीवन जगतलाई यसरी नै बुझिने हो ।
५०० शब्द जतिले बनेको शब्दकोश नेपाली राजनीतिमा ५० वर्षयता चलिरहेको छ । यसैमा कैद छन् उनीहरू, साधारण कुरा बुझ्ने क्षमता नै राख्दैनन् । अहिले नेपाललाई चाहिने नीतिगत डिस्कोर्स बुझ्ने संज्ञानात्मक क्षमता नै छैन उहाँहरूलाई । म के बुझ्दिनँ भन्ने नै बुझ्नुहुन्न उहाँहरू ।
तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4