+
+
Shares

किन फुटिरहन्छ मेलम्चीको पाइप ?

काठमाडौं उपत्यकाको कुन सडक कति बेला भासिन्छ, कति बेला पानीको भेल भएको ग्छ भनेर अनुमान गर्नै नसकिने अवस्था छ । यसको कारण हो, महिनैपिच्छे भइरहने खानेपानी पाइप ‘ब्लास्ट’ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ फागुन २० गते २०:३७

२० फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंका सडकमा खाल्डाखुल्डी पर्नु त सामान्य नै भइसक्यो । अब त मध्यहिउँदमा पनि बाढी आउने डर भयो ।

काठमाडौं उपत्यकाको कुन सडक कति बेला भासिन्छ, कति बेला पानीको भेल बग्छ भनेर अनुमान गर्नै नसकिने अवस्था छ । यसको कारण हो, महिनैपिच्छे भइरहने खानेपानी पाइप ‘ब्लास्ट’ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले उपत्यकाका अधिकांश क्षेत्रमा खानेपानी वितरण गर्र्दै आएको छ । मेलम्ची आयोजना सञ्चालन भइसकेपछि केयूकेएलले नयाँ र पुरानो प्रणालीबाट पानी वितरण गर्दै आएको छ ।

तर, काठमाडौंवासीको खानेपानी सहजताका लागि ल्याइएको मेलम्ची पानी वितरण प्रणाली र सरकारका अन्तर निकायबीच समन्वय अभावले खतरा बन्दै गएको छ ।

त्यही खतराको रूप आज बिहान थापाथलीमा देखियो । २७ इन्चको ‘वासआउट’ पाइप ब्लास्ट (फुट्दा) हुँदा थापाथलीको अस्पताल क्षेत्र जलमग्न बन्यो भने, सडक बिग्रियो । जहाँबाट ५ लाख लिटरभन्दा धेरै पानी खेर गयो ।

केयूकेएलका प्राविधिक कर्मचारीले तत्काल गेट भल्भ बन्द गर्न सफल हुँदा धेरै क्षति हुन भने पाएन । काठमाडौं महानगर प्रहरी, नेपाल प्रहरी सहित टोलीले सक्रियता देखाए, ठूलो दुर्घटना हुन पाएन ।

फेरि प्राधिकरणकै गल्ती

मेलम्ची सहित खानेपानी वितरण जिम्मा पाएको केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्नका लागि सडक खनेर पाइप बिछ्याउँदा सावधानी नअपनाएका कारण भएको प्रारम्भिक अध्ययनबाट देखिएको हो ।

निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार विद्युत् लाइन भूमिगत गर्न पाइप बिछ्याउँदा मेलम्ची पाइपको तलमाथि र दायाँबायाँ कम्तीमा एक मिटरको दुरी राख्नुपर्ने विगतको समझदारी विपरीत प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युत् पाइप राखेको पाइएको हो । सोही क्रममा मेलम्चीको पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिएको उनको दाबी छ ।

निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार विद्युत् लाइन भूमिगत गर्न पाइप बिछ्याउँदा मेलम्ची पाइपको तलमाथि र दायाँबायाँ कम्तीमा एक मिटरको दुरी राख्नुपर्ने विगतको समझदारी विपरीत प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युत् पाइप राखेको पाइएको हो ।

‘एकदिन अघि बानेश्वर क्षेत्रमा पाइपलाइन मर्मतका लागि माइतीघरस्थित भल्भ बन्द गरिएको र ललितपुरको ज्वागलमा रहेको एयर भल्भ पनि बन्द रहेकै अवस्थामा एकान्तकुनाबाट माइतीघरतर्फ पानी आउँदा चाप बढ्न गई चोट लागेको ठाउँमै मेलम्चीको पाइप फुटेको पाइएको छ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा छ ।

तर यो घटना नयाँ होइन, ३० माघमा पनि बबरमहलमा दिउँसै भेलबाढी आयो, कारण थियो– केयूकेएलकै पाइप फुट्नु । मेलम्ची खानेपानी आयोजनाको ३० लाख लिटर पानीको पाइप अर्को सरकारी निकाय विद्युत् प्राधिकरणले लापरबाहीपूर्ण ढंगले फुटाइदिएपछि बबरमहलको सडक, सरकारी कार्यालय र निजी घरहरू जलमग्न भएका थिए । तीनकुने माइतीघर ८ लेन सडकमुनिको पाइप प्राधिकरणले फुटाइदिएको थियो ।

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने परियोजना अन्तर्गत बबरमहलको चिल्लो सडक खनेको थियो । त्यही बेला ड्रिलरले पाइप फुटाउँदा बबरमहल क्षेत्र दिनभरि अस्तव्यस्त बनेको थियो । उक्त सडक खण्ड हालसम्म पनि पूर्णरूपमा सञ्चालनमा आइसकेको छैन ।

‘ब्लास्ट भइरहन्छ पाइप’

काठमाडौंमा मेलम्ची पाइप फुटेर दुर्घटना हुने घटना नयाँ भने होइन । २६ मंसिर २०७९ मा लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो ।

खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिछ्याइएको मेलम्ची आयोजनाको पाइप फुट्दा सडक भत्किनुका साथै भल बग्यो । जसले गर्दा सवारी चालक र सर्वसाधारण समस्यामा परेका थिए । पाइप फुटेर ठूलो पानी सडकमा निस्किएको हो ।

विद्युत् प्राधिकरणले धमाधम तार भूमिगत गरिरहेको छ, तर तार भूमिगत गर्दा प्राधिकरणले हाल्नुपर्ने पाइप, खानेपानीकै पाइप नजिक हुनु र ड्रिल गर्दा खानेपानीको पाइपमा चोट लाग्नु हो ।

यस्तै १९ असार २०८१ मा सोह्रखुट्टे–बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको थियो । बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्य सहित उनको बा. ५० प ३८२ नम्बरको मोटरसाइकल खसेको थियो । मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्रको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

सडकमुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको थियो । मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुगेको थियो । पानीको फोर्सले पक्की सडक पनि भत्काएपछि आहाल नै बनेको थियो ।

बारम्बर पाइट फुट्नुको कारण के हो ?

काठमाडौंमा पाइप फुटिरहनुको कारणमध्ये प्रमुख हो– अन्तर निकाय समन्वयविना विकासको काम गर्नु ।

विद्युत् प्राधिकरणले धमाधम तार भूमिगत गरिरहेको छ, तर तार भूमिगत गर्दा प्राधिकरणले हाल्नुपर्ने पाइप, खानेपानीकै पाइप नजिक हुनु र ड्रिल गर्दा खानेपानीको पाइपमा चोट लाग्नु हो ।

‘खोनपानीको पाइपमा सानो चोट लाग्दा तत्काल लिकेज हुँदैन, बिस्तारै खिया लाग्दै जान्छ र त्यही ठाउँ विक प्वाइन्ट (कमजोर बिन्दु) बन्छ, जब पानीको प्रेसर हुन्छ । त्यही बेला ब्लास्ट हुन्छ,’ केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई भन्छन् ।

उनले पानी प्रेसरमा जाँदा कमजोर भागहरू फुट्ने गरेको बताए । ‘हाम्रो पाइपमा समस्या होइन, तर विभिन्न निकायले हाम्रो पाइप भएको स्थानमा काम गर्दा भएका लापरबाहीले पाइपमा असर परेको हुन्छ । त्यसले गर्दा पाइप फुटिरहेको हो,’ उनी भन्छन् ।

केयूकेएलका एक इन्जिनियरका अनुसार काठमाडौं उपत्यकामा सडकमा राखिएका पाइप नै खतरा बन्दै गएको छ । उपत्यकाका टोखा र तारकेश्वर क्षेत्रमा उकालो छ । सुन्दरीजलबाट पानी ओरालो लागेपछि ललितपुरको पाटन क्षेत्रमा उकालो छ । बीचको मुख्य भाग बबरमहल, थापाथली सहित नदी करिडोर आसपास पाइपमा स्वाभाविक रूपमा धेरै प्रेसर हुन्छ । त्यसो हुँदा जहाँ कमजोर भाग छ, त्यहीँ फुटछ् र फुट्दा ब्लास्ट हुन्छ । अहिले भइरहेकै त्यही हो ।

उनले वितरण प्रणाली पनि नयाँ र पुरानो हुँदा कतै–कतै पाइपमा पनि समस्या हुन सक्ने बताए ।

‘वाह्य असरविना पाइपमै समस्या भएर ठूलो घटना भएको त थाहा छैन तर वितरण प्रणाली वैज्ञानिक हुन नसकेको सत्य हो । नयाँ वितरण प्रणालीमा चुहावट हुँदा कतिपय स्थानमा पुरानै वितरण प्रणालीबाट पनि पानी पठाउने गरिएको छ,’ उनले भने ।

ती इन्जिनियरका अनुसार पानी छाड्ने समयका कारण बिहान–बेलुका प्रणालीका पाइपमा अत्यधिक चाप हुने गरेको छ ।

‘काठमाडौंमा चौबिसै घण्टा पानी छाड्न सक्ने अवस्था त छैन, जुन बेला छाडिन्छ त्यो बेला चाप धेरै हुन्छ । अनि, जहाँ कमजोर छ, त्यो त फुट्ने नै भइहाल्यो,’ उनले भने ।

‘पाइप गुणस्तरीय छ, तर विक प्वाइन्टमा ब्लास्ट खतरा’

केयूकेएल प्रवक्ता राइले भने पाइपको गुणस्तरमा भने कन्जुस्याँइ नगरेको दाबी गरे ।

‘हामीले खरिद गरेको पाइपको गुणस्तर परीक्षण पनि गरेका हुन्छौं । प्राविधिक परीक्षण पनि हुन्छ । यसमा कमजोरी भएको होइन,’ उनले भने, ‘पाइप कमजोर भएर फुटेको छैन । वितरण प्रणाली जुन भए पनि पाइपका कारणले क्षति भएको देखिँदैन ।’

खोनपानीको पाइपमा सानो चोट लाग्दा तत्काल लिकेज हुँदैन, बिस्तारै खिया लाग्दै जान्छ र त्यही ठाउँ विक प्वाइन्ट (कमजोर बिन्दु) बन्छ, जब पानीको प्रेसर हुन्छ । त्यही बेला ब्लास्ट हुन्छ ।

राईले पाइपमा क्षति पुगेर असर भएको ठाउँ कमजोर हुने भएकाले पानी प्रेसरमा गएका बेला ब्लास्ट भइरहने खतरा भने धेरै ठाउँमा देखिएको बताए ।

‘कहाँ–कहाँ पाइपमा क्षति पुगेको हुन्छ थाहा हुँदैन, तर विक प्वाइन्टमा प्रेसरका बेला ब्लास्ट हुने खतरा चाहिँ देखिएको छ,’ उनले भने ।

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?