
७ मंसिर, काठमाडौं । स्वामीकार्तिक खापर गाउँपालिकामा हुने उपचुनावको विषयले माओवादी केन्द्र बाजुरामा मतभेद देखिएको छ ।
गाउँ कमिटीले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि पार्टीभित्र मतभेद उत्पन्न हो । पालिका उपाध्यक्ष पदका लागि हुने उपचुनावमा माओवादीबाट राजुकुमारी विश्वकर्माको उम्मेदवारी परेको थियो ।
तर स्वामीकार्तिक गाउँकमिटीले विश्वकर्माको उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई समर्थन गर्ने निर्णय लियो । त्यही निर्णय अनुसार गत ५ मंसिरमा राजुकुमारीले उम्मेदवारी फिर्ता लिइन् । राजुकुमारीसहित स्वामीकात्र्तिकका माओवादी नेताहरू यतिबेला एमालेकी भण्डारीलाई मत माग्न खटिएका छन् ।
पार्टीको उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने निर्णयको नेतृत्व भने बाजुरा माओवादीका सचिव रमेश विक साहसीले गरेका थिए । ‘हामीले एक्लै लडेर जित्न सक्ने अवस्था थिएन । त्यसैले पालिका कमिटीका नेताहरू बसेर एमालेसँग कुराकानी गर्यौ’, जिल्ला सचिव विक भन्छन्, ‘२०८४ को चुनावमा सहकार्य गर्नेगरी एमालेको उम्मेदवारलाई हामीले समर्थन गरेका छौं ।’
पार्टी केन्द्रले स्थानीय अवस्थाको कुनै मूल्याकंन नगरी सत्तारुढसँग सहकार्य गर्न नहुने निर्णय गरेकाले आफूहरू विद्रोह गर्न बाध्य भएको उनी बताउँछन् । ‘एक जना पनि केन्द्रीय नेता अहिलेसम्म यो पालिकामा नआउने अनि वास्तविकता नबुझी निर्णय गरेकाले हाम्रो विद्रोह पनि हो,’ जिल्ला सचिव विक भन्छन् ।
उनका अनुसार २०८४ मा एमाले र माओवादीबीच सहकार्य हुने भएको छ । सहकार्य गर्दा माओवादीले पालिका उपाध्यक्ष, एक जना वडाध्यक्ष, एक जना कार्यपालिका सदस्य र चार जना वडा सदस्य पाउनेछन् । बाँकी पद एमालेले लिनेगरी स्थानीय नेतााहरूले लिखित प्रतिबद्धता गरेका छन् ।
तर, पार्टीको निर्देशन विपरीत उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने निर्णयप्रति माओवादी बाजुराका संयोजक देवीचन्द्र बूढाले आपत्ति जनाएका छन् । वक्तव्य मार्फत् उनले उम्मेदवारी फिर्ता लिने निर्णयप्रति ध्यानाकर्षण सहित आवश्यक कारबाहीको चेतावनी दिएका छन् ।
‘यस अवैधानिक कार्यमा जिल्ला पार्टीको संलग्नता नरहेको र विना अनुमति उम्मेदवारी फिर्ता भएकोले यस कार्यप्रति घोर आपत्ति जनाउँदै उक्त काम पार्टी विधान विपरीत भएकालेले यसमा संलग्न जुनसुकै तहका कमरेडहरूलाई आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी गर्दछौं’, वक्तव्यमा भनिएको छ ।
तर, स्वामीकार्तिक गाउँपालिकाका माओवादी नेताहरू भने पार्टीले कारबाही गरेपनि एमालेसँगको सहकार्य नटुट्ने बताउँछन् । ‘पार्टी बचाउन हामीले गरेको निर्णयकै कारण कारबाही हुन्छ भने त्यो सहन तयार छौं, तर निर्णयबाट पछि हट्दैनौं’, स्वामीकार्तिककै स्थानीय समेत रहेका जिल्ला सचिव विक भन्छन् ।
चुनावी सहकार्य गर्ने स्थानीय माओवादी नेताहरूको निर्णयबाट एमाले भने उत्साहित छ । बाजुराबाट प्रतिनिधित्व गर्ने एमाले स्थायी कमिटी सदस्य कर्ण थापा स्थानीय माओवादीको निर्णयले वाम एकताकै आधार तयार पार्ने भएकाले उत्साह स्वभाविक रहेको बताउँछन् ।
‘बाजुरामा हामीले वाम एकताको जग तयार पारेका छौं । पहिले माथिबाट भएको एकताले काम गरेन, अब तलबाट हामी जुट्छौं’ स्थायी कमिटी सदस्य सदस्य थापा भन्छन्, ‘यो उपचुनावबाटै वाम एकताको सन्देश दिएका छौं ।’ उनी नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले पनि एमालेलाई समर्थन गरेको बताउँछन् ।
२०७९ सालको चुनावमा भने माओवादीले एकीकृत समाजवादीसँग तालमेल गरेको थियो । तर, पालिका अध्यक्ष, उपाध्यक्ष सहित बहुमत वडाध्यक्ष नेपाली कांग्रेसले जित्यो ।
एकीकृत समाजवादीसँग सहकार्य गर्दा माओवादीले वडा नम्बर १ मात्र जितेको थियो । यो वडामा माओवादीका अजयकुमार विकले ४७३ मत पाएर वडाध्यक्ष जित्दा एमालेका मानबहादुर रावलले ३७३ र कांग्रेसका कार्तिके कामीले ३३२ मत पाएका थिए ।
एमालेले ३ नम्बरको वडाध्यक्ष जितेको थियो । एमालेका प्रेमबहदुर कटेलले ४७७ मत ल्याएर वडाध्यक्ष जित्दा एकीकृत समाजवादीका कुबेरबहादुर सिंहले ३६८ र कांग्रेसका दयालबहादुर शाहीले २२६ मत पाएका थिए ।
तर, पालिका अध्यक्ष, उपाध्यक्ष र तीन वडाध्यक्ष कांग्रेसले जित्यो । पालिका अध्यक्षमा एमालेका चतुरभुज शाहीले १ हजार ७५७ मत ल्याउँदा कांग्रेसका भरतबहादुर रोकायाले २ हजार ११ मत ल्याएर जितेका थिए । माओवादीको समर्थनमा एकीकृत समाजवादीका चिरिञ्जवी शाहीले पालिका अध्यक्षमा १ हजार २८२ मत पाएका थिए ।
पालिका उपाध्यक्षको नतिजा पनि कांग्रेसकै पक्षमा गएको थियो । कांग्रेसकी मैना जोशीले १ हाजर ८१० मत पाएर जित्दा एमालेकी सुलोचनाकुमारी १ हजार ६३७ मतमा सीमित भएकी थिइन् । जबकी एकीकृत समाजवादीको समर्थनमा माओवादीका सुरेशबहादुर रोकायाले एक हजार २१३ मत पाए ।
यो नतिजा हेर्दा तत्कालीन नेकपा फुटेर तीन टुक्रा हुनुको लाभ कांग्रेस उम्मेदवारले उठाएको प्रष्ट हुन्छ । तर, यो उपचुनावबाट कम्युनिस्टहरू एकताबद्ध भएर जाने आधार तयार पारेको एमाले स्थायी कमिटी सदस्य थापा बताउँछन् ।
विगतको चुनावी नतिजाले मात्र नभएर माओवादीको निर्णयपछि विकसित अवस्थाले पनि यहाँको उपचुनावमा एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी बनेका छन् । र, २०७९ सालमा पालिका उपाध्यक्ष जितेकी मैनाको निधनपछि कांग्रेसले पुल्तिसरा शाहीलाई अगाडि बढाएको छ ।
प्रतिक्रिया 4